Logo

पुरुष कमाउन प्रदेशतिर

विकासको जिम्मा महिलाको काँधमा

जुम्ला– सिंजा क्षेत्रका पुरुष धन कमाउन प्रदेशमा गएपछि गाउँमा हुने विकास निर्माणको जिम्मेवारी महिलाको काँधमा आएको छ । हिउँदको सिजनल व्यापारका लागि अधिकांश पुरुष भारत भएपछि सिंजाका महिला विकास निर्माणमा सक्रिय भएका छन् । पालिकाबाट गाउँमा छनोट भएका कुनै पनि आयोजना निर्माण गर्ने जिम्मेवारी महिलाकै काँध आएको देखिन्छ । गाउँ पुरुषविहीन छन् । हिउँदमा हुने सबै विकास निर्माणका काम महिलाकै भरमा सञ्चालन हुन्छन् ।

हिमा गाउँपालिका सुस्वा परियोजना संयोजक सुमिता शाही भन्छिन्, ‘दसैं तिहार मनाएलगत्तै सिंजा क्षेत्रका अधिकांश पुरुष गाउँ रित्तो बनाएर भारततर्फ लाग्छन् । गाउँमा विकास निर्माणदेखि दु:खी विरामी हुँदासमेत महिलाकै भर हुन्छ । हाल हिमा गाउँपालिका–२ कोइरेलीका महिला भने गाउँको खानेपानी आयोजना निर्माणमा सक्रिय छन् । त्यहाँ काम गर्ने कोही पनि पुरुष छैनन् ।’ गाउँमा खानेपानी आयोजना निर्माण सम्पन्न गर्न हिमाका महिला सब्बल, घन उठाउनदेखि बिल्छया लगाउन तयार छन् ।

पुरुषको भरपरेको खण्डमा आयोजना पछि धकेलिने र महिलाकै सहारामा आयोजना निर्माण गर्नुपर्ने बाध्यता रहेको शाहीले उल्लेख गरिन् । अन्य गाउँमा एक घर एक धारा पुगिरहेको अवस्थामा कोइरेली गाउँ वर्षौंदेखि खानेपानी अभाव झेलिरहेको छ । खानेपानी अभावको समस्याबाट गाउँलाई मुक्त गर्न खानेपानी आयोजना निर्माणमा महिला सक्रिय भएका हुन् । पुरुष आउलान र योजना निर्माण गराैंला भन्ने सोच राखियो भने आयोजना सम्पन्न हुन वर्षौं लाग्न सक्छ ।

कोइरेलीका स्थानीय महिला मनकोईरा बुढा भन्छिन्, ‘गाउँमा पानी नहुँदाको दु:ख महिलाले नै भोगेका छौं । गाउँमा पुरुष नभएपछि योजना बनाउने जिम्मा पनि हाम्रो काँधमा आएको छ । घरधन्दामा सीमित महिलाले विकास निर्माण गर्न सक्दैनन् भन्ने भ्रम पनि चिर्ने अवसर हो । हामीले सधै महिलामात्रै जुटेर आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।’ सिंजा क्षेत्रका पुरुष नयाँ वर्ष मनाउने गरी मात्रै आउँछन् । पुस माघको चिसो छिचोल्दै कोइरेलीका महिलाले खानेपानी आयोजना निर्माणको कामलाई निरन्तरता दिएका थिए । अहिले उक्त योजना सम्पन्न हुने चरणमा पुगेको छ ।

गाउँको विकास निर्माणमा महिला सक्रिय देखेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले खुसी व्यक्त गरेका छन् । महिलाले कुनै पनि आयोजना निर्माण गर्ने जिम्मेवारी नै समाल्नु सुखद कुरा हो । महिला सक्षम छन् भन्ने उदाहरण पनि हो । कोइरेली महिलाले देखाएको उदाहरण सबैका लागि प्रेरणा बन्न सक्छ । अब पालिकाले विकास निर्माणदेखि नेतृत्वदायी भूमिका पनि महिलालाई प्राथमिकता दिन्छ ।’ विकास निर्माणमा सक्रिय महिलाले आयोजना सम्पन्न गर्न महिला सक्षम छन् भन्ने मात्र सन्देश दिएका छैनन्, काम गरेर आयआर्जन गरेर आत्मनिर्भर हुनसक्छन् भन्ने सन्देश प्रवाह गरेका छन् ।

विगतमा श्रीमान्ले पैसा नपठाई नुन तेल लुगा फाटो गर्न मुस्किल हुने महिला अहिले योजनाको काम गरेर आएको पैसाबाट घर खर्चसमेत गर्न थालेका छन् । कोइरेली गाउँका ४४ घरधुरी र हिमा आधारभूत विद्यालयमा धारा निर्माण गर्ने खानेपानी आयोजना निर्माण भइरहेको छ । साथै खेर गएको खानेपानीलाई सदुपयोग गर्न बहुउपयोगीका लागि दुईवटा सिँचाइ पोखरी निर्माण गर्ने, त्यसबाट स्याउ बगैंचादेखि कोशेवालीमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

सुस्वा आयोजनाद्वारा खेर गएको पानी सदुपयोग गर्ने बहुउपयोगी आयोजना बन्न लागेको पहिलो हो । कोइरेली गाउँका महिलाले निर्माण गरिरहेको कोइरेली खानेपानी तथा सरसफाइ योजनाको कुल लागत ६७ लाख ९७ हजार रहेको छ । जसमध्ये हिमा गाउँपालिकाले भने ५४ लाख ६६ हजार र उपभोक्ताको श्रमदानसहित १३ लाख ३१ हजार गरी करिब ६८ लाख लागतमा महिलाकै नेतृत्वबाट खानेपानी आयोजना निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्