जुम्लामा पुन: पानी उद्योग सञ्चालन

जुम्ला– कर्णाली प्रदेशको जुम्लामा पानी उद्योग पुन: सञ्चालनमा आएको छ । पातारासी गाउँपालिका –६ उर्थुचौतारामा स्थापना भएको पानी उद्योग प्राविधिक कारणले केही वर्ष बन्द भएपछि पुन: सञ्चालनमा ल्याएको हो । २०७३ सालमा पहिलो पटक एक करोड बढी लगानीमा यार्सा मिनरल्स वाटर उद्योग स्थापना गरिएको थियो । पानी उद्योग सञ्चालनमा आएसँगै जुम्लामा आयातित पानी प्रतिस्थापन हुने भएको छ ।
प्राविधिक कारणले बन्द पानी उद्योग पुन: सञ्चालनमा आएको उद्योग सञ्चालक गणेश रोकायाले बताए । जुम्लामा कृषि पर्यटनसँगै पानीमा पनि आत्मनिर्भर बन्ने सक्ने प्रचुर सम्भावना रहेको छ । उनले भने,‘पानीको जार गत मंसिरदेखि बजारमा आइसकेको छ । बोतलमा पानी भने फागुन दोस्रो सातादेखि आउने छ । हिमाली जडीबुटी मिसिएको मुलको पानी उपकरणमार्फत शुद्धीकरण गरी जार र बोतलमा बिक्री भइरहेको छ ।’
पछिल्लो चरणमा २० लाख रुपैयाँ खर्च गरी उद्योग पुन:सञ्चालनमा ल्याएको सञ्चालक रोकायाले बताए । अहिले तीन जना कर्मचारीलाई उद्योगमा रोजगार दिइएको छ । दुई जना कर्मचारी थप गर्नुपर्ने स्थिति देखिएको उनले जानकारी दिए । यस्तो पानी काटुर्नको १९० रुपैयाँमा बिक्री गरिरहेको र उपभोक्तासम्म पुग्दा प्रति जार ७० रुपैयाँसम्म बिक्री भइरहेको रोकायले बताए ।
उनले भने,‘बाहिरबाट आउने जार बोतलको पानी बोरिङबाट निकाल्छन् । यहाँ शुद्ध मुलको पानी प्रोसेसिङ गर्छौं । जसले गर्दा बाहिरबाट आएको पानीभन्दा यहाँको पानी निकै सफा र शुद्ध हुन्छ । यसको बजारीकरणमा सबैले जोड दिन आवश्यक छ ।’ यो पानीको बजारीकरण गर्दै आएको तोरनसिंह कठायतले बाहिरको पानीभन्दा यहाँ उत्पादन भएको पानी सस्तो मूल्यमा बिक्री गरेको बताए । डिलरलाई १९० रुपैयाँ र अरु व्यापारीलाई दुई सय रुपैयाँमा बिक्री गर्ने योजना रहेको उनले सुनाए ।
बाहिरबाट आएको पानी फुटकरमा प्रति बोतल ३० रुपैयाँ, काटुर्नमा २३० देखि २५० रुपैयाँसम्म बिक्री भई रहेको छ । पहिला बिजुली नहुँदा जेनेरेटरबाट उद्योग चलाउँदा बाहिरको भन्दा महँगो पर्ने गएको थियो । तर, अहिले यहाँ करिब एक मेगावाटको विजुली उत्पादन भएपछि पानी उद्योग सञ्चालनमा सहज भएको छ । अब बाहिरको पानीले यस क्षेत्रमा बजार नपाउने कठायतको भनाइ छ ।