एउटै वडामा ६ अर्ब लगानीमा ३०.५ मेगावाट क्षमताका तीन आयोजना बन्दै

दोलखा– दोलखाको विगू गाउँपालिका–८ मा तीन जलविद्युत आयोजना एकैसाथ निर्माणाधिन अवस्थामा छन् । तीनवटै आयोजनाले ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राखेर काम गरिरहेका छन् ।
विगू गाउँपालिका–८ को पूर्वतिर साँघु खोलाबाट पानी ल्याएर हिमपर्वत हाइड्रोपावर कम्पनीले दुईवटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही वडाको पश्चिमतिरबाट बग्ने साँघु खोलाको पानी फर्काएर विद्युत उत्पादन हुनेछ । साँघु खोलालाई कालिञ्चोक खोला र तामाकोसी पनि भन्ने गरिन्छ । यो कालिञ्चोक गाउँपालिकाको सिमाना हुँदै बग्ने खोला हो ।
हिमपर्वत हाइड्रोपावरले २० मेगावाटको साँघु खोला र ५.५ मेगावाटको साँघु खोला–१ आयोजना निर्माण गरिरहेको छ । साविक आलम्पू गाविस र चिलंखा गाविसको बीच भएर बग्ने साँघु खोला र चिलंखातिरबाट आउने स्याँखू खोलाको दोभानभन्दा ३ सय मिटरमाथि बाँध बाँधेर पानी फर्काई पेगू दोभानमा खसालेर ५.५ मेगावाट विद्युत उत्पादन गर्ने गरी एउटा आयोजना निर्माण गरिएको छ । आयोजनाको बाँधमा स्याँखू खोलाको पानीसमेत फर्काएर मिसाउने योजना छ ।
यो आयोजनाको १४९ मिटर ग्रस हेड रहेको छ भने पेनस्टक पाइप २ हजार ३१२ मिटरमध्ये जडानको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको हेड वक्र्सको काम पूरा भएको छ । विद्युत गृहमा उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगेको छ । विद्युत जोड्नका लागि स्वीच यार्डको काम डेढ महिनाभित्र पूरा गरेपछि नयाँ वर्षसँगै विद्युत परीक्षण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख सुनिल रेग्मीले जानकारी दिए । विद्युत प्रसारणका लागि पेगू दोभानदेखि सोरुङ खोलासम्म ३३ केभी डबल सर्किट प्रसारणलाइन निर्माण पनि जारी छ ।

पेगू दोभानमा विद्युत गृहबाट निस्केको पानीलाई सोझै पेनस्टकबाट २० मेगावाटको साँघु खोला जलविद्युत आयोजनाको हेडपोनमा हालिएको छ । साँघु खोला र पेगू खोलाको दोभानमा पेगू खोलाको पानीलाई फर्काएर बालुवा थिग्रयाउने पोखरीबाट दुवै खोलाको पानी मिसाएर पेनस्टक पाइपबाट सोरुङ खोलामा ल्याएर विद्युत उत्पादन हुनेछ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ । यो आयोजनाको ५ हजार ८१० मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेमा ४ हजार ७ सय २० मिटर जडान पूरा भइसकेको आयोजना प्रमुख रेग्मीले जानकारी दिए । सोरुङ खोलामा विद्युत गृह पूरा गरी उपकरण जडान र स्वीच यार्ड निर्माणसमेत जारी छ ।
विगू गाउँपालिका–८ मा निर्माणाधिन तीनवटै आयोजनाको विद्युत जोड्न मिल्ने गरी स्वीच यार्ड निर्माण भइरहेको छ । यहाँ भविष्यमा निर्माण हुने जलविद्युत आयोजनालाई समेत लक्षित गरी स्वीच यार्ड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको ८ किमी टाढा रहेको सिंगटी सबस्टेशनमा जोडिनेछ । सोरुङ खोलादेखि सिंगटीसम्म १३२ केभीको २५ वटा टावर निर्माण गरी लाइन तान्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
