Logo

क्रिप्टोकरेन्सी कारोबार गर्ने पक्राउ

फाइल तस्बिर ।

पोखरा– पोखरामा अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा घरबेटीसहित ५ जना पक्राउ परेका छन् । पोखरा–१४ अनुपम टोलमा रुपेन्द्र जिसीको साढे तीन तल्ले घरमा अवैध रूपमा उक्त क्रिप्टोकरेन्सी प्रयोग गर्दै अनलाइनमार्फत जुवा खेलेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्य चार जना जिसीका आफन्त हुन् । पर्वतका जिसीले विगत एक वर्षदेखि पोखरामा निर्माण भएको उक्त घरमा आफन्तलाई इलेक्ट्रोनिक डिभाइसमार्फत अवैध कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा पाँच जनालाई पहिलो चरणमा पक्राउ गरेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको हो ।

म्याग्दी बेनी नगरपालिका–२ का ३३ वर्षका विक्रम बानियाँ हाल पोखराको हवेलीमार्गमा बस्दै आएका छन् । उनको पोखराको चिप्लेढुंगामा फेन्सी पसल रहेको छ । पक्राउ परेका बानियाँ रुपेन्द्रका फुपुका छोरा हुन् । त्यसैगरी बेनी नगरपालिका २ का २२ वर्षका सञ्जन घिमिरे पनि पक्राउ परेका छन् । रुपेन्द्रका फुपुका छोरा पर्ने घिमिरे हाल अनुपम मार्गमा बस्दै आएका छन् ।

त्यस्तै रघुगंगा गाउँपालिका–२ स्थायी घर भई हाल अनुपम मार्ग बस्दै आएका रोजन के.सी पनि पक्राउ परेका छन् । उनी रुपेन्द्रका सानो आमाको छोरा हुन् । अवैध कारोबार गरेको आरोपमा प्रहरीले रघुगंगा नगरपालिका–२ का १८ वर्षका सन्दिप कटुवाललाई पक्राउ गरेको छ । पोखरा चाउथे बस्दै आएका कटुवाल फुड स्टिपका सञ्चालक तथा रुपेन्द्रका बहिनी ज्वाइँसमेत भएको प्रहरीले बताएको छ ।

उनीहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूर सम्बन्धमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप भएको कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलीयाले बताए । करिब एक वर्षको अन्तरालमा उनीहरूले करिब ३० करोड मूल्यबराबरको आर्थिक कारोवार गरेको उनले जानकारी दिए ।

फागुन २३ गते बेलुका ५ बजे प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा/सट्टाबाजीमा प्रयोग गरेको आरोपमा कास्की प्रहरीसहित गण्डकी प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेका व्यक्तिहरूमध्ये सबै जसो म्याग्दीका हुन् ।

उनीहरूबाट प्रहरीले मोबाइल फोन– ३१ थान, कम्प्युटर मनिटर–२ थान, कम्प्युटर सिपियु– ३ थान, ल्यापटप–४ थान, पेनड्राईभ–३ थान, हार्डडिक्स– १ थान, चार्जर– ११ थान, स्टयाम्प छाप– १ थान, नगद ७२ हजार ५ सयलगायतका सामानहरू बरामद गरेको हो । उनीहरूले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकहरूमा खाता खोली कारोबार गरेको प्रहरीले दाबी गरेको छ ।

वाट्सएप, टेलिग्राम, क्यास एप, चिमिएप, यूएसडीटीमार्फत १५ करोड र अभौतिक मुद्राको १५ करोड गरी ३० करोड मूल्यबराबरको कारोबार भएको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले बताए । उक्त विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । डिजिटल माध्यमबाट स्वदेश तथा विदेशबाट विभिन्न व्यक्तिहरूलाई क्रिप्टोकरेन्सीप्रयोग तथा जुवा एवं सट्टाबाजी खेलाउने गरेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्