Logo

सडकमै कार्यालय चलाएपछि अलपत्र पारिएको सडक बनाउँदै ठेकेदार

महेन्द्रनगर– ठेकेदारले सडक बनाउन अलपत्र पारेपछि कञ्चनपुरमा पाँच दिनदेखि सडकमै वडा कार्यालय सञ्चालन गरेका कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन सिंह साउदले शुक्रबारदेखि नियमित कार्यालयमै सेवा प्रवाह गरेका छन् । गत आइतरबारदेखि कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष साउदले सडकमै वडा कार्यालय सञ्चालन गरिरहेका थिए ।

आइतबारदेखि वडाध्यक्षले नियमित रूपमा कार्यालयमै सेवा प्रवाह गरेका हुन् । कृष्णपुर नगरपालिका–२ बंक चोकदेखि दोमिल्ला हुँदै नायल बुडर सडक खण्डअन्तर्गत झण्डै सात किलोमिटर सडक अलपत्र पारेपछि वडाध्यक्ष साउद आफैं आन्दोलनमा उत्रिएका थिए । वडाध्यक्षले अघि सारेको सिर्जनात्मक आन्दोलनमा जनसमर्थन बढ्दै गएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार सम्पर्कमा ल्याएको थियो ।

बिहीबार वडाध्यक्ष साउद, पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रप्रसाद अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिबीच काम सुचारु गर्ने सहमति भएको थियो । ठेकेदारले कार्यालयमा गरेको सहमति अनुरुप सडक बनाउन थालेपछि वडाध्यक्ष साउदले आन्दोलन स्थगित गरेर नियमित काम वडाबाटै सञ्चालन गरेका हुन् ।

चार वर्षअघि सन्तोषी थेगिम जेभीले सडक कालोपत्रेको ठेक्का पाए तापनि हालसम्म उक्त सडक निर्माण गर्न नसक्दा सडक बिग्रिँदै गएकाले सर्वसाधारण जनतालाई आवतजावतमा समस्या परेको भन्दै वडाध्यक्ष साउदले सडक सुरुवात बिन्दु बंकमै टेबुल राखेर सेवा प्रवाह गरिरहेका थिए ।

‘मैले व्यक्तिगत र वडा कार्यालयका तर्फबाट यथाशीघ्र सडक निर्माणका लागि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थिएँ,’ उनले भने, ‘चासो नै दिएनन्, अहिले सडक सुचारुका लागि दबाबमूलक नयाँ शैली अपनाएर आन्दोलनमा उत्रिएको छु, सडकबाटै सेवा प्रवाह गरिरहेको थिएँ, ठेकेदारले काम गरेपछि रोकेको छु ।’

त्यसैगरी वडाध्यक्ष साउदले फेरि ठेकेदार कम्पनीबाट ढिलाइ भए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख अधिकारीले ठेकेदारबाट तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता अनुरुप सडकमा बेस निर्माण कार्य अघि बढाएको दाबी गरे । २०८२ सालको चैतसम्म म्याद रहेको उक्त सडक २०७७ साल साउन २० गतेसम्ममा ठेक्का भई २०८१ साल वैशाख २० गते म्याद सकिएको थियो ।

पहिलो पटक २०८२ साल चैत ३० गतेसम्म म्याद थप भए तापनि सडक निर्माण कार्य पूरा भएको छैन भने उक्त सडकको प्रगति अहिलेसम्म ३५ प्रतिशतमात्रै भएको छ । झण्डै ११ करोड ८६ लाखमा सात किलोमिटर कालोपत्रे सडक निर्माण चार वर्षदेखि अलपत्र पारेपछि उक्त क्षेत्रका स्थानीयले समेत हैरानी खेप्दै आएका छन् । विकासका लागि सिर्जनात्मक दबाबमूलक र ठेकेदारलाई नैतिक जिम्मेवार बनाउने वडाध्यक्ष साउदको आन्दोलन प्रभावकारी भएको नागरिक समाजको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्