फोरजी प्रयोगकर्ता २ करोड ५१ लाख

काठमाडौं– नेपालमा फोरजी सेवा प्रयोगकर्ता २ करोड ५१ लाख पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार माघ मसान्तसम्म नेपाल टेलिकमका १ करोड ३३ लाख र एनसेलका १ करोड १८ लाख गरी २ करोड ५१ लाख फोरजी सेवा प्रयोगकर्ता पुगेका हुन् । नेपालमा दुई सेवा प्रदायकले मात्रै फोरजी सेवा दिंदै आएका छन् ।
असार २०८१ सम्ममा दुई करोड २२ लाख फोरजी ग्राहक थिए भने माघ २०८१ सम्ममा यो संख्या बढेर दुई करोड ५१ लाख पुगेको छ । जुन कुल जनसंख्याको ८६.४० प्रतिशत हुन आउँछ । चालु आर्थिक वर्षको ७ महिनामा मात्रै साढे २९ लाख बढी फोरजी ग्राहक थपिएका छन् । इन्टरनेट सेवा प्रदायक कम्पनी तथा एनसेलको थ्रिजी, फोरजी, नेपाल टेलिकमको एडिएसएल, एफटीटीएच, थ्रिजी, फोरजी वाईफाईलगायत गरी २ करोड ९१ लाख ७९ हजार ८८५ मा इन्टरनेट सेवा प्रयोगकर्ता छन् ।
प्रतिवेदन अनुसार दूरसञ्चार बजारमा नेपाल टेलिकमको हिस्सा खुम्चिएको छ । सिम सब्सक्रिप्सनको आधारमा हाल टेलिकमको बजार हिस्सा ५४.२० प्रतिशत रहेको छ भने एनसेलको ४५.८० प्रतिशत हिस्सा छ । यसअघि गत असारमा नेपाल टेलिकमको बजार हिस्सा ६३.५५ प्रतिशत रहँदा एनसेलको हिस्सा ३६.४५ प्रतिशत रहेको थियो । फोरजी सेवा आधुनिक दूरसञ्चार प्रविधि हो । जसले उच्च गतिको इन्टरनेट तथा स्थिर नेटवर्क प्रदान गर्छ ।
यसले तेस्रो पुस्ताअर्थात् थ्रिजीको तुलनामा धेरै तीव्र इन्टरनेट गति उपलब्ध गराउँछ । जसले गर्दा भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, र फाइल डाउनलोड/अपलोड सहज र छिटो हुन्छ । साथै, भ्याइस ओभर एलटीई (भीओएलटीई) प्रविधि भएकाले आवाज स्पष्ट र गुणस्तरीय मानिन्छ । फोरजी सेवाले उच्च गुणस्तरको भिडियो कलको सुविधा प्रदान गर्ने भएकाले अनलाइन मिटिङ, कक्षा, तथा व्यावसायिक कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ ।
इन्टरनेट ब्राउजिङ छिटो हुने भएकाले अनलाइन कार्यहरू सहज बन्छन् र ग्रामीण तथा सहरी दुवै क्षेत्रमा यसको राम्रो पहुँच रहेको छ । साथै, स्मार्ट उपकरणहरू तथा आईओटी प्रविधिसँग राम्रो समन्वय हुने भएकाले स्मार्ट होम तथा स्मार्ट सिटी जस्ता प्रविधिहरूलाई सहज रूपमा सञ्चालन गर्न सकिन्छ । यी विशेषताहरूका कारण फोरजी सेवा हालको डिजिटल युगमा अत्यन्त आवश्यक र प्रभावकारी प्रविधि बनेको छ । अब नेपालमा भने फाइभजी प्रविधिको व्यावसायिक विस्तारका लागि ढिला भइसकेको सरोकारवाला बताउँछन् ।
यता नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण पनि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउन तयार रहेको अध्यक्ष भुपेन्द्र भण्डारीले बताएका छन् । तर सेवा प्रदायक कम्पनीहरूले ठुलो लगानी फाइभजीमा लगानी गर्नुपर्ने भएकोले केही समय अझ लाग्ने बताउँदै आएका छन् । यसअघि परीक्षण अवधिका लागि अनुमति पाइसकेको नेपाल टेलिकमले पनि व्यावसायिक रूपमा अगाडि बढ्न सकेको छैन । फोरजी र फाइभजी सेवा डेटामा आधारित पछिल्ला दूरसञ्चार सेवा हुन ।
यता, फिक्स्ड ब्रोडब्यान्डमा फाइबर टु द होम (एफटीटीएच)को बजार बढ्दो छ । माघ मसान्तसम्म नेपालमा फाइबर इन्टरनेट सेवामा ३० लाख २९ हजार ४२६ ग्राहक १०.३९ प्रतिशत जोडिएका छन् । सात महिनाको अवधिमा फाइबर इन्टरनेटमा दुई लाख २४ हजार बढी ग्राहक थपिएका छन् । एफटीटीएच बजारमा ३१.७८ प्रतिशत हिस्सासहित वल्र्डलिंक कम्युनिकेसन्स अग्रस्थानमा छ ।
दोस्रो स्थानमा नेपाल टेलिकम छ । माघ मसान्तसम्मको तथ्याङ्कअनुसार कुल एफटीटीएच ग्राहकमध्ये ११.४३ प्रतिशत टेलिकमको छ । टेलिकमलाई डिश मिडिया नेटवर्कले पछ्याइरहेको छ । अन्य प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमा सुबिसु केबलनेट, भायानेट कम्युनिकेसन्स, क्लासिकटेक, वेबसर्फरलगायत छन् ।