Logo

पर्यटन महोत्सव गिजोलियो

धनगढी– उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र निजी क्षेत्रको साझेदारीमा पर्यटन महोत्सव आयोजना गर्ने तयारी भइसकेपछि गिजोलिएको छ । मन्त्रालय र निजी क्षेत्रको संयुक्त बैठकबाट पर्यटन महोत्सव आयोजना गर्न कैलाली होटल व्यवसायी संघका अध्यक्ष केशवदत्त पाण्डेयको संयोजकत्वमा मुल समारोह समिति गठन भई सबै तयारी भइसकेको बेला मन्त्रालयले योजना परिवर्तन गरेपछि विवाद सुरु भएको हो ।

आगामी चैत ४ देखि ६ गतेसम्म धनगढीमा महोत्सव आयोजना गर्न तयारी अन्तिम चरणमा पुगेको बेला प्रदेश सरकारले कार्यक्रम परिवर्तन गरेर निजी क्षेत्रलाई महोत्सवबाट बाहिर राख्न खोजेको पर्यटन व्यवसायीले आरोप लगाएका छन् । अध्यक्ष पाण्डेयले महोत्सवमा आयोजना गर्न आफूहरुले नेपाल पर्यटन बोर्ड र स्थानीय तहबाट समेत थप आर्थिक स्रोत जुटाइसकेको बेला मन्त्रालयले महोत्सव नगर्ने निर्णय गरेको बताए ।

महोत्सवको तयारी स्वरुप भारतको सीमावर्ती प्रदेशका ट्राभल तथा होटेल व्यवसायी औपचारिक निमन्त्रणसमेत पठाइसकिएको पाण्डेयले जानकारी दिए । सुदूरपश्चिम ट्राभल मार्ट २०२५ लाईसमेत महोत्सवकै कार्यक्रम अन्र्तगत सञ्चालन गर्ने तयारी पनि भएको थियो ।

‘तयारी धेरै अगाडि बढीसकेपछि प्रदेश सरकारले निजी क्षेत्रलाई आयोजक समारोह समितिबाट बाहिर राख्न खोजेको छ,’ अध्यक्ष पाण्डेयले भने, ‘हामीले पर्यटन महोत्सव सञ्चालन गर्न नेपाल पर्यटन बोर्डसँग समेत ३० लाख रुपैयाँको सम्झौता गरिसकेका थियौं । अहिले निजी क्षेत्रलाई बाहिर राखेर सरकारले आफैं साताव्यापी मेला राख्न खोजेछ ।’

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्रदेश सरकारले निजी क्षेत्रलाई उपेक्षा गर्न खोजेको बताए । ‘निजी क्षेत्रसँग मिलेर महोत्सव गर्ने र बजेट खर्च मन्त्रालयले गर्ने गरी तयारी भइरहेको थियो,’ उनले भने, ‘अहिले आएर निजी क्षेत्रलाई बाहिर राख्न खोजियो । सरकारले आफैं गर्ने मेलामा निजी क्षेत्रको सहभागिता रहँदैन ।’

प्रदेशसभाको अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिले मन्त्रालयलाई पत्र पठाएर मुख्यमन्त्रीको संयोजकत्वमा पर्यटन सप्ताह आयोजना गर्न निर्देशन दिएपछि मन्त्रालयले सप्ताह आयोजना गर्ने तयारी गरिरहेको छ । मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा माघ ४ गते बसेको मन्त्रालय र निजी क्षेत्रको संयुक्त बैठकले महोत्सव आयोजना गर्न अध्यक्ष पाण्डेयको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरेको थियो ।

तर माघ २७ गतेको अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिले महोत्सवको मोडालिटीमा आपत्ति जनाउँदै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र सचिवलाई पत्र पठाएको थियो । पर्यटन महोत्सवको सट्टा पर्यटन सप्ताहको रुपमा मनाउने भन्दै मन्त्रालयलाई समितिले निर्देशन दिएको थियो । त्यसपछि मन्त्रालयले महोत्सवमा आयोजनाको तयारी रद्द गर्दै सप्ताह गर्ने तयारी थालेको छ । प्रदेश सरकारसँग रुष्ट भएको निजी क्षेत्रले सरकारको पर्यटन हप्ताहको तयारीप्रति आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्