Logo

नागढुंगा सुरुङमार्ग ८६ प्रतिशत बन्यो

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ । आयोजनाले दिएको जानकारीअनुसार फेब्रुअरी अन्तिमसम्म ८६.३६ प्रतिशत काम सकिएको हो ।

आयोजनाको वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेकोे छ । हाल सुरुङ ब्रेकथ्रु भई फिनिसिङको काम भइरहेको छ । आयोजना अहिलेसम्म निर्माण पूरा भएर सञ्चालनमा आइसक्नुपर्ने थियो । आयोजनाको तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास र तीनवटा पुल निर्माणको काम सकिएको छ । एउटा फ्लाइओभर निर्माणाधीन अवस्थामा छ । बाटो ढलान गर्नेलगायत पेभमेन्टका काम ६७ प्रतिशत सम्पन्न भएको छ ।

अहिले मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम भइरहेको छ । आयोजनाले निर्माण गर्नुपर्ने ३ अन्डरपास, ४ बक्स कल्भर्ट, १ ओभरपास, ३ पुल निर्माण पूरा भएको छ भने फ्लाइओभरको ९५ प्रतिशत काम पूरा भएको छ ।

मुख्य सुरुङको ब्रेकथ्रु १५ अप्रिल २०२४ मा भएको थियो । उद्धार टनेलको ब्रेकथ्रु भने ७ अगष्ट २०२३ मा गरिएको थियो । काठमाडौंको बलम्बुबाट सडक निर्माण भएर नेपाल आयल निगमको डिपोभन्दा उत्तरमा रहेको टुटे पाखाबाट सुरुङ सुरु हुन्छ । सुरुङसँगै यस क्षेत्रमा ४ सय मिटर लम्बाइको पहिलो फ्लाइओभर समेत बलम्बुमा निर्माण हुँदैछ ।

काठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २ हजार ८ सय ८८ मिटर लामो छ । २०१९ अक्टोबर २१ मा आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । आयोजना शिलान्यास भएको १४ महिनापछि २०२० डिसेम्बर २२ देखि निर्माण थालिएको थियो । सुरुको लक्ष्यअनुसार काम भएको भए २०२३ अप्रिल २६ मा आयोजना पूरा हुनुपर्ने थियो । आयोजनामा लक्ष्यअनुसार काम नभएपछि सन् २०२४ को अप्रिल २५ सम्म म्याद थप गरिएको थियो र पछिल्लो समय थप भएको म्याद २०२५ अक्टोबरसम्म पुर्‍याइएको छ ।

आयोजना जापानको हाज्मा आन्दो कर्पोरेसनले बनाउन सुरु गरेको हो । नेपाल र जापानको करिब २२ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यो सुरुङमार्गले थानकोटदेखि धादिङको सिस्ने खोलासम्म जोड्नेछ । सम्झौताअनुसार नेपाललाई जापान सरकारले १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) उपलब्ध गराउने छ । नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी हुनेछ ।

पूर्व–पश्चिम एप्रोच रोडसमेत निर्माण हुनेछ । पूर्वतिर २३ सय ७ मिटर र पश्चिमतर्फ ५ सय ६५ मिटर लामो सडक निर्माण हुनेछ । आयोजना अन्तर्गत ७ साना पुल र ११ बक्स कल्भर्ट बन्नेछन् । यसैगरी मर्मतसम्भार र ट्राफिक मनिटरिङ बिल्डिङ निर्माण हुनेछ । यो सुरुङमार्ग बनेपछि करिब ४० मिनेट बचत हुनेछ भने ८ किलोमिटर राजमार्गको लम्बाइ कम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्