लक्ष्मी सनराइज बैंकको अगुवाइमा कालीगण्डकी गर्ज जलविद्युत् आयोजनामा लगानी सम्झौता

काठमाडौं- लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच मुस्ताङ तथा म्याग्दीमा अवस्थित कालीगण्डकी नदीमा निर्माण हुने १ सय ८० मेगावाट क्षमताको ‘कालीगण्डकी गर्ज जलविद्युत आयोजना’ मा लगानी गर्ने सम्झौता भएको छ ।
यस आयोजनाको कुल लागत ३९ अर्ब ५० करोड २४ लाख रुपैयाँ बराबर छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । आयोजनाले २७ फागुन २०७५ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति लिनुका साथै १७ फागुन २०७९ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको मुख्य प्रवर्द्धकका रूपमा संघई ग्रुप, विशाल ग्रुप तथा ज्ञानेन्द्रलाल प्रधान छन् ।
परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंक नेतृत्वको सहवित्तीयकरणमा सहभागी बैंकले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५ प्रतिशत रकम उक्त कम्पनीका संस्थापक तथा सर्वसाधारणबाट लगानी हुनेछ । लक्ष्मी सनराइजको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ९ अर्ब रहेको छ भने सह–अगुवा बैंकहरूका रूपमा रहेका ग्लोबल आईएमई बैंकको ७ अर्ब १२ करोड ६० लाख र सिद्धार्थ बैंकको ५ अर्ब रुपैयाँ छ ।
अन्य सहभागी बैंकहरू हिमालयन बैंकको ३ अर्ब, नेपाल एसबीआई बैंकको ३ अर्ब र एभरेस्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँ समेत गरी कुल प्रोजेक्ट फाइनान्स २९ अर्ब ६२ करोड ६० लाख रुपैयाँ छ । यो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपछि वार्षिक करिब १ हजार ५६ मेगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुका साथै ठूलो स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकका रूपमा रहने छ ।