दुई करोड खर्चेर स्केट पार्क सञ्चालन

पर्वत– स्वदेशमा कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवा पलायन भइरहेको अवस्थामा पर्वतका दुई युवाले दुई करोडभन्दा बढी लगानी गरेर स्केट पार्क सञ्चालन गरेका छन् । सदरमुकाम कुश्माबजारको बञ्जी साइडमा सुविधा सम्पन्न पर्वत स्केट पार्क खोलिएको हो । लामो समयदेखि खेल क्षेत्रमा सक्रिय बनेका मोदी गाउँपालिकाका लक्ष्मण श्रेष्ठ र कुश्माका जगदीश सुवेदीले स्केट पार्क सञ्चालनमा ल्याएका हुन् ।
दुवैजना भलिबलको राष्ट्रिय खेलाडीको रूपमा समेत सक्रिय रहँदै आएका छन् । पछिल्लो समय बालबालिका तथा किशोर किशोरीमा मोबाइल र सामाजिक सञ्जालतर्फको लत बढ्दै गएको र यो खेलतर्फ आकर्षण गर्न सकेमा उनीहरूको स्वास्थ्यमा समेत फाइदा पुग्ला भन्ने उद्देश्यले स्केटपार्क सञ्चालन गरिएको सञ्चालक लक्ष्मण श्रेष्ठले जानकारी दिए । उनले भने, ‘धौलागिरि क्षेत्रमै नमुना स्केटपार्क सञ्चालन गरेका छौं ।’
पर्वत भलिबल संघका अध्यक्ष रहेका श्रेष्ठ र उपाध्यक्ष रहेका सुवेदीले आफूहरू पनि खेल क्षेत्रमै लागेकाले नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षण गर्ने उद्देश्यले ठूलो लगानी गरेर स्केटपार्क खोलिएको बताए । स्केटपार्कमा सानोदेखि ठूलो उमेरका मानिसले स्केटिङ गरेर मज्जा लिन सक्ने भएका छन् । मोबाइल, टिभीलगायतका वस्तुतर्फ बालबालिकाको लत बढ्दा अभिभावकहरू समस्यामा पर्दै आएका छन् ।
यसले कम्तीमा दिनको दुई/तीन घण्टा मोबाइलबाट बाहिर राख्न सकिन्छ कि भन्ने हाम्रो उद्देश्य हो सञ्चालक सुवेदीले भने । उनले यसले स्वास्थ्य र कलात्मक प्रस्तुतिलाई बढावा दिनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने सञ्चालकहरूको विश्वास रहेको छ । पार्कमा एकैपटक ६० देखि ७० जनासम्मले स्केटिङ गर्नसक्ने भएका छन् । आर्थिक मन्दिका कारण खस्किँदै गएको कुश्माबजारको व्यापार व्यावसायमा आफूहरूले ठूलो चुनौती मोलेर स्केटिङ पार्क खोलिएको उनीहरूको गुनासो छ ।
विदेश जानका लागि गर्ने लगानी स्वदेशमै गर्न सकियो भने यसले स्वरोजगारसमेत बढाउने र जिल्लाको आर्थिक विकासमा समेत टेवा पुग्ने सञ्चालक श्रेष्ठको विश्वास छ । झण्डै एक रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको स्केट पार्कसँगै सुविधा सम्पन्न पर्वत क्याफे एण्ड रेस्टुराँसमेत सञ्चालन गरिएको छ । स्केटिङ गर्न आउनेको सुविधालगायत पर्वतमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक सेवा प्रवाह गर्नका लागि क्याफेसमेत सञ्चालन गरिएको श्रेष्ठले बताए ।
उनले युवाहरू मिलेर स्वदेशमै गरेको लगानीलाई सबैले प्रोत्साहन गर्ने विश्वास लिएको बताए । शाहसिक पर्यटनको गन्तव्यको रूपमा विकास भएको पर्वतमा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि स्केट पार्क महत्त्वपूर्ण गन्तव्य हुनसक्ने स्थानीय होटल सञ्चालक बुद्ध पुनले बताए । पर्वतमा पछिल्लो समय स्केटिङ पार्कमा लगानी गर्नेको आकर्षण बढ्दै गएको छ । यसअघि होटल बन्दनाको सभाहल र पुरानो सिद्देश्वर चलचित्र मन्दिरमा पनि स्केट पार्क सञ्चालन गरिएको थियो ।