निर्माणाधीन पक्की पुल चार वर्षदेखि अलपत्र

गुल्मी– इस्मा गाउँपालिकामा निर्माणाधीन पक्की पुल चार वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ स्थित कुखुरे खोलामा निर्माणाधीन पक्की पुल चार वर्षदेखि अलपत्र परेको हो । निर्माण व्यवसायीले समयमा पक्की पुल निर्माणको काम सम्पन्न गर्न नसक्दा वर्षाैंदेखि निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ ।
पक्की पुल निर्माणका लागि दुवैतर्फका पिल्लर निर्माण गरिएको छ । त्यसबाहेक अन्य काम भने अलपत्र अवस्थामा छ । पुल निर्माणका लागि एक वर्षको समयावधि तोकिए पनि चार वर्षसम्म निर्माण हुनसकेको छैन । पक्की पुल नहुँदा आवतजावत गर्ने सवारीसाधन तथा स्थानीयले सास्ती खेप्दै आएका छन् । पक्की पुन समयमै नबन्दा वर्षात्को समयमा यस भेगका नागरिक जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीय मुक्तबहादुर महताराले बताए ।
‘पसल जान पुल तर्नैपर्ने अवस्था छ,’ स्थानीय महताराले गुनासो गर्दै भने, ‘पक्की पुल अलपत्र हुँदा सास्ती भएकै छ, बन्ने आशा पनि हराउँदै गएको छ ।’ अर्का स्थानीय इस्मा गाउँपालिका–६ का स्थानीय हिरा जिसीले आवतजावतमा सास्ती खेपिरहेको गुनासो गरे । ‘बर्खामा निकै सास्ती भएको छ,’ जिसीले भने, ‘पुलमा निर्माणमा ताकेता गर्दा पनि नहुनु दु:खद पक्ष हो ।’
पुल निर्माणका लागि सडक पूर्वाधार विकास कार्यालयमार्फत अत्रेय भुसाल बस्नेत जेभी काठमाडौंले निर्माणको जिम्मा लिएको कार्यालय प्रमुख इन्जिनियर सचितानन्द चौधरीले जानकारी दिए । कुल २५ मिटर लम्बाइ रहेको पुल भ्याटबाहेक कुल दुई करोड ४३ लाख रुपैयाँ लागतमा निर्माणको ठेक्का भएको थियो । पुलको ५० प्रतिशत भौतिक प्रगति र ४५ प्रतिशत वित्तीय प्रगति भएको अवस्थामा अलपत्र रहेको चौधरीले बताए ।
सडक पूर्वाधार कार्यालय तम्घास गुल्मीमार्फत २१ माघ २०७७ मा सम्झौता भई १७ माघ २०७८ सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पहिलो पटक तोकिएको मितिमा काम सम्पन्न हुन नसकेपछि पुन: ३० असोज २०८१ मा सम्पन्न गर्ने गरी तीन पटक म्याद थप गरिएको कार्यालय प्रमुख चौधरीले बताए । म्याद थप भएको यो अवधिमा पनि पुल निर्माणले गति लिन नसकेर म्याद सकिएको छ । पुल निर्माण गर्ने निर्माण व्यवसायीले अलपत्र पारेर सम्पर्कविहीन भएका छन् । जसका लागि कार्यालयले पनि ताकेता गर्दै आएको छ ।
तर, पनि निर्माण व्यवसायी टेर्ने गरेको पाइएको छैन । पक्की पुल निर्माणको नियमित काम भएको भए गत असोजसम्ममा काम सकिएर पुल सञ्चालनमा आउने समय हो । तर, निर्माणको काम समयमै नसक्दा पक्की पुलको वारिपारिका पिल्लर निर्माण भए पनि अन्य काम नहुँदा पुल निर्माण अलपत्र बनेको हो । निर्माण व्यवसायीले काम अपलत्र पारेपछि कार्यालयले पनि एक्सनमा उत्रिएर धरौटी तान्ने प्रक्रिया अगाडि बढाएको सडक पूर्वाधार कार्यालयका सबइन्जिनियर सागर ढकालले बताए । पटक पटकको आग्रहलाई निर्माण व्यवसायीले बेवास्ता गरेको उनको भनाइ छ ।
पुल निर्माणले गति लिन नसक्नुले नागरिकले दुख: झेल्नु परेको इस्मा गाउँपालिका–६ का वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । उनले पक्की पुल निर्माण स्थल वडा नम्बर ५ रहे पनि वडा नम्बर ६ का नागरिकका लागि अत्यन्तै आवश्यक रहेको भन्दै समयमै पुल निर्माणका लागि पालिकाले सम्बन्धित कार्यालयलाई जानकारी गराउँदै आए पनि बेवास्ता गरेको कुँवरले गुनासो गरे । ‘हामीले बारम्बार कार्यालयलाई जानकारी गराउँदै आएका छौं,’ वडाध्यक्ष कुँवरले भने, ‘निर्माण व्यवसायी र कार्यालय जिम्मेवार बनेर पुल निर्माण गर्नुपर्छ ।’