Logo

दिगो वन व्यवस्थापनका लागि ४० हजार क्युफिट काठ कटान सुरु

दोलखा– भीमेश्वर नगरपालिका–६ को खोर्थली सामुदायिक वन क्षेत्रमा रुख कटान सुरु भएको छ । डिभिजन वन कार्यालय दोलखाका कर्मचारी र स्थानीय उपभोक्ताको उपस्थितिमा रुख कटान सुरु भएको हो । भीमेश्वर नगरपालिलका–३ र ६ मा रहेको सो सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रमअन्तर्गत पहिलो पटक यसरी रुख कटान सुरु भएको हो ।

डिभिजन वन कार्यालयले खोरथलीमा पहिलो पटक दिगो वन व्यवस्थापन कार्यक्रम लागू गरेको छ । ‘सदरमुकाम नजिक रहेको र सबैको निगरानी पुर्‍याउन सकिने वन क्षेत्रबाट कार्यक्रम सुरुवात गरेका हौं,’ डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेले भने, ‘उपभोक्ता समूहको सक्रियता पनि छ, यहाँ सफल भए क्रमश: अन्यत्र पनि विस्तार गर्दै जाने छौं ।’ यो सामुदायिक वनको गाब्रे र पाटे सल्ला काटिनेछन् ।

उनका अनुसार १७३ हेक्टरमा फैलिएको खोरथलीमा ६ वटा कटान क्षेत्र तोकिएको छ । पहिलो वर्ष करिब २४ हेक्टर वन व्यवस्थापन अन्तर्गत रुखहरू कटान हुने उनले बताए । बागमती प्रदेशमै पहिलो पटक खोरथलीबाट वन व्यवस्थापन सुरु गरिएको हो । सो कार्यक्रमअनुसार खोरथलीको घना जंगलभित्रका दुई हजार रुख काटिने छन् ।

उक्त काठबाट खोरथली सामुदायिक वनले यो आर्थिक वर्षमा ६० लाख रुपैयाँ आम्दानी गर्नेछ भने नौ लाख राजस्व प्राप्त हुने डिभिजन वन कार्यालयका वन अधिकृत विष्णु केसीले जानकारी दिए । प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको कार्यक्रमअनुसार वनलाई आर्थिक पाटोसँग जोड्न दिगो वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।

‘६० वर्षसम्मको दिगो कार्य योजना बनाएर वन व्यवस्थापन सुरु गरेका छौं,’ उनले भने, ‘जसअनुसार यो वर्ष करिब १२ हेक्टर वन व्यवस्थापन हुन्छ, त्यसवापत सामुदायिक वनले ६) लाख रुपैयाँ आम्दानी गर्नेछ ।’ रुख काटिएका क्षेत्रमा माउ रुख राखिने छ । जसबाट अन्य साना विरुवा हुर्कने सहज हुनेछ । ‘वनका बुढा र काट्न योग्य रुखमा टाँचा लगाएका छौं, त्यसअनुसार रुख काटिने छ,’ उनले भने, ‘काटिएका क्षेत्रमा कतै नयाँ जातका विरुवा रोपिने छ, घना जंगल भने काटछाँट विधिबाट काटिने छ ।’

वर्षौंदेखि संरक्षण गर्दै आएको जंगल आम्दानी लिनुपर्छ भन्दा वन कार्यालयले नै रोकेकोमा अब बल्ल कटान सुरु भएको खोरथली सामुदायिक वन समूहका सचिव श्याम गौतमले जानकारी दिए । हरेक वर्ष डढेलोले सयौं हेक्टर वन सखाप हुँदा करौडौंका रुख जलेर नष्ट हुने गरेकाले दिगो व्यवस्थापन गर्न यो कार्यक्रम सुरु गरेको उनले बताए ।

कार्बन उत्सर्जनमा पनि नयाँ विरुवाले थप सहज हुने उनले बताए । पाँच वर्षअघि पनि वैज्ञानिक वन व्यवस्थापन भनेर सोही वन क्षेत्रमा रुख कटान गरे तापनि सरकारी राजस्व उच्च हुँदा काठ बिक्री हुन सकेको थिएन । अहिले सरकारी राजस्व पनि घटेको र बजारमा माग पनि भएकाले काठ बिक्रीमा समस्या नहुने डिभिजन वन प्रमुख न्यौपानेले बताए ।

पहिलो चरणमा डिभिजन वन कार्यालयले दिगो वन व्यवस्थापन कार्यक्रमका लागि भीमेश्वर नगरपालिकाको खोरथली सामुदायिक वन र थाङ्सा देउराली सामुदायिक वन जिरी नगरपालिकाको जिरीश्वरी सामुदायिक वन र कालिञ्चोक गाउँपालिका सुन्द्रावतीको छरछरेपाखा सामुदायिक वन छनोटमा परेका छन् । कार्यविधिअनुसार ४० इन्चभन्दा माथिका गोलाई भएका रुखहरू काटिनेछन् । हाल १० वर्षको कार्यविधि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्