होटलको कोठामा ८ भारतीय पर्यटकको मृत्यु «

होटलको कोठामा ८ भारतीय पर्यटकको मृत्यु

हेटौंडा-मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिका–४ दामनमा रहेको एभरेष्ट पानोरोमा रिसोर्टको कोठामा निसास्सिएर ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । सोमबार राति रिसोर्टमा पुगेका १५ जनाको भारतीय टोलीमध्ये ग्यास हिटर बालेर एकै कोठामा सुतेका ८ जना अचेत अवस्थामा भेटिएकोमा उपचारको क्रममा सबैको मृत्यु भएको हो ।
सोमबार राति १० बजेको समयमा रिसोर्टमा पुगेका उनीहरुले रातको करिब १ बजे रिसेप्सनबाट हिटर लगेर बालेका थिए । हिटर बालेर झ्याल ढोका बन्द गरेर एकै कोठामा सुतेका ८ जना मंगलबार बिहान ७ बजे बेहोस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थामा भेटिएपछि तत्कालै हेलिकोप्टरबाट काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा पु¥याइएकोमा मंगलबार दिउँसो आठै जनाको मृत्यु भएको हो । “निकै जाडो भयो भन्दै मध्यरातमा रिसेप्सनमा आएर हिटर माग्नुभयो । उहाँहरुले धेरै ड्रिंक्स पनि गरेका कारणले हामीले हिटर दिन हामीले मानेनौं । जबरजस्ती नै गरेपछि हामीले ग्याँस हिटर दिएका थियौं । बिहान त बेहोस अवस्थामा भेटिएपछि प्रहरीलाई खबर ग¥यौं ।” एभरेष्ट पानोरमा रिसोर्टका व्यवस्थापक शिव केसीले भने ।
मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा दुईजना महिला, दुईजना पुरुष र चारजना नाबालक रहेका छन् । एउटै कोठामा सुतेका भारतका केरालाका ३८ वर्षीय प्रविणकृष्ण नारायण, ३५ वर्षीया शारणय शशी, ३४ वर्षीय रञ्जित कुमार एपी, इन्द्र लक्ष्मी, ९ वर्षीया श्री भद्र, सात वर्षीया आर्चा प्रविण, ५ वर्षीय अभिन शौरणय नायर र २ वर्षीय बैष्ण रञ्जित रहेको मकवानपुरका प्रहरी उपरीक्षक सुुशिलसिंह राठौरले जानकारी दिए । भारतको केरला राज्यबाट हवाईजहाजमार्फत काठमाडौं आएका १५ जनाको टोली पोखरा घुमघामपछि मकवानपुरको दामन, पालुङ तथा चित्लाङ क्षेत्रमा घुम्नको लागि बस रिजर्भ गरेर आएका थिए । बा ३ क ३७८८ नम्बरको बसमा हेटौंडा हु“दै राति अबेर रिसोर्टमा बासको लागि पुगेका थिए । उनीहरुले होटलमा खानासँगै मदिरासमेत सेवन गरेका थिए ।
उनीहरुले होटलमा तीन वटा कोठा बुकिङ गरे पनि दुईवटा कोठाको मात्र प्रयोग गरेका थिए । एउटामा ८ जना र एउटामा ७ जनाका दरले सुतेको रिसोर्टले जनाएको छ । हिटर नबाली सुतेका ७ जना भने सकुशल छन् । हिटर बालेर कोठा बन्द गरी सुत्दा अक्सिजनको अभाव हुन गई उनीहरुको मृत्यु भएको थाहानगर होटल एशोसिएसनका अध्यक्ष शिवकुमार खत्रीले अनुमान गरे । “दुई जना सुत्नुपर्ने कोठामा ८ जना सुतेका थिए । त्यसमा पनि झ्याल ढोका बन्द गरेर हिटर बालेपछि अक्सिजनको अभाव हुन्छ । असावधानीका कारण नै उहाँहरुको ज्यान गयो,” एशोसिएसनका अध्यक्ष खत्रीले भने । कोठामा अक्सिजनको अभाव भई निसास्सिएर नै उनीहरु बेहोस भएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले पनि बताएको छ । उपचारका लागि काठमाडौं पठाउ“दा सबै अचेत अवस्थामै थिए । अचेत अवस्थामा रहेका आठजनालाई कैलाश हेलिकप्टरबाट दुईपटक गरी अस्पताल पठाइएको थियो । एकपटकमा पा“चजना र अर्कोपटकमा तीनजनालाई हेलिकप्टरमा काठमाडौं पु¥याइएको थियो ।
उनीहरुसँगै बसमा आउनेमा जय कृष्ण जय, आश्वती प्रसण गोपीकुमार, गौरी लक्ष्मी आश्वती, रामकुमार युके, दीपिका पीसी, वेदराम कुमार र माधव रञ्जित रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए । घटनापछि सातैजना बसमा काठमाडौं फर्किए । घटना भएसँगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायत सुरक्षा निकायका प्रमुखहरु घटना स्थलमा पुगेका थिए ।
त्रिभुवन राजपथअन्तर्गत हेटौंडा र काठमाडौंको बीच भागमा पर्ने मकवानपुरका दामन पर्यटकीय क्षेत्र हो । हेटौंडाबाट ५५ किलोमिटर र काठमाडौंबाट ७५ किलोमिटरको दुरीमा दामन रहेको छ । उक्त क्षेत्र २४८८ मिटरको उचाइमा रहेको छ । बाह्रै महिना चिसो भइरहने तथा मनोरम प्राकृतिक दृश्वालोकनका लागि पर्यटकहरु दामन, सिमभन्ज्याङमा पुग्ने गरेका छन् । सिमभन्ज्याङमा जाडो महिनामा हिउँसमेत पर्ने भएकाले पर्यटकहरु हिउँ खेल्नको लागि पनि पुग्ने गर्दछन् ।

हिटर बालेर सुत्दा मृत्यु अवश्यम्भावी
जाडो महिनामा न्यानो बनाउनको लागि हिटर बालेर झ्यालढोकासमेत बन्द गरेर सुत्दा मानिस अचेत भई मृत्यु नै हुनेसम्मको खतरा हुने डाक्टरहरु बताउँछन् । हिटरको तातोको कारण उत्पन्न हुने कार्बन मोनोअक्साइड नामको विषाक्त ग्यासले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ ।
आगो बालेर बन्द गरिएको कोठामा शुद्ध हावाको प्रसार हुन पाउँदैन र कोठाभित्र अक्सिजन कम हुँदै जान्छ । डाक्टरहरुका अनुसार अक्सिजन कम हुने बित्तिकै कार्वनको एक परमाणुले अक्सिजनको दुई भाग परमाणु लिएर रासायनिक प्रतिक्रिया सुरु गर्छ र कार्बन मोनोअक्साइड ग्यास बनाउँछ । हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै गएमा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, ज्यान काम्न थाल्ने र बेहोस हुने साथै समयमै उपचार नपाए मानिसको मृत्युसमेत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्