Logo

उद्योगीले मिलेमतोमा सिमेन्टपछि बढाए डण्डीको भाउ

विराटनगर– बजारमा अनियन्त्रित रुपमा मूल्यवृद्धि हुँदा आम उपभोक्ता मारमा परेका छन् । अझ घर बनाउने योजना बनाएर बसेका र निर्माण गरिरहेका आम सर्वसाधारण निर्माण सामग्रीको मूल्यवृद्धिले थप मारमा परेका हुन् ।

पछिल्लो दुई महिनामा विराटनगरमा सिमेन्टको मूल्य प्रतिबोरा ३० रुपैयाँले वृद्धि भएको छ । हाल ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ८ सय रुपैयाँ रहेको छ । एक महिनाअघि ७७० रुपैयाँ थियो । त्यस्तै, पीपीसी सिमेन्टको मूल्य हाल प्रतिबोरा ७२० रुपैयाँ रहेको हार्डवेयर व्यवसायी प्रदीप झाले बताए ।

मूल्य बढाउन बिक्री रोकेका स्टिल उद्योगीहरुले मूल्यवृद्धि भएपछि बिक्री खुला गरेका छन् । फागुन २० गतेदेखि टिएमटीको अर्डर र बिक्री रोकेका स्टिल उद्योगले आइतबारदेखि किलोमा चार रुपैयाँ मूल्यवृद्धि गरेर बिक्री खोलेका हुन् । उद्योगी हरेक हप्ता टिएमटीको मूल्यवृद्धि गर्दै जाने सहमतिमा आएसँगै मूल्यवृद्धिका साथ बिक्री खुलेको छ । यसअनुसार भ्याटबाहेक किलोको ७८ देखि ८० रुपैयाँमा हार्डवेयर पसललाई टिएमटी दिइरहेका उद्योगले आइतबारदेखि ८२ देखि ८४ रुपैयाँ बनाएका छन् । उद्योगले अर्डर पनि लिन थालेका छन् ।

पूर्वमा सबैभन्दा सस्तो डन्डी बिक्री गर्ने पशुपति आइरनले हार्डवेयर पसललाई किलोको ७८ रुपैयाँमा टिएमटी बिक्री गर्दै थियो । पशुपतिले आइतबारदेखि यो मूल्यलाई ८२ रुपैयाँ बनाएको छ । त्यस्तै, सबैभन्दा महँगो टिएमटी बिक्री गर्ने प्रिमियर स्टिलले ८० बाट ८४ रुपैयाँ बनाएको छ । किलोको ७९ रुपैयाँमा बिक्री गर्दै आएका हुलास वायर र स्वस्तिक रोलिङले ८३ रुपैयाँमा बिक्री गर्न थालेका छन् ।

स्टिलमा एकैपटक किलोमा चार रुपैयाँ बढ्नुलाई व्यवसायीले ठूलो मूल्यवृद्धि भनेका छन् । हार्डवेयर व्यवसायी झाले स्टिल उद्योगले किलोको चार रुपैयाँ बढाएर आइतबारदेखि अर्डर लिन थालेको बताए । ‘उद्योगले सामान पठाएको थिएन । आज बिहानमात्रै कर्मचारीलाई फोन गर्दा मूल्यवृद्धि भएर सामान आउँछ भनेका छन्,’ झाले भने, ‘सम्भवतः बाहिर आएको हल्लाजस्तै मूल्यवृद्धि भएको हुनुपर्छ ।’ उनले किलोमा चार रुपैयाँ बढ्नु ठूलो मूल्यवृद्धि भएको बताए ।

शंकर हार्डवेयरका सञ्चालक शंकर गुप्ताले पनि उद्योगहरूले आइतबारदेखि मूल्य बढाएर माल दिन थालेको बताए । गुप्ताले २५ पैसामा समेत बार्गेनिङ गर्ने उद्योगले एकैपल्ट किलोको चार रुपैयाँ बढाउनु भनेको ठूलो मूल्यवृद्धि भएको तर्क गरे । टिएमटीको यो मूल्यवृद्धिले निर्माण लागतमा ठूलो असर गर्ने उनको भनाइ छ ।

मूल्य, उत्पादन र आपूर्तिमा सहमति गर्न भनेर गत शुक्रबार काठमाडौंमा भेला भएका स्टिल उद्योगीले चाहेजति सबै निर्णय गर्न नसकेको बताइएको छ । बैठकमा सहभागी एक उद्योगीका अनुसार सबै उद्योगी बैठकमा आएनन् । यसमध्ये केही ठूला उद्योगपति थिए । त्यसैले तत्काल किलोको चार रुपैयाँ वृद्धि गर्ने र क्रमशः बढाउँदै जाने सहमति बनेको थियो । उद्योगी भने राजधानीमा बैठक भएको र मूल्यवृद्धि गरिएको तथ्य स्वीकार गर्दैनन् । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशीका उपाध्यक्ष एवम् स्वस्तिक रोलिङका सञ्चालक रमेश राठीले भने, ‘कहीँकतै बैठक भएको छैन । जहाँसम्म मूल्यवृद्धिको कुरा छ, फागुन १९ कै दरभाउमा कसैलाई टिएमटी लिनु छ भने मेरो उद्योगमा आउनु । जति पनि उपलब्ध छ तर उधारो पाइँदैन ।’

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले अस्वाभाविक रुपमा विद्युत कटौती, मजदुर ज्याला, बैंकको ब्याजदर, कच्चा पदार्थको मूल्यवृद्धि आदि कारण उत्पादित वस्तुको मूल्यवृद्धि हुनुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए । आर्थिक मन्दीका कारण उत्पादित वस्तुको बिक्रीमा समेत कमी आएको सुरानाको भनाइ थियो ।

गत माघ पहिलो साता सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य बढेको विषयमा विस्तृत अध्ययन गरी सात दिनभित्र कारण पेस गर्न सरकारलाई निर्देशन दिएको थियो । उद्योगीहरूले सिमेन्टमा गरेको मूल्यवृद्धि अस्वाभाविक रहेको ठहर गर्दै समितिले फिर्ता गराउन सरकारलाई भनेको थियो । ‘मूल्यवृद्धि तथ्यमा आधारित हुनुपर्छ । अहिले मूल्य बढाउनु प्रथम दृष्टिमा नै अस्वाभाविक देखिन्छ । त्यसैले मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न मन्त्रालयलाई निर्देशन दिने,’ लेखा समितिको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्