अमेरिकाको ‘व्यापार युद्ध’
नेपाललाई अवसर कि असर ?

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ घोषणासँगै विश्व ‘व्यापार युद्ध’मा प्रवेश गरेको छ । यसको आंशिक असर नेपालसम्म पर्ने देखिएको छ ।
राष्ट्रपति ट्रम्पले अघिल्लो साताबाट नै छिमेकी मुलुक क्यानडा र मेक्सिकोसँग ‘व्यापार युद्ध’ सुरु गरिसकेका छन् । युरोपेली संघसहित चीन, ब्राजिल, भारतलगायत मुलुक उनको निशानामा छन् । नेपालजस्तो सानो र न्यून व्यापार हुने मुलुक ट्रम्पको सिधा निशानामा नपरे पनि उनको अनुदार व्यापार नीतिका कारण समस्यामा पर्न सक्ने देखिएको हो ।
नेपाल र अमेरिकाबीच गत आर्थिक वर्षमा ३६ अर्ब ७९ करोडको व्यापार भएकोमा नेपालले २ अर्ब १६ करोड घाटा व्यहोरेको थियो । निर्यात गन्तव्यका आधारमा अमेरिका नेपालका लागि भारतपछिको दोस्रो ठूलो बजार हो । अघिल्लो आवसम्म नेपाल अमेरिकासँगको व्यापारमा नाफामै थियो । चालु आर्थिक वर्षको सात महिनासम्मको तथ्यांक हेर्दा दुई मुलुकबीच २० अर्ब ५ करोडको व्यापार भइसकेको छ । यसमा नेपालले ४ अर्ब ५५ करोड घाटा व्यहोरेको देखिन्छ ।
ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेसँगै विभिन्न मुलुकसँग आफूखुसी करका दरहरु निर्धारण गरिरहेका छन् । यसका कारण विश्व व्यापार संगठन (डब्लूटीओ) को औचित्यमाथि नै प्रश्न उठिरहेको छ । अमेरिकाले आयातमा उच्च कर लगाएसँगै अन्य मुलुकले पनि अमेरिकी उत्पादनमा कर बढाउन थालेका छन् । रसिया–युक्रेन युद्धको असरबाट थलिएको नेपाली अर्थतन्त्र भर्खरै तंग्रिन लागेका बेला अमेरिकाले सुरु गरेको व्यापार युद्धले पुनः समस्या आउने चिन्तामा व्यवसायी तथा व्यापारका विज्ञहरु छन् ।
ट्रम्पको घोषणापछि अमेरिकाले क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा अघिल्लो साताबाट २५ प्रतिशत आयात कर लागु गरिसकेको छ । ऊर्जा आयातमा १० प्रतिशत कर लगाइएको छ। यस्तै, चीनबाट हुने आयातमा १० प्रतिशत कर थपिएको छ । युरोपेली मुलुकबाट भित्रिने सामानमा पनि १० प्रतिशत कर लगाउने घोषणा भइसकेको छ ।
नेपालका दुई छिमेकी भारत र चीन दुवै अमेरिकी निशानामा पर्ने देखिएकाले त्यसको असर नेपालमा पर्नेमा जानकारहरु एकमत छन् । तीव्र आर्थिक विकास गरिरहेका मुलुकहरु जापान, दक्षिण कोरिया र भारतप्रति पनि ट्रम्प अनुदार देखिएका छन्।
नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता (नेपाल ट्रेड प्रिफरेसन्स प्रोग्राम–एनटीपीपी) अन्तर्गत हाल नेपालले अमेरिका निकासीका लागि ७७ वटा वस्तुमा भन्सार छुट सुविधा पाएको छ । तर, ती वस्तु निकासीमा ठूलो समस्या रहेको नेपाल अमेरिका उद्योग वाणिज्य संघका अध्यक्ष किरणप्रकाश शाख बताउँछन् । नेपालमा आएको भूकम्पपछि सन् २०१६ मा टिफाअन्तर्गत अमेरिकी सिनेटबाट पास गरी ६६ वस्तुलाई भन्सार छुट सुविधा दिइएको थियो । पछि यसलाई बढाएर ७७ वस्तुको सूची तयार पारिएको छ ।
