निर्यात व्यापारमा भारतसँगको निर्भरता उच्च

काठमाडौं– नेपालको वैदेशिक व्यापारमा दक्षिणी छिमेकी मुलुक भारतसँगको निर्भरता झनै बढेको छ । निर्यात व्यापारमा वस्तुसँगै गन्तव्य विविधीकरण गर्ने सरकारको नीति रहे पनि भारतसँगको निर्भरता बढ्दै गइरहेको हो ।
चालु आर्थिक वर्षको सात महिनामा भारततर्फ नेपालले झन्डै एक खर्ब रुपैयाँको निकासी गरेको छ । यो अवधिमा कुल एक खर्ब २७ अर्ब रुपैयाँको निकासी हुँदा भारतमा ९८ अर्ब १ करोड पुगेको हो । यो कुल निकासीमा ७७ प्रतिशतभन्दा धेरै हो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात सात महिनामा झण्डै १४ प्रतिशतले बढेको छ । कुल निकासीमा अघिल्लो आर्थिक वर्षको माघसम्ममा भारततर्फको हिस्सा ६७.६३ प्रतिशत थियो । यो वर्ष माघमा बढेर ७७.०५ प्रतिशत पुगेको छ । यो ९.४२ प्रतिशत विन्दु अर्थात् १३.९२ प्रतिशतको वृद्धि हो ।
निर्यातमा भारतको हिस्सा बढे पनि आयातमा भने केही घटेको छ । कुल आयातमा भारतको हिस्सा गत आवको सात महिनामा ६१.७८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा ६०.३२ प्रतिशतमात्रै रहेको छ ।
नेपालबाट भारततर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको तेल, फलाम तथा फलामका उत्पादन, पाम आयल, यार्न, प्लाइउड, चिया, पिना, कपडा, जुटका सामान, अलैंची, जुसलगायत रहेका छन् । यो अवधिमा भटमासको तेलको निर्यातमा भारी वृद्धि भई ३२ अर्ब ४१ करोड पुगेको छ । फलाम तथा तिनका उत्पादनको निर्यातमा १४.७ प्रतिशतले ह्रास आई ८ अर्ब ६३ करोडमा झरेको छ । यस्तै, प्लाइउडको निर्यातमा २०.१ प्रतिशतले वृद्धि भई ५ अर्ब ५ करोड पुगेको छ । भारतमा निकासी हुने जुट तथा जुटका उत्पादनको निर्यातमा ६.५ प्रतिशतले ह्रास आई ४ अर्ब १८ करोडमा सीमित भएको छ ।
माघसम्म जुसको निकासीमा ९.६ प्रतिशतले ह्रास आई ३ अर्ब ९६ करोडमा झरेको छ भने सूर्यमुखी तेलको निर्यातमा भारी वृद्धि भई ६ अर्ब ५७ करोड पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यात हालसम्म भारतमै सीमित छ । अलैंची निकासी यो अवधिमा २१.५ प्रतिशतले बढेर ५ अर्ब ३९ करोड पुगेको छ । अर्को उत्पादन चियाको निर्यातमा पनि यो अवधिमा ४६.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ४० करोड पुगेको छ । नेपाली अदुवाको भारतमा ठूलो बजार रहे पनि यसको मूल्य अभिवृद्धि हुन नसक्दा निर्यातमा ६०.३ ले ह्रास आई ४० करोडमा सीमित भएको छ । आयल केक भनिने पीनाको निर्यात भने २१ प्रतिशतले बढेर २ अर्ब ५ करोड पुगेको केन्द्रको तथ्यांक छ ।
नेपालले आर्थिक वर्ष २०८०–८१ मा भारततर्फ कुल १ खर्ब ३ अर्ब १८ करोड रुपैयाँको वस्तु निकासी गरेको थियो । चालु आवको व्यापार प्रवृत्ति हेर्दा आठौं महिनामै यसभन्दा बढी निकासी हुने देखिएकाले भारतसँगको निर्भरता झनै बढ्ने देखिन्छ । व्यापार विज्ञहरु भने एउटै मुलुकसँगको निर्भरताले वैदेशिक व्यापार जोखिमपूर्ण हुने भएकाले निकासीका गन्तव्य मुलुक बढाउँदै लैजानुपर्ने बताउँछन् । सन् १९९६ को नेपाल–भारत पारवहन र वाणिज्य सन्धियता नेपाली बजारमा भारतीय वस्तुको प्रभुत्व बढेको छ । यसपछि नेपाली वस्तुले पनि भारतीय बजार पाउन थालेको व्यापार विज्ञ रवि सैंजु बताउँछन् । उनका अनुसार भारतको नीतिका कारण नेपाली वस्तुको बजार दिगो देखिँदैन । वाणिज्य सन्धिले नेपाल–भारतबीच पारस्परिक व्यापार सहुलियतको व्यवस्था गरे पनि नेपालले त्यसको फाइदा लिन नसकेको निजी क्षेत्रको भनाइ छ ।
सन् १९९० को अवधिसम्म नेपालको वैदेशिक व्यापारमा भारतको अंश ४० प्रतिशतभन्दा तल झरिसकेको थियो । तर, त्यसयता भारतसँगको निर्भरता बढ्दै गएको छ । सन् १९९६ को नेपाल–भारत वाणिज्य सन्धिपछि नेपालमा भारतीय लगानीका बहुराष्ट्रिय कम्पनी फस्टाए पनि नेपाली उद्योगहरूले फाइदा लिन नसकेको उद्योगीहरूको भनाइ छ ।