सेजमा उत्पादित वस्तुमा स्थानीय तहको अवरोध

भैरहवा– विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापित भई सञ्चालनमा रहेका उद्योगहरूबाट उत्पादित वस्तुलाई आन्तरिक बजारमा बिक्रीका लागी लैजाँदा स्थानीय तहबाट अवरोध हुने गरेको छ । बिहीबार बिहान मात्रै सेजमा रहेको उद्योग ईको नेपाल इनर्जी प्रालिबाट उत्पादित कार्बन धुलो बिक्रीका लागी सम्बन्धित पार्टी मकवानपुरको हेटौँडा लैजाँदै गर्दा स्थानीयले अवरोध गरेका हुन् ।
हेटौँडा उप महानगरपालिकाले ठेक्का लगाएका ठेकेदार कम्पनीले बाटोमा रोकेर ढुवानीमा अवरोध गराएको ईको नेपालका सञ्चालक एवं निर्देशक उज्वल कसजूले बताए । सेजबाट उत्पादित कुनै पनि वस्तु वा उत्पादन बिक्रीका लागी आन्तरिक बजार एवं अन्तर्राष्ट्रिय बजारमा पठाउँदा कुनै पनि किसिमको कर नलाग्ने सेज ऐनमा उल्लेख छ । उद्योग सञ्चालनको पहिलो पाँच वर्षसम्म आयकरसमेत छुट रहेको सञ्चालक कसजुले बताए ।
सरकारले छुट दिए पनि स्थानीय तहले विभिन्न बहानामा उत्पादित सामानमा कर लाग्ने भन्दै दु:ख दिँदै आएको व्यवसायीको गुनासो छ । बिहीबार कार्बन बोकेको ढुवानी साधनमा अवरोध भएको र यसअघि तार ढुवानी गर्दा पनि कवाडी सामान भनी अवरोध भएको कसजुले बताए । ईको नेपालले पुराना टायरबाट फर्निस आयल उत्पादन गर्दै आएको छ । यसबाट कार्बनको धुलो र फलामको मसिनो तार पनि तयार हुन्छ ।
स्थानीय तहबाट परिचालित ठेकेदारहरूले भने त्यस्ता सामान कवाडीका रूपमा गनिने भएकाले कवाडी कर दिन दबाब दिँदै आएका छन् । सेजका उद्योगबाट उत्पादित सामान निकासी र आन्तरिक बजारमा खपतका लागि २०८१ वैशाखमा कुल उत्पादनको ३० प्रतिशत निकासी र ७० प्रतिशत आन्तरिक बजारमा खपत गर्न सकिने ऐनमा छ । उद्योग सञ्चालनको पहिलो ३ वर्ष उत्पादित सबै सामान स्वदेशमै खपत गर्न सकिने प्रावधान छ ।
यही प्रावधानअनुसार अहिले सेजका उद्योगबाट उत्पादित सामान आन्तरिक बजारसँगै भारत निकासी हुँदै आएका छन् । भैरहवा विशेष आर्थिक क्षेत्रका कार्यालय प्रमुख एवं सहायक निर्देशक सबुत डुम्रेले सेजमा उत्पादित कुनै पनि वस्तु तथा सह उत्पादनका रूपमा रहेका अन्य सामान आन्तरिक बजार वा बाहिर निकासी गर्दा कुनै पनि किसिमको कर नलाग्नेमा स्थानीयले कवाडी कर भन्दै असुल गर्न खाजेको बताए । कर लिन नपाइने विषयमा स्थानीय तहसँग पत्राचार गरी जानकारी गराउँदा पनि स्थानीय तहले कुरा नबुझ्दा दु:ख भएको बताए ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्राधिकरणअन्तर्गतका क्षेत्रहरूमा स्थापित उद्योग तथा उद्योगलाई कच्चा पदार्थ वा आफ्नो कुनै उत्पादन बिक्री गर्ने फर्म, कम्पनी वा उद्योगको सहजीकरण तथा सहुलियतका लागि बनेका विभिन्न ऐनमध्ये विशेष आर्थिक क्षेत्र ऐन २०७३, (परिच्छेद–८) दफा ३०मा निर्यात सरहको सुविधा पाउने उल्लेख छ ।
प्रचलित कानुन बमोजिम स्थापित भएको कुनै फर्म, कम्पनी वा उद्योगले विशेष आर्थिक क्षेत्रमा स्थापित भएको उद्योगलाई आफ्नो कच्चा पदार्थ वा कुनै उत्पादन बिकी गरेमा त्यस्तो बिक्रीलाई निर्यात सरहको मानी निर्यात गरेबापत प्रचलित कानुन बमोजिम कुनै सुविधा पाउने भए त्यस्तो फर्म, कम्पनी वा उद्योगले सो सुविधा पाउने उल्लेख छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारले सेजमा उत्पादित वस्तुको आन्तरिक एवं बाह्य बजारमा बिक्रीमा विभिन्न छुटको प्रावधान सेज ऐनमा राखे पनि त्यसलाई स्थानीय तहले नबुझ्दा उद्योगी व्यवसायीलाई दुख भइरहेको व्यवसायीले बताए ।