सुस्त भयो निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर

काठमाडौं– गत आवको तुलनामा चालु आर्थिक वर्षको सात महिना (माघ मसान्त) सम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित हुने कर्जा १.५ प्रतिशत विन्दुले मात्र बढेको छ ।
राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारेको प्रतिवेदनअनुसार यो माघसम्ममा निजी क्षेत्रमा जाने कर्जा ५.६ प्रतिशतले बढेको छ । यो गत आर्थिक वर्षको यही अवधिका तुलनामा १.५ प्रतिशत विन्दुले धेरै हो । गत वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा ४.१ प्रतिशतमात्र बढेको थियो ।
केन्द्रीय बैंकका अनुसार यो माघसम्म २ खर्ब ८३ अर्ब ४६ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ । गत वर्ष माघसम्ममा निजी क्षेत्रमा जाने कर्जा एक खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ थियो । यो वर्षका सात महिनामा ८६ अर्ब २५ करोड रुपैयाँ धेरै कर्जा प्रवाह भएको हो ।
वार्षिक विन्दुगत आधारमा भने माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।
२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत थियो ।
यस्तै, माघसम्ममा कुल आन्तरिक कर्जा १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । गत असारदेखि माघसम्ममा सरकारले ८५ अर्ब ९१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो ऋण ४.३ प्रतिशतले बढेको छ । सरकारले चालु आवको बजेट घाटा पूर्तिको लागि आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब रुपैयाँ व्यहोर्ने बजेटमा उल्लेख छ ।
सरकारलाई ३ खर्ब ३० अर्ब आवश्यक पर्नेमा हालसम्म ८५ अर्ब ९१ करोड आन्तरिक ऋण लिएको हो । यस्तै, चालु आवको सात महिनामा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.२ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो दाबी १०.१ प्रतिशतले घटेको छ ।
यो अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.१ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.० प्रतिशतले बढेको छ ।
चालु आवको सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ४५ अर्ब ३४ करोड (३.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ ।
२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत थियो । २०८१ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.५५ प्रतिशत, विकास बैंकहरुको ९.९० प्रतिशत र वित्त कम्पनीहरुको १०.८८ प्रतिशत रहेको छ । २०८० माघमा यो क्रमशः ११.०८ प्रतिशत, १२.८५ प्रतिशत र १३.९३ प्रतिशत थियो ।
२०८१ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.६२ प्रतिशत, विकास बैंकहरुको ५.४१ प्रतिशत र वित्त कम्पनीहरुको ६.४७ प्रतिशत छ । २०८० माघमा यो क्रमशः ७.०१ प्रतिशत, ८.२६ प्रतिशत र ९.४५ प्रतिशत थियो ।
२०८१ माघमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.४६ प्रतिशत, विकास बैंकहरुको ८.५२ प्रतिशत र वित्त कम्पनीहरुको ९.३९ प्रतिशत रहेको छ । २०८० माघमा यो क्रमशः ९.०६ प्रतिशत, ११.१३ प्रतिशत र १२.७० प्रतिशत थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
चालु आवको सात महिनासम्ममा चालु खाता १६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६२ अर्ब ५२ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडले बचतमा रहेको छ ।
यस अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको छ ।
चालु आवको सात महिनासम्ममा रेमिटेन्स ९ खर्ब रुपैयाँभन्दा माथि आएको छ । रेमिटेन्स आय अहिलेसम्म नेपाली रुपैयाँमा ७.३ प्रतिशतले बढेको छ भने अमेरिकी डलरमा यस्तो वृद्धि ५.३ प्रतिशत छ । केन्द्रीय बैंकका अनुसार यो सात महिनामा रेमिटेन्स ९ खर्ब ८५ करोड रुपैयाँ आएको हो । अमेरिकी डलरमा यो ६ अर्ब ६५ करोड हो । अघिल्लो वर्षको यही अवधिमा रेमिटेन्स १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
२०८१ माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ५.०१ प्रतिशत थियो । यो महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत थियो ।
यो सात महिनामा कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । यो अवधिमा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयातमा २.३ प्रतिशतले कमी आएको थियो ।