आयोजना निर्माणमा खटिएका हिमपर्वत हाइड्रोपावरका इञ्जिनियर प्रविण घिमिरेका अनुसार दुवै आयोजनाको सबै काम समानान्तर गतिमा भइरहेको छ । ५.५ मेगावाटको काम अन्तिम चरणमा पुगेकाले नयाँ वर्षसँगै विद्युत राष्ट्रिय प्रसारणमा जोडिने उनले दाबी गरे । २० मेगावाटको दोस्रो आयोजना पनि २०८२ साउन अन्तिमसम्म पूरा हुने उनले जानकारी दिए ।
दुवै आयोजनाको निर्माण सिभिलतर्फ मस्तिङ हिमाली जेभी, इलेक्ट्रोमेकानिकलमा फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानिकलमा डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइनको काम सम्प्रधा ट्रेडिङ प्रालिले गरिरहेका छन् ।
हिपर्वतले निर्माण गरिरहेको २० मेगावाटका आयोजनाको लागत ३ अर्ब ९० करोड रहेको छ भने ५.५ मेगावाटको आयोजनाका लागि १ अर्ब ५ करोड लागत अनुमान गरिएको छ । दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र माछापुच्छ«े बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपुँजी लगानी ७०:३० को अनुपातमा छ । हिमपर्ततका यी आयोजनामा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले ३९ करोड स्वपुँजी लगानी गरेको छ ।
हिमपर्वतले ४२ करोड रुपैयाँबराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । सम्झौताअनुसार १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
कालिञ्चोक हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ५ मेगावाटको जलविद्युत आयोजनाको पनि विद्युत गृह सोरुङ खोलामै निर्माणाधिन छ । २० मेगावाट र ५ मेगावाटका दुई आयोजनाको बीचमा स्वीच यार्ड निर्माण हुनेछ । थामीचागू र कालिञ्चोक गाउँपालिका–१ को बीचको खोला फर्काएर पानी सोरुङ खोलासम्म ल्याउन ४ हजार ५ सय मिटर पेनस्टक पाइप जडान हुनेछ । यो आयोजना विगू–८ को पश्चिमतिरबाट वहने खोलाको पानी फर्काएर विद्युत उत्पादन गर्ने हो ।
कालिञ्चोक हाइड्रोपावरकी अध्यक्ष इन्दिरा पन्तले आउँदो वर्षाअघि नै आयोजनाबाट विद्युत उत्पादन गर्ने गरी काम जारी रहेको जानकारी दिइन् । पाइपलाइनका लागि सडक निर्माण थामीचागूको भीरबाटै गर्नुपर्ने भएकाले केही कठिन र ढिला भए पनि अब सडक निर्माणको काम सकिन लागेकाले कामले तिव्रता पाउने उनले बताइन् । उनका अनुसार हेड वक्र्सको बाँध, इन्टेक र डिस्यान्डरको काम पूरा भएको छ । विद्युत गृहको काम पनि एक महिनाभित्रै पूरा गरेर उपकरण जडानको काम सुरु हुने उनले बताइन् । विद्युत गृहका उपकरण साइटमा ढुवानी भइसकेको छ । तीन हजार मिटर पाइप जडान र विद्युत गृहका उपकरण जडानको काम भएकाले जटिल कामहरु पूरा भएको उनले बताइन् । ३२५ मिटर ग्रस हेड रहेको आयोजनाको एक अर्ब लागत अनुमान गरिएको छ ।
आयोजना प्रभावितसहित सर्वसाधरणका लागि सेयर जारी गर्नका लागि आरबिबी मर्चेन्ट र कालिञ्चोक हाइड्रोपावरबीच सम्झौता भएर धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । कालिञ्चोक हाइड्रोपावरको ६ लाख कित्ता साधारण सेयर निष्कासन हुनेछ । विगू गाउँपालिकाका पूर्वअध्यक्ष युधिष्ठिर खड्काले जलविद्युत आयोजना निर्माणले स्थानीय स्रोतको सदुपयोग हुनुका साथै सीप प्रवद्र्धन र स्थानीयलाई रोजगारीको समेत अवसर भएको बताए ।