आगामी सिजनलाई ९० प्रतिशत होटल बुकिङ «

आगामी सिजनलाई ९० प्रतिशत होटल बुकिङ

सन् २०१८ को सुरुवातमै पर्यटक आगमनदर उत्साहजनक रूपमा वृद्धि भएको छ । पर्यटन व्यवसायीहरूका अनुसार चालू वर्षमा बन्द हडतालको संख्यामा आएको कमी तथा नेपालमा राजनीतिक संक्रमणकाल समाप्त भइकाले पर्यटक आगमनदर बढेको हो । पर्यटक आगमन मापन गर्ने मुख्य सूचक होटल बुकिङ नै उत्साहजनक रहेको देखिन्छ । व्यवसायीहरूका अनुसार आगामी सिजनको लागि होटल बुकिङ ९० प्रतिशतभन्दा बढी रहेको व्यवसायीहरूले जनाएका छन् ।
पर्यटनको दोस्रो मुख्य सिजन सुरु हुनैलाग्दा होटल बुकिङ ९० प्रतिशतभन्दा बढी रहेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले जानकारी दिए । यस सिजनका लागि होटल, ट्राभल, ट्रेकिङ तथा एक्सिपिडिसन सबैतर्फ पर्यटक आगमनदरको गति लिएको व्यवसायीले जनाएका छन् । शाहका अनुसार बुकिङ ९० प्रतिशत भए पनि विमानस्थलको अव्यवस्थापनका कारण धेरै बुकिङ रद्द हुने गरेको बताउँछन् । “सिजन सुरु हुनुअघि होटल बुकिङ भए पनि १५ दिनअघि रद्द गर्न पाउने भएकोले बुकिङ रद्द हुने गरेको छ,” शाहले भने ।
सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । उक्त संख्या हालसम्मकै धेरै रहेको थियो भने नेपाल पर्यटन बोर्डले सन् २०१८ मा १२ लाख भन्दा बढी पर्यटक नेपाल आउने प्रक्षेपण गरेको छ । सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भ्रमण आएका थिए ।
सन् २०१७ मा होटलको अकुपेन्सी ६५ प्रतिशत पुगेको थियो । “पूर्वाधारको समस्याले नेपाल आउन चाहेको पर्यटकले समेत हवाई टिकट पाएका छैनन्,” महासचिव शाहले भने । सन् २०१८ को जनवरी र फेब्रुअरीको आगमनदर समेत उत्साहजनक रहेकोले १२ लाखभन्दा बढी पर्यटक आउने दावी व्यवसायीहरूको छ । अहिलेकै होटलका पूर्वाधारले पनि १८ लाखभन्दा बढी पर्यटक धान्नसक्ने अवस्थामा रहेको छ । सन् २०२० सम्ममा ४ हजार भन्दा बढी होटलका रुम थपिँदै छन् ।
दुई वर्षअघि वैशाख १२ मा गएको भूकम्पका कारण सन् २०१५ मा पर्यटक आगमनदर ३२ प्रतिशतले घटेको थियो । नेपालको अबको प्रवद्र्धन भारत र चीन रहेकोले बोर्डको ध्यान सोहीतर्फ गएकोले आक्रामक मार्केटिङमा केन्द्रित भएकोले सन् २०१८ मा पर्यटक आगमदर उत्साहजनक हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशी बताउँछन् ।
नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष मधुसुदन आचार्य पनि सन् २०१८ मा १२ लाख भन्दा बढी पर्यटक नेपाल भ्रमण आउने बताउँछन् । “वार्षिक ३० प्रतिशतको वृद्धि गराउन सक्यौं भने २०३० सम्ममा वार्षिक ५० लाख पर्यटक नेपाल भिœयाउन सक्छौं,” आचार्यले भने । जसका लागि सरकारले पूर्वाधारमा विशेष जोड दिन आवश्यक भएको उनको भनाइ छ । स्थिर सरकारको अपेक्षा पूरा भएको र अब आवश्यक पूर्वाधार निर्माण भएमा नेपालमा ५० लाख पर्यटक सजिलै भित्रिने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्