Logo

नारायणगढ-बुटवल सडकले गति लियो

काठमाडौं– महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्ड विस्तारको कामले गति लिएको छ । निर्माण कम्पनीले रोकिएको काम शुरु गरेसँगै कामले गति लिएको आयोजनाले जनाएको छ ।

सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले गत डिसेम्बरबाट आयोजनाको काम अगाडि बढाएको थियो । सडक विभाग अन्तर्गतको एडीबी आयोजना निर्देशनालयका आयोजना निर्देशक चुडाराज ढकालले भने, ‘निर्माण कम्पनीले औपचारिक रुपमा काम शुरु गरेसँगै कामले गति लिएको छ । हाल समग्र भौतिक प्रगति ५८ प्रतिशत पुगेको छ ।’ नारायणगढ–दाउन्ने (६५ किलोमिटर) पहिलो खण्ड र दाउन्ने–बुटवल (४९ किलोमिटर) दोस्रो खण्डमा वर्गीकरण गरेर कुल १ सय १४ किलोमिटर सडक विस्तारको काम भइरहेको छ ।

पहिलो खण्डको ४५ किलोमिटर र दोश्रो खण्डको ४० किलोमिटर एकतर्फी गरी ८५ किलोमिटर कालोपत्रे पूरा भएको निर्देशक ढकालले बताए । उनले भने, ‘यसरी आयोजनाले गति लिए वैशाखसम्ममा दाउन्नेको १५ किलोमिटर छोडेर एकतर्फी (दुई लेन) कालोपत्रे सम्पन्न हुनेछ । आगामी असारभित्र ११४ किमी एकतर्फी कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ ।’

करिब १५ सय कामदार निर्माणस्थलमा खटाएर निर्माण कम्पनीले काम गरिरहेकाले आयोजनाले गति लिएको उनको भनाइ छ । दाउन्ने उकालो र ओरालोमा १५ किलोमिटर खण्डमा भने ढलान सहित विस्तारको काम अगाडि बढाउने अयोजनाले जनाएको छ । दाउन्ने खण्डमा कटिङ, कल्भर्ट र वाल निर्माणको काम भइरहेको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । एडिबीको ऋणबाट सञ्चालित आयोजना २०७९ साउनमा सकिनुपर्नेमा तीन पटक म्याद थप गर्दा पनि ६० प्रतिशत प्रगति भएको छैन । नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीय स्तरदेखि सामाजिक सञ्जालमा सरकारप्रति तीव्र आक्रोश छ । ‘निर्माण कम्पनीले जनशक्ति बढाएर सडक विस्तारको कामलाई तिव्रता दिएको छ,’ आयोजना निर्देशक ढकालले भने, ‘दुवैतर्फ गरेर १५ सय जनशक्ति परिचालन भएको अवस्था छ । अब भने गति बढेको छ ।’

विगतमा निर्माण कम्पनीको क्षमता र व्यवस्थापन राम्रो नभएका कारण आयोजनाले गति लिन नसकेको थियो । अब भने केन्द्रदेखि निर्माण क्षेत्रसम्म ताकेता बढाएसँगै गति लिने विश्वास आयोजनाको छ । आयोजनाको दोस्रो पटकका लागि २०८१ साउन ८ गतेसम्म म्याद थप भएको थियो । दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ । थपिएको समयमा पनि काम पूरा नहुने निश्चित छ ।

नेपालको १५ प्रतिशत र एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा १७ अर्ब रुपैयाँमा यो सडक स्तरोन्नति हुन लागेको हो । आयोजनाका अनुसार ११४ किमी सडकमध्ये ७० किमी ४ लेन र थप दुईतर्फ ६–६ मिटरको सर्भिस लेन, दाउन्नेमा १५ किमी ३ लेन, ६४ वटा पुल, ४६२ कल्भर्ट, १२९.१६ किमी नालालगायत संरचना निर्माण गर्नुपर्ने छ । हालसम्म ४२ वटा पुल र ३ सय ८० वटा कल्भर्ट निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्