संघ र प्रदेशको अनुदान कटौतीले स्थानीय तह प्रभावित

भैरहवा– केन्द्रीय सरकारले घोषणा गरेका अनुदानका रकमहरू कटौती गरेपछि त्यसको असर स्थानीय तहमा देखिन थालेको छ । केन्द्र र प्रदेशले प्रदान गर्ने अनुदानका रकमका आधारमा स्थानीय तहले बजेट निर्माण गर्ने गरेकोमा घोषित रकम नआउँदा स्थानीय तहका योजनाहरू प्रभावित भएका हुन् ।
अनुदान कटौतीको मारमा रुपन्देहीको ओमसतिया गाउँपालिकाका विकासे योजनाहरू पनि परेका छन् । ओमसतिया गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारबाट आउनु पर्ने घोषित अनुदानलगायतका रकम नआउँदा विकासका योजनालगायतका कार्यक्रमहरू संशोधन गरिएको छ । गाउँपालिकाको हिउँदे अधिवेशनले आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम तथा योजनाहरू सर्वसम्मत परिमार्जन गरेको गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादवले बताए ।
घोषित अनुदानका रकमहरू आउनुपर्ने जति नआएको कारण योजनाहरू परिमार्जन गर्नुको विकल्प नरहेको अध्यक्ष यादवले बताए । अधिवेशनमा आर्थिक चालु आर्थिक वर्षको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै पालिकाकी उपाध्यक्ष सुनिता चौधरीले आर्थिक वर्षको माघ मसान्तसम्मको संघीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदानतर्फ १२ करोड १५ लाख अनुमान गरेकोमा ६ करोड ७ लाख ५० हजार अर्थात् ५० प्रतिशत मात्र प्राप्त भएको बताइन् ।
विशेष अनुदानतर्फ १ करोड रुपैयाँ अनुमान गरेकोमा २४ लाख ३७ हजार रुपैयाँ र सशर्त आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि १७ करोड ४० लाख रुपैयाँ अनुमान गरेकोमा १० करोड ९४ लाख रुपैयाँ प्राप्त भएको चौधरीले बताइन् । यसैगरी प्रदेश सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ ८३ लाख ३५ हजार रुपैयाँ अनुमान गरेकोमा ४१ लाख ६७ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ ९० लाख अनुमान गरेकोमा २९ लाख ७० हजार रुपैयाँ प्राप्त भएको छ । समपुरक अनुदानतर्फ ७० लाख अनुमान गरेकोमा २३ लाख १० हजार रुपैयाँ मात्र प्राप्त भएको छ ।
स्रोत बाँडफाँडबाट प्राप्त राजस्व अन्तर्गत संघीय सरकारबाट ९ करोड ९ लाख अनुमान गरेकोमा ४ करोड २९ लाख रुपैयाँ, प्रदेश सरकारबाट ३५ लाख ४१ हजार अनुमान गरेकोमा २६ लाख ३६ हजार र मालपोत बाँडफाँटबाट १ करोड ५० लाख अनुमान गरेकोमा १ करोड १९ लाख ६५ हजार मात्र प्राप्त भएको उनले बताइन् । अनुमान गरेको अनुदानका रकम तथा अन्य शीर्षकमा पनि रकमहरू नआउँदा योजनाहरू प्रभावित भएकोले अधिवेशनबाट सर्वसम्मत रूपमा योजनाहरू परिमार्जन गरेका चौधरीले बताइन् ।
गाउँपालिकाले चालु खर्च शीर्षकमा ३२ करोड ४२ लाख रुपैयाँ विनियोजन भएकोमा २०८१ माघ मसान्तसम्म १४ करोड १ लाख ९५ हजार रुपैयाँ अर्थात् ४३.२३ प्रतिशत खर्च गरेको छ । यसैगरी पुँजीगत खर्च १७ करोड ३३ हजार विनियोजन भएकोमा ४ करोड ६४ लाख रुपैयाँअर्थात् २७.३४ प्रतिशत खर्च भएको छ । माघ मसान्तसम्म पालिकाका कुल खर्च १८ करोड ६६ लाख रुपैयाँअर्थात् ३७.७६ प्रतिशत भएको छ ।