१८ लाखमा बनेको भवन चुहिँदा पानी छेक्न जस्तापाता

जुम्ला– जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोटस्थित देउराली माविमा बनेको भवन केही महिनामै चुहिएको छ । गाउँपालिकाले गुणस्तरहीन भवन निर्माण गरेपछि चुहिन थालेको हो ।
भवन चुहिन थालेपछि ढलानमाथि पुरानो जस्तापाताले छापिएको छ । पानी छेक्न ढलानमाथि राखिएका जस्तापाताले गुणस्तरहीन संरचना बनेको स्पष्ट देखिन्छ । १२ कक्षासम्म अध्यापन हुने देउराली माविमा विद्यार्थीको संख्या पाँच सय छ । विद्यार्थी संख्याअनुसार कक्षाकोठा अभाव भएपछि भवन बनाइएको थियो ।
आर्थिक वर्ष २०७७–७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तिला गाउँपालिकाको १८ लाख लगानीमा देउराली माविको दुईकोठे पक्की भवन निर्माण गरिएको थियो । निर्माण सम्पन्न भएको केही महिनामै चुहिन थालेपछि ढलानमाथि जस्तापाता राखिएको स्थानीयले बताएका छन् । भवन निर्माण भएकै वर्षको बर्खामा पानी चुहिन थालेको हो ।
गुणस्तरहीन संरचना निर्माणले न राज्यको लगानी सदुपयोग भएको छ, नत बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाएका छन् । कक्षाकोठाको अभाव झेलिरहेका बालबालिकाले सहज रूपमा पठनपाठन गर्न पाउनुभन्दा भवन चुहिन थालेपछि जीर्ण भवनमै पढ्न बाध्य छन् ।
एकातिर कक्षाकोठा अभाव, अर्काेतिर लाखौं खर्चेर निर्माण गरिएको संरचना गुणस्तरहीन भएर चुहिने भएपछि विद्यार्थी र शिक्षकलाई समस्या भएको छ । ठेकेदारले चुहिन थालेको भवन मर्मत गर्ने भनिए पनि निर्माण भएको वर्षौं बित्दासम्म अलपत्र परेको छ । पानी चुहिने समस्याका विषयमा धेरै पटक गाउँपालिकाको बैठकमा कुरा राखिएको भए पनि सुनुवाइ भएको छैन ।
तिला गाउँपालिकाका प्राविधिक शाखा प्रमुख धनप्रसाद चौलागार्इंले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालयको भवन बनेको बताए । ‘त्यतिबेला चिसोले हो कि के हो चुहिने भएको रहेछ । गुनासो पहिला पनि आएको थियो,’ उनले भने, ‘समस्या आएपछि मर्मत गर्नुपर्छ भनेर ठेकेदारको धरौटी फिर्ता पनि गरिएको छैन ।’
तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले निर्माण भएका दुईवटै भवन चुहिने भएको बताइन् । ठेक्कामा निर्माण हुने भौतिक संरचना अनुगमनको जिम्मेवारी नहुँदा समस्या भएको उनको भनाइ छ । ‘विद्यालय भवन गुणस्तरहीन बन्नुमा प्राविधिक कर्मचारीको पनि कमजोरी देखिएको छ । कर्मचारीले बढी ख्याल गर्नुपर्ने हो तर गरेको देखिएन,’ उनले भनिन्, ‘यसमा ठेकेदार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र स्थानीय पनि उत्तिकै जिम्मेवार हुनुपर्ने देखिन्छ । काम गर्ने क्रममा सबै सरोकारवालाले ध्यान नदिँदा समस्या देखियो । मर्मतका लागि बजेट विनियोजन भएको छ । अब काम गर्ने तयारी गरिएको छ ।’