Logo

रोजगारी खोज्दै विदेशिने महिला १३ प्रतिशत

काठमाडौं– पछिल्लो समय महिलाहरु वैदेशिक रोजगारीमा जाने क्रम वृद्धि भएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पाँच वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने महिलाको संख्या वर्षेनी वृद्धि भएको देखाएको हो ।

वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच वर्षअघि ५ प्रतिशत रहेकोमा अहिले १३ प्रतिशतको हाराहारीमा पुगेको छ । यो संख्या पुनः श्रमस्वीकृति लिने महिला बाहेकको हो । समग्र श्रमस्वीकृतिको हिस्सा भने ११ प्रतिशत रहेको छ । अघिल्लो आवमा नयाँ श्रमस्वीकृति लिएर जाने महिला र पुरुषको संख्या ४ लाख ८४ हजार २२४ हुँदा महिलाको हिस्सा १०.८२ प्रतिशत अर्थात् ५३ हजार ५०० रहेकोमा गत आवमा दुवै गरेर ४ लाख ६० हजार १०२ रहेकोमा महिलाको हिस्सा १२.८४ प्रतिशत अर्थात् संख्या ५९ हजार ५५७ थियो ।

सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रुपमा जाने महिलाको श्रमस्वीकृति रोक्का गरे पनि पछिल्ला ५ वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रमस्वीकृति लिएका छन् । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रुपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि बीचमा विदेश जाने महिलाको संख्या घट्दै गएको थियो ।

विगत ५ वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ७ प्रतिशतले वृद्धि भएर गत वर्षसम्म आइपुग्दा सबै श्रमस्वीकृतिमा ११ प्रतिशत र नयाँ श्रमस्वीकृतिमा लगभग १३ प्रतिशत पुगेको छ । ५ वर्षअघि विदेश जाने नेपालीमध्ये ५ प्रतिशतमात्र महिलाको हिस्सा थियो । विदेशिने महिलाको संख्या प्रतिवर्ष १-१ प्रतिशतका दरले वृद्धि भएको देखिन्छ ।

गत आवमा पुनः श्रमस्वीकृति सहित ७ लाख ४१ हजार श्रमिक विदेशिएकोमा महिलाको संख्या १०.९३ प्रतिशत अर्थात् ८१ हजार १७२ रहेको विभागको तथ्यांक छ । नेपालले औपचारिक रूपमा १११ देश वैदेशिक राजगारीका लागि खुला गरेको छ । अधिकांश महिला केयरटेकर, नर्स र घरेलु कामदारका रुपमा यूएई, कतार, साउदी अरेबिया, कुवेत, साइप्रस, जोर्डनजस्ता गन्तव्य मुलुकमा जाने गरेका छन् ।

कोभिड संक्रमणअघि २०७४–७५ मा ३२ हजार ९६४ महिलाले विदेश जान श्रमस्वीकृति लिएकोमा गत आवमा यो संख्या ८१ हजार पुगेको छ । महिलासहित समग्र श्रमिकले लिने श्रमस्वीकृति बढेको देखिएको छ । विभागका निर्देशक लोकनाथ भुसालले रोजगारीका अवसर बढेसँगै यूएई, कतार, कुबेत, साइप्रस, मलेसिया तथा सरकारी तवरबाट कोरिया तथा इजरायल जान श्रमस्वीकृति लिनेको संख्या बढेको बताए । ‘पछिल्लो समय स्वदेशमा मात्र हैन, वैदेशिक रोजगारीमा जाने महिलाको संख्या वृद्धि भएर लगभग १३ प्रतिशत पुगेको छ,’ भुसालले भने, ‘घरभित्र सीमित भएका महिला अब वैदेशिक रोजगारीको अवसर पाएर विदेश जान थालेको देखिन्छ ।’

वैदेशिक रोजगारीका लागि १११ वटा देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, यूएई र कुवेत संस्थागत वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेको देखिन्छ । त्यसमा पनि यूएई र कतारले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको पाइन्छ । तर, संस्थागत (मेनपावर) बाट वैदेशिक रोजगारीमा जानेमध्ये महिलाको अनुपात ३ प्रतिशतभन्दा कम छ ।

वैदेशिक रोजगारीमा जाने कुल संख्या हेर्दा अधिकांश तराईका जिल्लाहरू र त्यसमा पनि मधेशको बाहुल्य भए पनि महिला श्रम आप्रवासनको प्रकृति भने फरक रहेको छ । वैदेशिक रोजगारीमा जाने महिलाहरूको कुल संख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेर मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाहरू बाहेक बागमती प्रदेशका पहाडी जिल्लाको बाहुल्य रहेको छ । यसले मिश्रित समाज वा जनजाति बाहुल्य क्षेत्रका महिलाहरू नै वैदेशिक रोजगारीमा गएको अवस्था देखिन्छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडौंका महिला गएका छन् ।

प्रतिक्रिया दिनुहोस्