Logo

तीन स्थानीय तहमा सामी परियोजना सुरु

लमजुङ– लमजुङका तीनवटा स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना (सामी) सुरु हुने भएको छ । यसअघि बेसीशहर नगरपालिकामा सञ्चालित परियोजना चौथो चरणमा आइपुग्दा थप दुईवटा स्थानीय तहमा सुरु हुने भएको हो । यसअघि जिल्लाको बेसीशहरमा मात्रै सो परियोजना सञ्चालन भएकोमा अब भने सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकामा पनि सञ्चालन हुने भएको हो ।

सुन्दरबजार नगरपालिकामा भने परियोजनाको तयारी पूरा भई कार्यान्वयन भइसकेको छ । परियोजनाका बारेमा बुधबार सदरमुकाम बेसीशहरमा सरोकारवालाबीच परिचयात्मक छलफलसमेत भएको छ । सुरक्षित आप्रवासनका लागि स्विस सरकारको सहयोगमा नेपाल सरकारमार्फत चार वर्षका लागि परियोजना सञ्चालन हुनेछ । जिल्लाका तीन स्थानीय तहमा कार्यान्वयनसँगै अन्य स्थानीय तहमा पनि परियोजना सञ्चालनका लागि प्रकृया अघि बढाइने भएको छ ।

‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं’ भन्ने नारासहित लमजुङका तीनसहित गण्डकी प्रदेशका विभिन्न स्थानीय तहमा यो परियोजना लागू गर्न लागिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, प्रशासन तथा योजना महाशाखाका उपसचिव प्रकाश ढुंगानाले बताए ।

परियोजनाको प्रमुख उद्देश्यमा वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने, गन्तव्य मुलुकमा सुरक्षित र सम्मानजनक रूपमा काम गर्नसक्ने गरी कामदारलाई सूचना, सीप, परामर्श लगायतका सहयोग प्रदान गर्ने, वैदेशिक रोजगारीमा सम्बद्ध निकायको क्षमता अभिवृद्धिमार्फत वैदेशिक रोजगारीका प्रतिफल वृद्धि गर्ने रहेको छ । यस परियोजनाको मुख्य कार्यक्रममा सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता रहेका छन् ।

नेपालको विमानस्थलको प्रयोग गरेर, सहयोगी संस्थाबारे जानकारी राखेर, ‘वैदेशिक रोजगागरी’ मोबाइल एप्लिकेसनको प्रयोग गरेर, श्रम स्वीकृति जाँच गरेर, वैदेशिक रोजगारसम्बन्धी कानुनबारे बुझेर, सीप ज्ञानको हासिललगायतका आवश्यक कुराबारे जानकारी लिएरमात्र विदेश जानुपर्ने जस्ता सन्देश दिनु पनि परियोजनाको कार्यक्रम रहेको सामी परियोजनाका अधिकृत शिव रेग्मीले बताए ।

बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालको अध्यक्षतमा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङसहित विभिन्न स्थानीय तहका प्रमुख एवं अध्यक्ष, उपप्रमुख एवं उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत विषयगत शाखा प्रमुखको सहभागिता रहेको थियो ।

कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले लमजुङ जिल्लामा वैदेशिक रोजगारको वर्तमान अवस्था, स्थानीय सरकारको भूमिका तथा आप्रवासी स्रोत केन्द्रमार्फत सम्पादन भएका कार्यसम्बन्धी प्रस्तुतीकरण राखेका थिए । साथै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिँह गौतमले वैदेशिक रोजगारीका सवालमा जिल्ला प्रशासन कार्यालयको भूमिका र एमआरीसँगको सहकार्यसम्बन्धी प्रस्तुतीकरण राखेका थिए भने सोही कार्यक्रममा सामी परियोजनाबाट लाभान्वित तीनजना सेवाग्राहीले आफ्नो अनुभव सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्