Logo

बाँदर नियन्त्रणको आधुनिक प्रविधि सिक्दै मेलुङका किसान

दोलखा– बाँदरले पछिल्लो वर्षहरु दु:ख दिन थालेपछि मेलुङका किसान धपाउने आधुनिक प्रविधि सिक्न थालेका छन् । परम्परागत उपाय असफल भएपछि किसानहरु विकल्पकको खोजीमा लागेका हुन् । लगाएको बाली बाँदरले खान र नष्ट गर्न थालेपछि मेलुङ गाउँपालिका–७ का किसान बाँदर नियन्त्रणका उपाय अपनाउन सक्रिय भएका छन् । खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ लगायतका अन्नबाली तथा फलफूल बाँदरले सखाप पार्न थालेपछि किसानहरूले प्रविधि सिकेर समाधान खोज्न थालेका हुन् ।

उब्जनी जोगाउन मुस्किल परेपछि मेलुङ गाउँपालिका–७ का किसानहरू अहिले बाँदर नियन्त्रणसम्बन्धी तालिम लिइरहेका छन् । बाँदर आतंकबाट हैरान किसानको माग अनुसार वडा कार्यालयले पाँच दिने तालिम सञ्चालन गरेको मेलुङ गाउँपालिका–७ का वडाअध्यक्ष नवराज खड्काले जानकारी दिए । उक्त तालिममा बाँदर नियन्त्रणका १० प्रकारका प्रविधिहरू सिकाएको छ ।

स्थानीय किसान कर्ण खड्काका अनुसार अब बाँदर खेतबारी मात्र होइन, घरभित्रै पसी धान, चामलका बोरा बोकेर लैजान थालेका छन् । ‘कुखुराको ओथारोमा राखेको अण्डा खान्छ, केटाकेटी र महिलालाई हेपेर झम्टिन्छ, टोकिन्छ । खेतबारी सखाप भइसके, अब त बाँदरसँग घरभित्रै पनि लड्नुपर्छ’ उनले दु:खेसो पोखे । एक वर्ष अघि उनकै अगुवाइमा बाँदरले खाएका मकैसहित सदरमुकाममा प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालयमा दु:ख पोखेका थिए ।

‘बाँदरको बिगबिगी बढेपछि खेती नै गर्न सक्ने अवस्था रहेन, धेरैले खेती छोडेर अन्य विकल्प खोज्न थालेका छौं’ मेलुङकै राम योगीले भने ‘खेतबारी बाँझै छन्, घरभित्र राखेको चामल, धानको बोरा नै बोकेर लान थाले, अब के गरेर बाँच्ने ?’ अहिले विल्पमा हामीले तालिम लिएका छौं हेरौं अब के हुन्छ ? उनले भने । बाँदर नियन्त्रणका लागि वडाले विभिन्न उपायहरू अवलम्बन गर्दै आएको छ । गत वर्ष वडा कार्यालयले किसानलाई पड्किने बन्दुक वितरण गरेको थियो ।

तर, केही समय मात्रै बाँदर तर्सिए पनि पछि त्यसको प्रभाव कम भएको स्थानीय बताउँछन् । बाँदर धपाउने क्रममा अहिलेसम्म भीरबाट लडेर दुई जनाको मृत्यु भइसकेको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न गाउँपालिकाले प्रविधि आविष्कारक विजय राणाको नेतृत्वमा बाँदर नियन्त्रणसम्बन्धी तालिम आयोजना गरेको मेलुङ गाउँपालिका अध्यक्ष हीराकुमार तामाङले जानकारी दिए ।

तालिममा बाँदर धपाउन प्रयोग गर्न सकिने पासो, लेजर लाइट, ड्रोनलगायतका १० प्रविधि सिकाएको छ । यी प्रविधिहरू बाँदर मात्र होइन, दुम्सी, मृग, बँदेलजस्ता जंगली जनावर नियन्त्रण गर्न पनि उपयोगी हुने बताइएको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आवश्यक आर्थिक र भौतिक सहयोग गर्न तयार रहेको अध्यक्ष तामाङले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्