Logo

‘पञ्चेश्वर परियोजना कसैले रोक्न सक्दैन’

धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर परियोजना बन्नबाट अब कसैले रोख्न नसक्ने बताएका छन् । सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पञ्चेश्वर परियोजना बनाउनका लागि सम्पूर्ण बाधा समाधान आफूले गरेको बताएका हुन् । उनले पञ्चेश्वर परियोजनाको रिस्टक्चर गरिएको बताउँदै आफ्नो पहलमा टनकपुर सम्झौता पुनरावलोकन गराएको बताए ।

‘परियोजना निर्माण हुन्छ,’ उनले भने, ‘पञ्चेरश्व बन्नका लागि अब कसैले पनि रोक्न सक्दैन । टनकपुर सम्झौता पुनरावलोकन गरेर कञ्चनपुरका लागि १० क्वीमेक्स पानी पनि प्राप्त हुन्छ ।’ प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशको विकासका लागि आफूले थुप्रै योजनाहरु अगाडी सारेको बताउँदै यसैवर्ष दार्चुलोका सदरमुकाम खलंगाबाट छाङरु जान गोरेटो खोल्ने बताए । उनले त्यसका लागि ५ करोड विनियोजन बताए ।

‘अर्को वर्ष पक्की सडक व्यास हुँदै तिंकरसम्म पुर्‍याउछौं,’ उनले भने, ‘पक्की सडक ताक्लाकोट पुर्‍याने र ताक्लाकोटमा व्यापारिक केन्द्र निर्माण गरी भन्सार सेवा दिने योजना छ ।’ उनले सुदूरपश्चिममा सडक कनेक्टिभिटी बढाउनको लागि रिभर करिडोर अवधारणा सारिएको बताए । महाकाली करिडोर निर्माणलाई तीब्रता दिएको बताउँदै उनले सडक सञ्जाल विस्तार गर्दै व्यापारिक केन्द्रहरु बनाउने र जनताको आयस्तर बढाउने कार्यमा सरकार लागेको बताए ।

प्रधानमन्त्री ओलीले नेपालका ९२ प्रतिशत जनताकोमा खानेपानी र ९८ प्रतिशत जनताकोमा विद्युत सेवा पुगेको दावी गरे । उनले आउँदो वर्षदेखि कैलालीको गेटा अस्पतालमा मेडिकल शिक्षा सुरु गरिने बताउँदै विस्तारै सो अस्पताललाई मेडिकल युनिभर्सिटी बनाउने बताए । प्रधानमन्धी ओलीले सातै प्रदेश सरकार र सबै स्थानीय सरकारलाई साथमा लिएर नेपाल सरकार अगाडि बढेको बताए ।

उनले नेपाल सरकारसँगै प्रदेश र स्थानीय सरकारहरुलाई वस्तुपरक योजना तालिम दिने सक्षम बनाउने कार्य गरिरहेको बताए । उनले तीन तहका सरकारको आम्दानी बढाउने विषयमा पनि छलफल गरिरहेको बताए । नेपालीको आनीबानी बिग्रिएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘पारी गएर सुन्तला टिप्ने, आफ्नो बारीमा सुन्तलाको बीउ नरोप्ने हाम्रो आनीबानी । यसलाई परिवर्तन गर्नुपर्छ । हाम्रो आनीबानीलाई बिग्रेको छ । हामीले आफू नमुना हुने गरी काम गर्नु छ ।’

प्रधानमन्त्री ओलीले परम्परागत कृषिबाट आम्दानी नबढ्ने बताउँदै कृषिको आधुनीकरण गर्नु जरुरी रहेको बताए । ‘टुक्रा जमिनमा खेती गरेर हाम्रो आम्दानी बढ्ने वाला छैन,’ उनले भने, ‘त्यही भएर थोरै जमीन भएपनि धेरै परिवार मिलेर खेती गर्न सकिन्छ । ब्लक र पकेट एरियाको कन्सेप्टबाट ठूलो मात्रामा बढि आम्दानी दिने काम गर्नुपर्छ ।’

त्यसअघि सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेशमा अथाह सम्भावना रहे पनि पछाडि परेको भन्दै अब त्यस परिचयलाई बदल्ने बेला आएको उल्लेख गरे । ‘यो प्रदेश केवल सुन्दर मात्र होइन, सम्भावनाले भरिएको छ । पछाडि परेको प्रदेश भन्ने परिचय अब बदल्नु पर्छ । नयाँ पुस्ताले सम्भावनाको खोजी गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीका अनुसार दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । उनले सुदूरपश्चिमको भौगोलिक कठिनाइ समाधान गर्न सरकार प्रतिबद्ध रहेको भन्दै दार्चुलाको उत्तरी क्षेत्रसम्म सहज पहुँच बनाउने उद्देश्यले छाङगुरुसम्म पुग्ने सडक निर्माण सुरु गरिएको जानकारी दिए ।

‘हामीले हाल पाँच करोड रुपैयाँ विनियोजन गरिसकेका छौं । हालसम्म नेपालीहरू पारीको बाटो प्रयोग गर्दा कठिनाइ भोगिरहेका छन् । अब गोरेटो बाटो निर्माणपछि पक्की सडक बनाउन थप बजेट विनियोजन गरी तक्लाकोटसम्मको सडक निर्माण गर्नेछौं’ उनले भने । प्रधानमन्त्री ओलीले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यही वर्षभित्र नै पठनपाठन सुरु गराउने योजना रहेको बताए ।

त्यस्तै, बहुप्रतीक्षित पञ्चेश्वर परियोजनालाई अघि बढाउन भारतसँग छलफल भइरहेको उनले जानकारी दिए । उनले आफू प्रधानमन्त्री भएको समयमा मुलुकमा विकासले गति लिएको दाबी गर्दै हुलाकी सडक, दोधारा चाँदनी औद्योगिक क्षेत्र तथा सुख्खा बन्दरगाह निर्माणको काम अघि बढेको उल्लेख गरे । कार्यक्रमममा प्रधानमन्त्री एवं कूलपति ओलीले सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा ३७२ विद्यार्थी दीक्षित गरेका छन् ।

विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रूपमा स्तरोन्नति गरिने बताए । उनले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै भने, ‘यो खुसीको कुरा हो । नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’

प्रतिक्रिया दिनुहोस्