Logo

सञ्चालनको तयारी बिना धनगढी सभागृह उद्घाटन

धनगढी– सरकारको पौने ३१ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको धनगढी सभागृह प्रधानमन्त्री केपी शर्माओलीले उद्घाटन गरेका छन् । साढे २८ करोडको लागतमा भौतिक संरचना निर्माण भएको अढाई वर्षपछि सवा दुई करोडको साउण्ड सिस्टम र भीआइपी फर्निचर जडानको ठेक्का प्रक्रियामा छ भने सञ्चालन कार्यविधिसमेत बनाइएको छैन ।

संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका इञ्जिनियर पुष्पराज भट्टले साउण्ड सिस्टम र फर्निचर खरिद तथा जडानको लागि ठेक्काका लागि फर्म छनौट भइसकेको भएपनि सम्झौता गर्न बाँकी रहेको बताए । उनले सञ्चालनको मोडालिटी निर्धारण र कार्यविधि बनाउने काम धनगढी उपमहानगरपालिकाले नै गर्नुपर्ने बताए ।

धनगढी सभागृह उद्घाटनकै अवसर पारेर आइतबार नै प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकालाई सभागृह हस्तान्तरण समेत गरेका छन् । निर्माण कम्पनीले २०७९ असारमा सम्पन्न गरी संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरेको थियो । त्यसै बेला इकाईले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने योजना बनाएपनि उपमहानगरपालिकाले फर्निचर र साउण्ड सिस्टम जडान भएपछि मात्रै बुझ्ने अडान लिएपछि सो कार्य हुन सकेको थिएन ।

तर, हालसम्म धनगढी उपमहानगरपालिकाले माग गरेअनुसार फर्निचर र साउण्ड सिस्टम जडान भएको छैन । धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले कार्यक्रमबाट धनगढी सभागृह उपमहानगरपालिकालाई हस्तान्तरण भएको बताए । उनले सञ्चालनको मोडालिटी र सञ्चालन कार्यविधिबारे आफूलाई जानकारी नभएको पनि बताए ।

धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँमा डेढ विघा क्षेत्रफलमा राष्ट्रिय सभागृहको मोडेलमा नौ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, दुई सय जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा रिहल्सल कक्ष निर्माण गरिएको छ । करिब चार सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ ।

आयोजना कार्यालयका अनुसार बिजुली–वत्तिसहित तातो–चिसोका लागि एसि तथा हिटर, खानेपानी जडान र गार्डेन डिजाइन लगायत सम्पूर्ण कार्य अढाई वर्ष पहिले भएको थियो । उच्च गुणस्तरको साउण्ड सिस्टम जडान नभएकै कारण निर्माण सम्पन्न भएको अढाई वर्षसम्म सभागृह सञ्चालन हुन सकेको छैन ।

फर्निचर र साउण्ड सिस्टम खरिद तथा जडानको लागि परामर्शदातासँग तत्कालै सम्झौता गरी यसै आर्थिक वर्षभित्र जडानसमेत सम्पन्न गरिने इञ्जिनियर भट्टले बताए । सभागृह निर्माण भइसकेको भएपनि साउण्ड सिस्टम र सञ्चालन मोडालिटी तथा कार्यविधिको अभावमा प्रदेश सरकार, स्थानीय सरकारका कार्यक्ररु होटल र पार्टी प्यालेसमा भइरहेका छन् ।

धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने ठूला कार्यक्रम सभाहलको अभावमा पार्टी प्यालेस, होटलमा गर्नुका साथै मन्त्रालयको प्रांगणमा टेण्ट लगाएर आयोजना गर्ने गरिएको छ । धनगढीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठूला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर बनाइएको सभाहल सञ्चालन हुन नसक्दा सरकारी कार्यालयले त्यस्ता कार्यक्रम महंगो भाडा तिरेर पार्टी प्यालेस, होटलमा सञ्चालन गरिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्