जीर्ण झोलुंगे पुल मर्मतमा ध्यान नदिएको स्थानीयको गुनासो

धनकुटा– धनकुटाको सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकालाई जोड्ने त्रिवेणी तमोर नदीमा लगाइएको झोलुंगे पुल जीर्ण बनेको छ । २०२६ सालमा निर्माण गरिएको पुल हाल जीर्ण बन्दै गए पनि स्थानीय भने पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् । पुलबाट यात्रा गर्दा जोखिम कम गर्न दायाँबायाँ घेरिएको तार खिया लागेर धेरै ठाउँमा नष्ट भएको छ । तार नष्ट भएको स्थानमा बाँसको प्रयोग गरिएको छ । बाँससमेत मक्किएका छन् ।
तार अड्याउन प्रयोग गरिएको लठ्ठामा समेत खिया लागेको छ । पुलको हिँड्ने स्थानमा धेरै ठाउँमा काठ प्रयोग गरिएको छ भने काठसमेत मक्काएको छ । पिलरबाट पुल अड्याउन प्रयोग गरिएको लठ्ठामा समेत खिया लाग्न थालेको छ । भोजपुर, खोटाङ, संखुवासभाका बासिन्दालाई तराईसम्म पुग्न ५५ वर्षअघि २०२६ सालमा निर्माण गरिएको यो पुल जीर्ण बनेको हो । २०२४ सालमा निर्माण गरिएको पुल तमोर नदीमा आएको बाढीले २०२५ सालमा बगाएपछि यो पुल निर्माण गरिएको स्थानीय बताउँछन् ।
गाउँगाउँमा सडक नपुग्दासम्म यो पुल निकै चहलपहल थियो । तर पछिल्लो समय पुलमा यात्रुको चहलपहल घटेको छ । चहलपहल घटेसंँगै पुल संरक्षणमा चासो नदिइँदा जीर्ण बन्दै गएको धनकुटा साँगुरीगढी गाउँपालिका–१० का स्थानीय इन्द्रभक्त राईले गुनासो गरे । राईका अनुसार अहिले पनि सो पुलमार्फत दैनिक ४०/५० जना ओहोरदोहोर गर्ने गरेका छन् । त्यस्तै धनकुटाको तमोरपारि तथा भोजपुर खोटाङबाट गाईगोरु बिक्रीका लागि सोही पुल पार गराई तराई पुर्याउने गरिएको छ ।
साँगुरीगढी गाउँपालिका–१० तल्लो क्षेत्रका विद्यार्थी माध्यमिक शिक्षा लिन सोही झोलुंगे पुल पार गरी सहिदभूमि गाउँपालिका जानुपर्ने बाध्यता छ । अन्य विकल्प नहुँदा जोखिमपूर्ण पुलबाट आफूहरू आवतजावत गर्न बाध्य भएको विद्यार्थी सीता राईको भनाइ छ । उनले भनिन्, ‘दैनिक ओहोरदोहोर गर्दा डर त लाग्छ तर दैनिक स्कुल जानैपर्छ अरु विकल्प छैन ।’
सामान्यतया: पुल निर्माण भएको ५० वर्षसम्म पुललाई राम्रो मान्ने गरिन्छ । तर पुल मर्मत तथा संरक्षण गरिरहेको अवस्थामा पुलको आयु थपिने पर्डेप नेपाल धनकुटाका इन्जिनियर धनबहादुर मिजारले बताए । उक्त पुल भत्किहाल्ने अवस्था नभए पनि अन्य कारणले जोखिमपूर्ण अवस्थामा रहेको उनको भनाइ छ । त्यसो त जोखिमपूर्ण अवस्थामा रहेको पुल मर्मतका लागि माग गरिए पनि आफ्नो मागको सुनुवाइ नभएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए ।
उनले भने, ‘झोलुंगे पुल हेर्ने विभागमा समेत पुल जीर्ण भएको अवस्थाका बारेमा पटकपटक जानकारी गराएका छौं तर अहिलेसम्म सुनुवाइ भएको छैन ।’ यो पटक तमोरमा आएको बाढीले समेत पुलको एक छेउतर्फ कटान गरी थप क्षति पुर्याएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । पुलको जोखिमको बारेमा पटकपटक कुरा उठाएको भए पनि पुल मर्मतका लागि कुनै काम नभएको अध्यक्ष राइको भनाइ छ । ‘पुल जोखिमपूर्ण अवस्थामा छ, हामीले पटकपटक जिल्ला विपद् व्यवस्थापन समितिमा यो पुलका बारेमा कुरा राखेका छौं तर अहिलेसम्म काम भएको छैन,’ राईले भने ।