Logo

वीरगन्ज आईसीपी भन्सार भित्रैबाट चोरी

वीरगन्ज– वीरगन्ज एकीकृत भन्सार जाँच चौकी (आईसीपी) भित्रै सवारी साधनका सामानहरू चोरी भएका छन् । सीसीटीभी क्यामेरा र सुरक्षा गार्डसहितको कडा सुरक्षा घेराभित्र रहने आईसीपी भित्रैबाट जलविद्युत आयोजनाको समान लोड गरी राखिएको मधेस प्रदेश ०३००१ ख ८९२३ नम्बरको १० चक्के ट्रकको दुई वटा ब्याट्री र डिजेल चोरी भएको सवारी धनी जगरनाथप्रसाद कलवारले बताएका हुन् ।

उनका अनुसार पार्किङ क्षेत्रमा चार महिनादेखि पार्क गरेर राखिएको ट्रकमा रहेको दुई सय ५० लिटर डिजेल र दुई वटा ब्याट्री चोरी भएको हो । दुई वटा ब्याट्री र दुई सय पचार लिटर डिजेल गरी ७५ हजार रुपैयाँ जतिको नोक्सानी भएको उनले बताए । आईसीपी भन्सारको व्यवस्थापनका जिम्मा पाएको हिमालयन लजिष्टिक प्रालिले १० चक्के सवारी साधनसँग दैनिक मूल्य अभिवृद्धिसहित करिब नौ सय रुपैयाँ शुल्क लिने गरेको भन्दै ७८ हजार रुपैयाँ व्यवस्थापनलाई शुल्क तिरेको उनको भनाइ छ । चोरी भएपछि सवारी धनी र सवारी चालकहरूले असुरक्षित महसुस गरेका छन् ।

कलवार भन्छन्, ‘सवारी साधनबाट हराएको सामानको भन्दा बढी रकम शुल्क तिरेका छौं । तर, सुरक्षा भएन । यस्तो संवेदनशील ठाउँमा यस्तो लापरबाही भएको छ ।’ आईसीपीमा सम्बन्धित व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरूको पहुँच नपुग्ने ठाउँमै सवारी साधनका ब्याट्रीलगायतका सामानहरू चोरी भएपछि सवारी चालक र सवारी धनीहरूले चिन्ता व्यक्त गर्दै व्यवस्थापनमाथि आक्रोस व्यक्त गरेका छन् । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्षसमेत रहेका कलवारले आईसीपी व्यवस्थापनले गाडी पार्किङ शुल्क लिएर सुरक्षामा लापरबाही गरेको बताउँदै सवारी साधन पार्किङ गर्ने ठाउँमा सीसीटीभी क्यामेरासमेत नभएको बताए ।

आईसीपी व्यवस्थापनको जिम्मा पाएको हिमालयन लजिष्टिकका आईसीपी प्रमुख गणेश घिमिरेले भने अहिलेसम्म त्यस्तो घटना नभएको बताए । उनले भने,‘अहिलेसम्म त्यस्तो घटना भएको थिएन । त्यहाँ सुरक्षा गार्डहरू पनि तैनाथ रहन्छन् । सुरक्षा कमजोरीले सामान हराएको भए सुरक्षा गार्डहरूबाटै तिराएका छौं । यो विषयमा म बुझेर समस्या समाधान गर्छु ।’ उनका अनुसार आईसीपी भन्सारको सुरक्षाका लागि विराट सेक्युरिटी कम्पनीबाट सुरक्षा गार्डहरू राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्