Logo

महानगरद्वारा लिफ्टसहितको अपाङ्गमैत्री भवन निर्माण

विराटनगर– विराटनगर महानगरपालिका–१ मा कार्यालयको नवनिर्मित नयाँ भवनको उद्घाटन गरिएको छ । साबिकमा वडा कार्यालय रहेकै स्थानको पश्चिमतर्फ नयाँ भवन निर्माण गरिएको हो । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का राम पोखरेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित कार्यपालिका र वडा सदस्यको उपस्थितिमा नवनिर्मित भवनको महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे ।

यसअघि भवन निर्माण गरिएको सो ठाउँमा दमकल राख्ने वारुणयन्त्र भवन थियो । जुन निकै जीर्ण भइसकेको थियो । उक्त भवनलाई भत्काएर सोही ठाउँमा वडा कार्यालयका लागि सुविधासम्पन्न आधुनिक वडा कार्यालय भवन निर्माण गरिएको हो । विराटनगर महानगरपालिकाको दुई करोड दुई लाखमा नयाँ भवन निर्माण कार्य गरिएको हो । नवनिर्मित तीन तले भवन २१ सय १३ स्क्वायर फिटको छ ।

काठमाडौंको निर्माण व्यवसायी कम्पनी विराट कालीमाई कन्स्ट्रक्सन प्रालिले भवन निर्माणको ठेक्का पाएको थियो । नवनिर्मित भवनको भुइँतल्लामा १२ कोठासहित दुईवटा सटर छन् । यस्तै माथिल्लो दुई तल्लामध्ये पहिलोमा १२ कोठा र सबभन्दा माथिल्लो तल्लामा मिटिङ हल, स्टोरलगायत राखिएको छ । नवनिर्मित अपाङ्गतामैत्री भवनमा लिफ्टसमेत राखिएको छ ।

महानगरका भवन पनि समयअनुकूल बनाउनु उपयुक्त देखेर अपाङ्गमैत्रीसहित लिफ्ट पनि राखिएको मेयर कोइरालाले बताए । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई समेत दोस्रो र तेस्रो तलामा पुगेर सेवा लिन सहज हुने उनको भनाइ छ । महानगरले सबै वडा कार्यालयलाई अपाङ्मैत्री भवन बनाउँदै लगेको मेयर कोइरालाले बताए । महानगरअन्तर्गतको कार्यालय भवनमा भने यसअघि लिफ्टको सुविधा थिएन । निर्माणाधीन महानगरको प्रशासनिक भवनमा भने लिफ्ट, अन्डरग्राउण्ड पार्किङलगायतका सुविधा छन् ।

यसअघि व्यवस्थित र फराकिलो भवन नभएका कारण सेवा प्रवाहमा समस्या झेल्दै आए पनि नयाँ भवन बनेपछि सेवा दिन सहज हुने विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेतले बताए । सो भवन निर्माणका निम्ति २०८० भदौ ६ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार २०८१ चैत ३० भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

यद्यपि निर्माण कम्पनीले निर्माण अवधिको दुई महिना अगावै भवन निर्माण गरी महानगरलाई हस्तान्तरण गरेको महानगरका भौतिक पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए । सम्पूर्ण निर्माणको काम माघ १ गते नै सम्पन्न गरिएको थियो । थापाका अनुसार अन्य ६ वटा वडाका भवन पनि ठेक्का लागिसकेको छ । पुराना भवन साँघुरो र जीर्ण भएकाले महानगरले सुविधा सम्पन्न नयाँ भवन निर्माणलाई प्राथमिकतामा राखेको छ ।

यसअघि धेरै वडा कार्यालय भाडाका घरबाट समेत सञ्चालन हुँदै आएका थिए । मेयर कोइराला निर्वाचित भएर आएपछि महानगरलाई आर्थिक बोझ कम गराउने उद्देश्यले भाडामा रहेका सबै महाशाखा, शाखालाई प्रशासनिक भवनमै सारेका थिए । १ नम्बर वडा भवन निर्माण गरिएको स्थानमा महानगरको १ कट्ठा ६ धुर जग्गा रहेको वडा सचिव सुमन दाहालले जानकारी दिए । भवन निर्माण गरिएको पूर्वतर्फ पार्किङको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्