सेयर बजारबारे लगानीकर्तालाई साक्षरता

जुम्ला– जुम्लामा पहिलो पटक नेपाल धितोपत्र बोर्डले सेयर बजारबारे लगानीकर्तालाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । पछिल्लो समय सेयर बजार प्रति आर्कषण बढेपनि साक्षरता अभावले अन्यौलता सिर्जना भएपछि बोर्डले वित्तीय साक्षरता सञ्चालन गरेको हो ।
पुँजी बजारलाई व्यवस्थित गर्न, साना तथा ठूला लगानीकर्ताको हक हित संरक्षण तथा पुँजी बजारको विकासमा टेवा पुराउने उद्देश्यले कर्णालीका जिल्ला जिल्लामा पुगेर धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता साक्षरता तथा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको छ ।
कार्यक्रममा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले शैक्षिक रुपमा नागरिक साक्षर भएपनि सेयर बजारबारे अन्यौलता धेरै भएको हुँदा वित्तीय साक्षरता आबश्यक रहेको बताए । अझ ग्रामीण भेगका लगानीकर्ता वित्तीय साक्षरताको पहुँचमा छैनन् । सेयर आवेदन भर्नेदेखि खरिद विक्री लगायतका पक्षमा उस्तै समस्या छ ।
‘जुम्लामा ठूला लगानीकर्ता नभएपनि साना लगानीकर्ताको लगानी जोखिममा पर्न नदिन साक्षरता आवश्यक छ’ उनले भने, ‘नेप्से परिसूचक,धितोपत्र बजार,लगानीकर्ताको सुरक्षा,वस्तु विनिमयलगायतका विषयमा जानकारी गराउन पनि जोड दिएका छाैं ।’ पछिल्लो समयमा राम्ररी नबुझेर हचुवामा लगानी गर्ने प्रचलन बढेकाले धितोपत्र बोर्डले जिल्ला जिल्लामा पुगेर साक्षारताका कार्यक्रम गरिरहेको उल्लेख गरे । पुँजी बजार र मुद्रा बजारबारे व्यापक जनचेतना अभिवृद्धि हुनु पर्ने उल्लेख गरे ।
जुम्लाका दिपेन्द्र विक्रम हमालले २०७२ सालमै ब्रोकरको शाखा लिन खोजेपनि प्रक्रिया झन्झटले हुन शाखा खोल्न नसकेको बताए । उनले केही ठूला व्यापारीको हातमा सेयर बजार रहेको भन्दै उनले यसले साना लगानीकर्ता मारमा परेको र धितोपत्र बोर्डले साना लगानीकर्ताको वकालत गर्न नसकेको गुनासो गरे ।