Logo

लुम्बिनीमा थाइ पर्यटकको चहलपहल

बुटवल– लुम्बिनीमा थाइल्याण्डका पर्यटकहरूको चहलपहल बढेको छ । गत फेब्रु्रअरीमा ४ हजार ६२० थाइ पर्यटक लुम्बिनी आएका हुन् । तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाइ पर्यटक रहेका छन् । लुम्बिनीमा अहिले धार्मिक गतिविधि भइरहेको छ । जसका कारण बुद्धिष्ट मुलुक थाइल्याण्डबाट आएका भिक्षुहरूको चहलपहल बढेको हो ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले अहिले भइरहेका दुई वटा धार्मिक कार्यक्रमका कारण थाइ पर्यटकहरूको चहलपहल बढेको बताए । ‘फागुन १६ बाट १२ सय नेपालीहरूलाई प्रवज्या गर्ने काम चलिरहेको छ । एक महिना चल्छ । यसको लागि आर्थिक सहयोग थाइल्याण्डबाटै भएको छ,’ उनले भने,‘ यहीँ अवसरमा लुम्बिनी भ्रमण गर्ने भनेर थुप्रै थाइ नागरिकहरू आएका छन् ।’

अहिले मायादेवी मन्दिर परिषरमा त्रिपिटक बाचन भइरहेको छ । यी कार्यक्रमका कारण थाइहरूको चहलपहल बढेको बस्नेत बताउँछन् । अहिले पनि धार्मिक गतिविधि भएकाले मार्च महिनामा थाइ पर्यटकको चहलपहल अझै बढ्न सक्ने अनुमान छ । अहिले भइरहेको पूजाले थाइसहित तेस्रो मुलुकका पर्यटकहरूलाई आकर्षित गर्ने उनको भनाइ छ । विगतमा पनि फेब्रुअरी महिनामा थाइ पर्यटकहरू धेरै आउने गरेका थिए ।

२०२४ को फेब्रुअरीमा ४ हजार ६ जना थाइ पर्यटक लुम्बिनी आएका थिए । २०२३ को फेब्रुअरीमा ३ हजार ३६७ आगमन दर रहेको थियो । कोभिडअघि सन् २०१९ को फेब्रुअरीमा ६ हजार २०८ थाइ पर्यटक लुम्बिनी आएका थिए । लुम्बिनी होटल संघका उपाध्यक्ष लिलामणी शर्माले थाइ पर्यटकको लागि फेब्रुअरी महिना उपयुक्त सिजन भएको बताए । ‘उनीहरूको देशको मौसम र फेब्रुअरी मौसम मिल्छ । जाडो अलि गाह्रो हुन्छ । नोभेम्बरमा उनीहरू आउँछन् । डिसेम्बर र जनवरीमा त्यती आउँदैनन्’ उनले भने,‘ फेब्रुअरी र मार्चमा थाइहरूको चहलपहल हुन्छ ।’

शर्माले थाइ पर्यटकहरू धेरै जसो लुम्बिनीको बिहारमा बस्ने गरेको उल्लेख गरे । ‘लुम्बिनी परिसर भित्र थाइ पर्यटकहरूको चहलपहल छ । तर बाहिर हाम्रो होटलहरूमा त्यती देखिएका छैनन्,’ उनले भने,‘भिक्षुहरू सकेसम्म बिहारमै बस्ने गर्छन् । लुम्बिनी र भैरहवाका केही तारे होटलमा थाइ पर्यटक छन् भन्ने सुनिएको छ ।’ पछिल्लो समय भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा एउटा बैंकक उडान हुँदै आएको छ । प्रत्येक सोमबार थाइ एयर एशियाले बैंकक भैरहवा बैंकक उडान गर्ने गरेको छ ।

यसले पनि थाइल्याण्डका पर्यटकहरूलाई लुम्बिनी आउन सहज भएको छ । गत फेब्रुअरीमा भारतबाहेक तेस्रो मुलुकबाट कुल १७ हजार ७२७ पर्यटक लुम्बिनी आएका छन् । जसमा सबैभन्दा बढी थाइ पर्यटक हुन् । त्यसपछि ३ हजार ६८४ श्रीलंकन, २ हजार ६५७ म्यानमारका, १ हजार ८०५ भियतनामबाट र १ हजार २४३ चाइनिज पर्यटक लुम्बिनी आएका हुन् । छिमेकी मुलुक भारतबाट गत फेब्रुअरी महिनामा २० हजार ९० जना लुम्बिनी आएका छन् ।

अघिल्लो वर्ष २०२४ को फेब्रुअरी महिनामा २० हजार ४८९ भारतीय लुम्बिनी आएका थिए । अहिले केही घटेका हुन् । गत फेब्रुअरीमा नेपाल भित्रैबाट घुम्न आउनेहरूको संख्या ६० हजार ७३३ रहेको छ । अघिल्लो वर्ष सोही अवधिभन्दा यो वर्ष १० हजारले आन्तरिक पर्यटक बढेका हुन् । २०२४ को फेब्रुअरीमा ५० हजार ३९९ नेपाल भित्रबाटै लुम्बिनी घुम्न आएका थिए । तर कोभिडअघि भन्दा अहिलेको आगमन दर निकै कम हो । सन २०१९ को फेब्रुअरीमा ८१ हजार र २०१८ को फेब्रुअरीमा १ लाख २७ हजार १९३ आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्