Logo

वन कार्यालयबाट एक करोड २० लाख राजस्व

जुम्ला– डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको आठ महिनामा एक करोड २० लाख बढी राजस्व संकलन गरेको छ । गत वर्षको आठ महिनामा शून्य आम्दानी गरेको वन कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको दास्रो सातासम्म एक करोड २० लाख राजस्व संकलन गरेको हो ।

जडीबुटी तथा वन पैदावारको प्रचुर सम्भावना रहेको जुम्लामा वन कार्यालयको सक्रियाले यस वर्ष आम्दानी सन्तोषजनक भएको हो । जिल्लामा आयोजित सरोकारवालाको बैठकमा सार्वजनिक प्रगति प्रतिवेदनअनुसार वनको संरक्षण तथा विकास, पर्यटन पूर्वाधारअन्तर्गत पार्क निर्माण, पदमार्ग, मठ मन्दिरलगायतका पूर्वाधार निर्माण, वन संरक्षण, जडीबुटी प्रशोधन तथा प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको पाइएको छ ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढ्थापाले गत वर्ष शुन्य आम्दानी भएको कार्यालयमा यस वर्ष वन पैदावार तथा जडीबुटीबाट एक करोड २० लाख राजस्व संकलन भएको बताए । उनले भने,‘वन कार्यालयले वन पैदावार,जडीबुटीबाटै राजस्व संकलन गर्ने हो । गत वर्ष ‘वन व्यवस्थापन पञ्चवर्षीय कार्ययोजना निर्माण नभएकै कारण राजस्व संकलन हुन सकेन् । गत वर्ष आम्दानी वृद्धिमा प्रगति नदेखिनुमा पञ्चवर्षीय कार्ययोजना नबन्नु मुख्य बाधक हो ।’

साथै जिल्लामा अतिक्रमण बढिरहेको अवस्थामा ५ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएको, ४६ वनको नयाँ कार्ययोजना बनाइएको, २ वटा नयाँ सामुदायिक वन दर्ता भएको, ४० प्रतिशत वन क्षेत्रको संरक्षण, सदुपयोग तथा व्यवस्थापन गरिएको, प्रस्तावित गिडिखोला भलखोला फूलचौल्या सडकको वातावरणीय प्रभाव मूल्यांकन, वन्यजन्तुको उद्धारलगायतका काम गरिएको प्रमुख बुढ्थापाले बताए ।

कार्यालयमा चालु आवमा कार्यान्वयन हुने गरी कुल साढे ११ करोड बजेट विनियोजन भएको छ । चालुतर्फ ४ करोड ७१ लाख, पुँजीगततर्फ २ करोड ५५ लाख र संघीय समपूरक अनुदानतर्फ जडीबुटी प्रशोधनका लागि ४ करोड ३१ लाख रुपैयाँ गरी कूल ११ करोड ५८ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।

जुम्लाका सरोकारवालाले सामुदायिक वन, कबुलियती वन र राष्ट्रिय वनमा बढिरहेको अतिक्रमणलाई हटाउनेदेखि आम्दानी वृद्धिमा जोड दिनु पर्ने बताएका छन् । बैठकले ७ वटा निर्णय गर्दै वन क्षेत्रको अतिक्रमण हटाउन एकजुट हुनुपर्ने र वनलाई स्थानीयको आम्दानी वृद्धिसँग जोड्नु पर्ने विषयमा जोड दिइएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले अनियन्त्रित मानवीय गतिविधिले वन क्षेत्र माँसिदै गएको अवस्थामा ग्याँस चुलोको प्रयोगले आफै वन संरक्षण भइरहेको बताए । सामुदायिक वनको आम्दानी तथा खर्चमा लापरबाही भएको गुनासो बढिरहेकाले पनि त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गरे । जुम्लामा सामुदायिक वन २०६, कबुलियती वन १२७ र नीजि ६ वटा रहेका छन् । कबुलियती वन निकै निस्क्रीय रहेको छ ।

सामुदायिक वनमा उपभोक्ता समितिकै हालीमुहाली छ । वन पैदावार तथा जडीबुटीबाट हुने आम्दानीसँग युवा तथा अन्य सर्वसाधारणलाई ध्यान दिई ठोस नीति बनाउनु पर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईले बताए । डिभिजन वन कार्यालयले पर्यटन पूर्वाधारअन्तर्गत पार्क निर्माण, पदमार्ग, मठ मन्दिरलगायतका पूर्वाधार निर्माण, वन संरक्षण, जडीबुटी प्रशोधन तथा प्रवर्द्धनका कामलाई पारदर्शी बनाउनु पर्ने सुझाव दिएका छन् ।

वन क्षेत्रमा भएको अतिक्रमण हटाउन सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी अतिक्रमित क्षेत्रको लगत तयार गर्ने, वन डढेलो नियन्त्रण तथा रोकथाम गर्ने, वन पैदावार र वन्यजन्तुको चोरी शिकारी नियन्त्रण गर्ने, ओखरको इरो, देवदारको तेल र ढटेलोको तेलको राजस्व वन नियमावलीमा समावेश गराउने, वन पैदावारमा आधारित उद्योगहरूको प्रभावकारी अनुगमन गर्ने विषयलाई प्राथमिकता दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्