शिलिचोङ साक्षर घोषणा

संखुवासभा-साक्षर नेपाल वर्ष २०७६ घोषणाअन्तर्गत संखुवासभाको शिलिचोङ गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको छ ।
नेपाल सरकारले सबै जिल्लालाई साक्षर घोषणा गर्दै देशलाई नै साक्षर घोषणा गर्ने कार्यक्रमअन्तर्गत शिलिचोङ गाउँपालिकालाई आइतबार एक कार्यक्रमका गरी साक्षर गाउँपालिका घोषणा गरिएको हो । शिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङको सभापतित्व र साक्षरता अभियान जिल्ला संयोजक तथा जिल्ला समन्वय प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यतामा साक्षर गाउँपालिका घोषणा गरिएको हो ।
कार्यक्रममा शिलिचोङ गाउँपालिकाका राजनीतिक दल, शिक्षक, विद्यार्थी अभिभावक र स्थानीयको उपस्थिति थियो । कार्यक्रममा शिलिचोङ गाउँपालिकाका अध्यक्ष राम कुलुङले अत्यन्तै पिछडिएको क्षेत्र भएकाले शिक्षा क्षेत्रको उन्नतिबाट मात्र दिगो विकास सम्भव हुने धारणा राखेका थिए ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुलुङले शैक्षिक क्षेत्रको विकासबिना कुनै पनि विकास कार्य निरर्थक हुने भएकाले शिक्षा प्राप्त गर्ने अवसरलाई सहज र प्रभावकारी बनाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै ई–हाजिरी सिस्टम लागू गरिएको जानकारी दिए । उनले शिलिचोङ गाउँपालिकाका ९५ प्रतिशत जनता साक्षर भएको भन्दै बाँकी ५ प्रतिशतलाई बढाएर १ सय प्रतिशत पु-याउन गाउँपालिका लागिपर्ने प्रतिबद्धतासमेत जनाए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख सुमन शाक्यले शिक्षा नै समग्र विकासको आधार भएको भन्दै जिल्लालाई साक्षर घोषणा गरेरमात्र नहुने भएकाले यसलाई दिगो रूपमा साक्षर बनाई राख्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए । शिक्षा क्षेत्रमा लगानी बढाई शिक्षाको गुणस्तर र शिक्षामा सबैको सहज पहुँच बढाउन स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।