अध्यक्ष शाखका अनुसार भन्सार छुट सुविधा पाएका कतिपय वस्तुको सुविधा पाएपछि झनै निर्यात घटेको छ । ‘अमेरिकाले यो सुविधा दिँदा नै भूकम्पबाट प्रभावित अर्थतन्त्र उकास्न भनेर दिएको हो,’ उनले भने, ‘तर, नेपालबाट सूची पठाउँदा लामो पठाइए पनि निर्यात हुने वस्तु एकदमै कममात्र परे । हामीले अरु देशसँग प्रतिस्पर्धा गर्न नसक्ने गरी सुविधा दिइयो ।’
नेपालले यो सुविधाको निरन्तरता र थप वस्तु सूचीमा राख्न पहल गरिरहेका बेला टिफा सुविधाले निरन्तरता पाउन नसक्ने चिन्तामा व्यवसायीहरु छन् । यसअघि छुट सुविधामा ७७ वटा वस्तु भनिए पनि अमेरिकामा पस्मिनालाई नै विभिन्न वर्गमा विभाजन गरेर १० वटा ‘एचएस कोड’ मा राख्ने गरिएको छ । नेपालमा भने पस्मिना भनेपछि एउटैमा राख्ने गरिएको छ । यसका कारण करिब १० वस्तुको निकासी शून्य छ । ‘दिन त अमेरिकाले सुविधा दियो तर त्यसको औचित्य भएन,’ अध्यक्ष शाख भन्छन्, ‘हाम्रोबाट जुत्ता र तयारी पोशाक थपिएको भए व्यापारमा धेरै परिवर्तन हुन सक्थ्यो । यसका लागि सरकारको लबिङ बलियो हुन सकेन ।’
ट्रम्प प्रशासनले भारत, टर्कीलगायत देशको जीएसपी सुविधा यसअघि नै खारेज गरेको थियो । नेपाल पनि जीएसपी कार्यक्रम खारेजीको सूचीमा परे नेपालका मुख्य निर्यात वस्तुहरू जस्तै– पंखा, हस्तकला, कपडा, कृषि उत्पादनमा भन्सार बढ्नेछ । नेपाली उत्पादनहरूको माग घट्दा नेपालमा रोजगारीका अवसरहरू प्रभावित हुन सक्छन् ।
अर्कोतर्फ ट्रम्पको संरक्षणवादी नीतिले अमेरिकी लगानीकर्ता नेपालमा कम आकर्षित हुन सक्ने पनि देखिएको छ । राष्टपति ट्रम्पको व्यापार नीतिले नेपाललाई सीमित रूपमा मात्र असर पार्न सक्ने तर भविष्यमा जीएसपी सुविधाहरू हटाइए वा भन्सार दर बढाइएमा नेपाली निर्यातकर्तालाई चुनौती हुन सक्नेछ ।
व्यापार विज्ञ गान्धी पण्डित भन्छन्, ‘ट्रम्पले अमेरिकी नागरिक र अमेरिकाको हितमा केन्द्रित भएर नीतिहरु जारी गरिरहेका छन् । उनले ल्याएका नीतिले अमेरिकाको उद्योग, व्यापार र रोजगारीलाई टेवा पुग्छ । क्यानडा, मेक्सिको र चीनसँगको व्यापार युद्धमा सिधा नेपाल नजोडिए पनि अप्रत्यक्ष रुपमा विश्व अर्थतन्त्रबाट नेपाल बाहिर रहन सक्दैन ।’ विदेशी लगानीको सवालमा भने प्रत्यक्ष प्रभाव पर्ने र आउँदा दिनमा अमेरिकाको लगानी नेपालमा घट्ने उनको आँकलन छ । चीन–अमेरिका सम्बन्ध बिग्रेमा चीनको उत्पादन क्षमता बढी भएकोले बजार उसलाई चाहिने हुँदा सस्तो पनि सामान पाउन सक्ने उनको ठम्याइ छ ।
हाल नेपालबाट अमेरिकातर्फ गलैंचा, तयारी पोशाक, कुकुर बिरालाको आहार (डग च्यू), ऊनी फेल्टका सामान, ग्लासवेयर, पस्मिना सल, सारयुक्त तेल, संगीतका सामान, नेपाली हाते कागज तथा क्रिसमससम्बन्धी विविध सामान निर्यात हुँदै आएका छन् । यी वस्तुको मूल्य अभिवृद्धि दर उच्च छ । निर्यात ठप्प भए हजारौं रोजगारी ठप्प हुने चिन्ता सरोकारवालाको छ ।