Logo

सरकारी स्वास्थ्य संस्था औषधिबिहीन

पर्वत– पर्वतको कुश्मा नगरपालिकाका स्वास्थ्य संस्थाहरु विगत चार महिनादेखि औषधिबिहीन बनेका छन् । नगरपालिकाले समयमै औषधी खरिद गर्न नसक्दा सर्वसाधारण सरकारले वितरण गर्ने ९८ प्रकारका औषधीबाट बञ्चित बनेका हुन् । चालु आर्थिक वर्ष विसं २०८१/०८२ का लागि औषधी खरिद गर्न नगरसभाबाट बजेट पारित भएपनि जनप्रतिनिधि र स्वास्थ्य सेवाका कर्मचारीको लापरबाहीका कारण आठ महिनासम्म औषधी खरिद नगरिएको हो ।

सर्वसाधारणलाई नि:शुल्क वितरण गर्नुपर्ने औषधीको अभाव भएको चार महिना बितिसक्दासमेत खरिद गर्ने तयारी गरिएको छैन । औषधी खरिदका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त सशर्त रकम १६ लाख र नगरपालिकाको निशर्त ८ लाख गरी २४ लाख रुपैयाँ रहेको छ । बजेट अभावले नभर्ई खरिद प्रक्रिया ढिलो भएको कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाकी सिनियर अनमी दुर्गा सापकोटाले बताइन् ।

विगतका वर्षहरुमा पनि औषधी अभाव र म्याद नाघेका औषधी भेटिने गरेको कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिक रित्तो हात फर्किन बाध्य भएका छन् । सामान्यदेखि जटिल र दीर्घ रोगीहरु समेत नि:शुल्क औषधी पाइने आशमा स्वास्थ्य संथामा आउने गरेपनि रित्तो हात फर्काउनुपरेको कुश्मा नगरपालिका–१२ ठूली पोखरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए ।

वडा नं. १४ मा रहेको आर्थर डाडाँखर्क स्वास्थ्य चौकी प्रमुख चन्द्रकान्त गौतमले नि:शुल्क उपलब्ध गराउनुपर्ने औषधी नहुँदा सर्वसाधारण बिरामीलाई रित्तो हात फर्काउनु पर्ने अवस्था रहेको गुनासो गरे । नि:शुल्क दिनुपर्ने औषधि नहुँदा समस्या रहेको गुनासो गर्दै उनले भने, ‘चार महिनासम्म पनि खरिद गरेर पठाउन नसक्नु नगरपालिकाको कमजोरी हो ।’

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमप्रसाद शर्माले औषधी खरिदमा ढिलाई भएकोले समयमै स्वास्थ्य संस्थामा पठाउन नसकिएको बताए । उनले नगर सभा हुन ढिलाई भएका कारण खरिद प्रक्रियासमेत लम्बिएको बताए । ‘असार १० गते सम्पन्न हुनुपर्ने नगरसभा असोजको १० गते भयो, नगरसभा तीन महिना ढिलाई हुँदा औषधी खरीद गर्न ढिलाई भएको हो’ उनले भने, ‘अब एक महिना भित्रमा सवै स्वास्थ्य संस्थामा औषधी पुर्‍याउन सकिन्छ ।’

कुश्मा नगरपालिकामा नौ वटा स्वास्थ्य चौकी, एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, तीनवटा आधारभूत स्वास्थ्य केन्द्र र चार वटा सहरी स्वास्थ्य केन्द्र गरी १७ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । यी स्वास्थ्य संस्थाबाट वर्षेनी खोप सेवा, गर्भवती परीक्षण, परिवार नियोजन, सुरक्षित गर्भपतन सेवालगायत सञ्चालन हुँदै आएका छन् ।

यतिखेर मौसमी रुखाखोकी भाइरल ज्वरोको संक्रमणका कारण बजार तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेपनि औषधीको अभावले प्रभावकारी सेवा दिन नसकिएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । सामान्य औषधी खरिदका लागिसमेत सर्वसाधारण सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्