Logo

भ्यु पोईन्ट र पिकनिक स्पट निर्माणपछि पर्यटक आगमन बढ्यो

लमजुङ– भ्यु पोईन्ट र पिकनिक स्पट निर्माणपछि पर्यटक आगमन बढ्न थालेको छ । पर्यटक बढेपछि पश्चिम लमजुङको पसगाउँका स्थानीयले आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका लागि पर्यटकीय संरचना निर्माण गर्न थालेका हुन् । पर्यटकीय पसगाउँमा आएका पर्यटकहरूलाई उत्कृष्ट दृष्यावलोकनका लागि क्होम्रे डाँडामा टावर विनाको भ्यु पोईन्ट र पिकनिक स्पटका लागि संरचना निर्माण गरिएको छ ।

स्थानीयले क्होलासोँथार गाउँपालिका र देश विदेशमा रहेका शुभेच्छुकहरूको सहयोगमा बनभोज तथा दृष्यावलोकनका लागि आवश्यक संरचना निर्माण गरेका हुन् । गुरुङ समुदायको ऐतिहासिक क्होम्रे डाँडामा गाउँपालिकाको सहयोगमा खानेपानी ट्याकी, शौचालय, भान्छा घरलगायतका संरचना निर्माण गरेका हुन् भने सोही ठाउँमा भुपु सैनिक समिति पसगाउँको पहलमा कार्यक्रमका लागि मञ्च, पाटीलगायतका अन्य संरचना निर्माण गरिएको छ ।

पसगाउँको क्होम्रेडाँडा गाउँपालिकामा पर्याप्त सम्भावना भएका पर्यटकीयस्थल रहेकोले सो ठाउँको प्रवर्द्धनका लागि गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको क्होलासोँथार गाउँपालिका अध्यक्ष सुर्य गुरुङले बताए । विशेषगरी पसगाउँ आएका पर्यटकहरूलाई प्राकृतिक दृष्यावलोकन सँगै बनभोज तथा अन्य मनोरञ्जनका लागि उपयुक्त ठाउँ भएकोले उक्त ठाउँलाई प्रवर्द्धन गर्दा भोलिका दिनहरूमा पर्यटकहरूको सख्या अझै बढ्न सक्ने अध्यक्ष गुरुङले भनाइ छ ।

‘गुरुङ संस्कृति र होमस्टेको अनुभवका लागि पसगाउँमा पर्यटकहरूको आगमन बढ्दो छ’ अध्यक्ष गुरुङले भने,‘अहिले पिकनिक स्पटसँगै भ्यु पोईन्ट निर्माण गरेपछि पर्यटक आगमन झन बढ्ने आशा गरेका छौँ ।’ पर्यटकीय संरचना बनाउने क्रममा स्थानीयले क्होम्रे डाँडामा रहेको टापुलाई समाएर चारैतिर दृष्यावलोकन गर्न सकिने बनाएका छन् ।

सो बाहेक अन्य संरचनासँगै त्यहाँसम्म पुग्ने कच्ची सडक, खेल खेल्न मिल्नेगरी मैदान र सवारी साधनका निम्ती पार्किङस्थल समेत निर्माणाधीन रहेको छ । ‘देशका धेरै स्थानमा लाखौँ रुपैयाँ खर्च गरेर भ्यु टावरहरू बनेका छन् । तर, हामीले भ्युटावर नभई व्यवस्थित भ्यू पोईन्ट निर्माण गर्दैछौँ’ अध्यक्ष गुरुङले भने, ‘यहाँबाट लमजुङ, तनहुँ, कास्कीको सेरोफेरोसँगै अन्नपुर्ण, मनाष्लु हिम श्रृखला सजिलै अवलोकन गर्न सकिन्छ ।’

ऐतिहासिक स्थलमा निर्माण भएका पर्यटकीय संरचनाले सिँगो पसगाउँमा पर्यटक आकर्षण गर्न थप मद्दत पुग्ने पसगाउँका स्थानीय एवं क्व्होलासोँथार गाउँपालिका–६ का वडा अध्यक्ष मनलाल गुरुङले बताए । ‘पर्यटक आकर्षणका लागि पिकनिक स्पोट र भ्यु पोईन्टले पनि अर्थ राख्ने रहेछ’ अध्यक्ष गुरुङले भने,‘हामीले सामान्य संरचना निर्माण गर्दा देखिनै पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ ।’ सशस्त्र द्धन्दबाट प्रभावित पसगाउँमा २०६० सालबाट महोत्सव गरेर पर्यटन प्रवर्द्धनका गतिविधि सुरु भएको थियो ।

जिल्लाकै निकै विकटमा रहेको पसगाउँमा १० वर्षे द्धन्दको बेला माओबादीले सेल्टरको रूपमा प्रयोग गरेपछि भिडन्तको अवस्था समेत सिर्जना भएको थियो । द्धन्द सकिएपछि पसगाउँमा पर्यटकीय गतिविधि बढ्न थालेको हो । पछिल्लो समय दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको पसगाउँ सामुहिक होमस्टेले जनाएको छ । गुरुङहरूको बाहुल्यता रहेको पसगाउँमा हाल २१ घरमा व्यावसायिक होमस्टे सञ्चालन भएको छ । पसगाउँमा सात घरबाट होमस्टे सुरु गरिएको थियो ।

गुरुङ सस्कृति, स्थानीयको न्यानो आतिथ्यता, लोकल खानपान र प्राकृतिक दृष्यावलोकन पसगाउँको पर्यटकीय विशेषता हुन् । सो बाहेक गाउँ नजिकै रहेको रहेको चियाबगानमा पनि आन्तरिक तथा बाह्य पर्यटकहरू रमाउने गरेको स्थानीय पर्यटन व्यवसायीहरू बताउँछन् । पसगाउँसम्म पुग्ने सडक अझै व्यवस्थित नहुँदा अपेक्षित लाभ लिन नपाएको भन्दै सरकारले जतिसक्दो छिटो सडक स्तरोन्नतिमा प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्