Logo

आइजीआई प्रुडेन्सियलको ९.७३ प्रतिशत लाभांश पारित

काठमाडौं– आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई ९.७३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको २७औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक वर्षको संचित मुनाफाबाट चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने २९ करोड ४९लाख ६१ हजार नगद लाभांश सभाबाट पारित गरेको छ ।

सभामा अध्यक्ष हेमराज ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१.४७ अर्ब बीमाशुल्क आर्जन गरेको बताए । जुन गत आ.व. भन्दा २.८ प्रतिशतको वृद्धि हो । साथै आ.व. २०८०/०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको उनले जानकारी दिए । सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको बताउँदै उनले यस कम्पनीले ३.६३ अर्ब बीमा शुल्क आर्जन गरी गत वर्षको दांजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको बताए ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा हासिल गरेको बीमा प्रिमियम रकम ३ अर्ब ३९ करोड ४५ लाखमा ७.१२ प्रतिशतले वृद्धि गरी ३ अर्ब ६३ करोड ६१ लाख बीमा प्रिमियम संकलन गर्न सफल भएको छ । त्यसैगरी सरकारलाई गत आवमा विभिन्न करबापत ५९ करोड २८ लाख भुक्तानी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्