धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयन

म्याग्दी- धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ ।
गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना रहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ६५ योजनाको सम्झौता गरिएको जानकारी दिए । गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने वडाका उपभोक्ता समितिसँगै वडा कार्यालयमा पुगेर सम्झौता गरिएको उनले बताए ।
चालु आर्थिक वर्षमा पूर्वाधार योजनाका लागि करिब १५ करोड बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा १५ प्रतिशत खर्च भएको छ । कुल ४७ करोड २९ लाख ५८ हजार बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा २८ दशमलव ९१ प्रतिशत अर्थात १३ करोड ६७ लाख ५६ हजार ६७५ खर्च भएको छ ।
संघीय विशेष अनुदान करोड १० लाख बजेट भएको मच्छिम–शिवाङ–हिलापोखरी एक घर एक धारा खानेपानी, सङ्घीय समपूरक ७० लाख बजेटको लुलाङ–गुर्जा सडक, प्रदेश समपूरक एक करोडको मुदी वडा कार्यालय र संघीय विशेष अनुदान रु एक करोड बजेटको मुदी ढल निकास योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको छ ।
गत वर्ष तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको लुलाङ–गुर्जा सडकमार्फत नौ किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको, ताकममा पाँच शय्या क्षमताको अस्पताल र घट्टेखोलामा प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गका २२ योजना कार्यान्वयनको चरणमा छन् । जेठ महिनाभित्र योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सहजीकरण, समन्वय, परिचालन र अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताए ।