एनएमबि बैंकको सीईओमा घिमिरे

काठमाडाैं– एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो ।
हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल यही फागुन मसान्तमा सकिँदैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को व्यवस्था अनुसार एउटै व्यक्तिलाई २ कार्यकाल भन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन । सुनिल केसीले २ कार्यकाल पूरा गरेर बिदा हुने भएपछि घिमिरेलाई बैंकले सीईओमा नियुक्त गरेको हो ।
घिमिरे सन् २००९ देखि बैंकमा आबद्ध छन् । १९९५ मा नेपाल बंगलादेश बैंकबाट करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् । उनी ब्रान्च बैंकिङ र कर्जा बैंकिङमा विशेषज्ञ बैंकरको रुपमा चिनिन्छन् । उनी एनएमबी बैंकमा २०७९ असोज ११ देखि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।
बैंकको सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिस्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ । उपाध्याय पनि घिमिरेसँगै २०७९ असोज ११ गते नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका थिए । उपाध्याय विगत ९ वर्षदेखि एनएमबि बैंकमा कार्यरत छन् ।