गैरसरकारी संघसंस्थाको सक्रियतामा कमी «

गैरसरकारी संघसंस्थाको सक्रियतामा कमी

डडेल्धुरा- कुनै समय एनजीओ आईएनजीओको जिल्ला भनेर चिनिने डडेल्धुरामा अहिले गैरसरकारी संघसंस्थाको सक्रियतामा कमी हुँदै जान थालेको छ । जिल्ला प्रशासन कार्यालय र गैरसरकारी संस्था महासंघमा दर्ता भएका संघसंस्थाहरू नवीकरण हुन छाडेपछि कमी हुँदै गएको आभास भएको हो ।
आव ०६०-६५ तिर पाँच सय बढी एनजीओ-आईएनजीओ रहेको डडेल्धुरामा अहिले डेढ दर्जनमा खुम्चिएको गैसस महासंघ डडेल्धुराले जनाएको छ । संस्थाहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता भए पनि नीवकरण नगर्ने र सक्रिया नहुँदा ह्वात्तै घटेको महासंघले जनाएको छ । गैसस महासंघ डडेल्धुराको १२औं साधारणसभामा गत र यस वर्ष १९ वटा संघसंस्था मात्रै नवीकरण भएको संस्थाको सांगठनिक प्रतिवेदनमा उल्लेख छ । महासंघमा ८८ वटा सदस्य संस्था रहेको भए पनि जम्मा १९ वटा संस्था नवीकरण भएको गैसस महासंघ डडेल्धुराका अध्यक्ष प्रेम महरले बताए ।
“सरकारसँगको लडाइँ एकातिर छ,” उनले भने, अहिले पूर्ण बहुमतको सरकार भए पनि माग सुनुवाइ गर्ने अवस्था छैन ।” संघ संस्थालाई विभिन्न खाले अंकुसमा बाँध्ने गरेको छ । पछिल्लो समयमा आएर महासंघले खबरदारी गर्दागर्दै सामाजिक विकास ऐन सच्याउन ड्राफ्ट गरेको ऐनलाई रोकेर परिमार्जितसहित सुझावको पत्र दिँदा पनि सरकारले नमानेको उनले बताए । अहिले संघसंस्थाहरू गृह मन्त्रालयअन्तर्गत रहने कि समाज कल्याण परिषद्लाई नै खारेज गरी समाज कल्याण मन्त्रालय छुट्टै बनाई राख्ने भन्ने अन्यौलमा सरकार रहेको उनले बताए । अहिले पनि जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने तर नवीकरण गर्ने देखि नियमन, अनुगमन गर्ने निकाय स्थानीय सरकारलाई भएकाले पनि पहिलेको तुलना सरकारले कसेर राख्ने खोजेको उनको आरोप छ । सातवटा स्थानीय तह रहेको डडेल्धुरामा गैरसरकारी संघसंस्थामा पहिले काम गरेका ५४ जना जनप्रतिनिधि रहेको उनले बताए । अहिले बहालवाला मन्त्रीसम्म गैरसरकारी संघसंस्थामा काम गरेका भए पनि संघसंस्थाप्रतिको भूमिका निर्वाह गर्न नसकेको उनको गुनासो थियो ।

प्रतिक्रिया दिनुहोस्