विराटनगरको एकीकृत जाँचचौकीको शुभारम्भ «

विराटनगरको एकीकृत जाँचचौकीको शुभारम्भ

दुई देशका प्रधानमन्त्रीले विराटनरमा रहेको एकीकृत भन्सार जाँच चौकी(आईसीपीको) भिडियो कन्फरेन्समार्फत आइसिपिको उद्घाटन गरेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा मंगलबार भिडियो कन्भेरेन्समार्फत आइसीपिको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । यसले दुई देशबीचको आयात निर्यातले सहज पुग्ने दुवै देशका प्रधानमन्त्रीले बताएका थिए ।
विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो ।
सन् २००५ मा नेपाल र भारत सरकारबीच दुवै देशका सिमानामा पर्ने वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्ज नाकामा आधुनिक एवम् सुविधासम्पन्न आईसीपी निर्माण गर्ने सहमति भएको थियो । वीरगञ्जको आईसीपी दुई वर्षअघि नै सञ्चालनमा आइसकेको छ । आइसीपीमा भन्सार, पशु क्वारेन्टाइनलगायत सीमा क्षेत्रमा हुने सरकारी सेवा एकै थलोबाट प्रदान गर्ने योजना छ । भारतको सहयोगमा विराटनगरको भन्सार जाँचपास सहजीकरणका लागि बनाइदिएको आईसीपी मंगलबारदेखि नेपालको स्वामित्वमा आएको छ ।
आईसीपी हाताभित्र पाँचवटा ठूला गोदाम, दुईवटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारी आवास भवन, उपचार केन्द्र, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आईसीपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना बनेका छन् । यस अघि नै वीरगन्जमा बनेको आईसीपी सञ्चालनमा आइसकेको छ ।
विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप घट्ने छ ।
 लक्ष्मी सापकोटा / रजनी श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्