आजदेखि एघारौँ नेपाल भूगर्भ सम्मेलन
‘जलवायु न्यायको विषय अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी’

काठमाडौं- आज (सोमबार)देखि काठमाडौंमा एघारौँ नेपाल भूगर्भ सम्मेलन सुरू भएको छ । नेपाल भूगर्भ समाजले आयोजना गरेको सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसँगै सुरू भएको सम्मेलनमा विश्वका विभिन्न मुलुकको भूगर्भविद्हरूबीच भूगर्भको सुरक्षा सम्बन्धमा छलफल गरिने जनाइएको छ ।
समाजका अनुसार जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्नु, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवहरूको आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
उक्त सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जलवायु न्यायको मुद्दालाई विश्वजगत्मा पुर्याउनुपर्ने भन्दै जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय हरेक अन्तरराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताए ।
उनले विकसित देशहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता विकासशील एवं अल्पविकसित देशहरू समेत प्रभावित हुनुपरेको सन्दर्भमा जलवायु न्यायको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने धारणा व्यक्त गरे ।
जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप तथा व्यवस्थापन जस्ता जल्दाबल्दा विषयले भौगर्भिक सम्मेलनको महत्त्वलाई बढाएको छ भन्दै राष्ट्रपति पौडेलले मानव जनजीवनसँग प्रत्यक्ष सरोकार रहेको यस किसिमका सम्वेदनशील मुद्दा सम्बोधनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सहयोग र सहकार्य हुनुपर्ने खाँचो औँल्याए ।
राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रम अस्वभाविक रुपमा वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दै तीन दशकयताको यस अवधिमा हिमालका हिउँ पग्लिएर हिमतालहरू फुट्ने अवस्थामा पुगेको, अधिकांश हिमाल नाङ्गा पहाडमा रुपान्तरण हुनेक्रममा रहेको, अधिक वर्षाका कारण जलप्रकोप, पहिरो र भूक्षयबाट बर्सेनि जनधनको ठूलो क्षति भइरहेको भनी चिन्ता व्यक्त गरे ।
उनले हिमालय पर्वत शृङ्खलामा बेलाबेलामा गइरहने भूकम्प पनि हिमाली मुलुक नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको बताउँदै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्न सकिने भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्रको आविष्कार हुन नसक्दा समस्या सिर्जना भएको धारणा व्यक्त गरे ।
राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानी तथा खनिजजन्य पदार्थको स्थिति, अन्वेषणको अवस्था, जलवायु परिवर्त र त्यसको प्रभाव, भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगका बारेमा विचारविमर्श हुने विश्वास व्यक्त गरे । उनले प्राकृतिक स्रोतको उत्खनन, सदुपयोग र बजार व्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न समेत भौगर्भिक सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे ।
नेपाल भूगर्भ समाजका अध्यक्ष चुर्णबहादुर ओलीले जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदान–प्रदान गर्न सम्मेलनले सहयोग पुग्ने बताए । साथै, सम्मेलनका संयोजक प्राध्यापक खुमनारायण पौडेलले सम्मेलनमा हिमालय क्षेत्रको भूगर्भ विज्ञानबारे एक सयभन्दा बढी अनुसन्धान पत्र प्रस्तुत गरिने र भूगर्भीय अध्ययन तथा अनुसन्धानबारे विस्तृत छलफल हुने जानकारी दिए ।
सम्मेलन मंगलबारसम्म चल्नेछ । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाललगायत भारत, चीन, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बङ्गलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागी भएका छन् । सम्मेलन प्रत्येक दुई वर्षमा आयोजना हुने गरेको छ ।