Logo

पर्यटकीय क्षेत्र गुठिचौरमा अवैध उत्खनन्

जुम्ला– गुठिचौर गाउँपालिका–२ स्थित पर्यटकीय क्षेत्र गुठिचौर उपत्यकाको गिट्टी–बालुवा अवैध रूपमा उत्खनन भइरहेको छ । गुठिचौर उपत्यकामा बग्ने खोलाबाट निर्माण व्यवसायीले मनमर्जी रूपमा गिट्टी–बालुवा उत्खनन् गरिरहेका छन् । गुठिचौरको आर्थिक समृद्धिको मेरुदण्ड मानिएको पर्यटकीय गन्तव्य गुठिचौर उपत्यकामा अवैध उत्खनन् बढ्दै जाँदा उपत्यका संकटमा पर्ने देखिएको छ ।

उक्त क्षेत्रमा निर्माण हुने सडक भवन तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त क्षेत्रबाटै गिट्टी–बालुवा उत्खनन् भएको पाइएको छ । बालुवा गिट्टीको उत्खनन्पछि उपत्यकामा क्षयीकरण बढ्दै गएको छ । उक्त उपत्यकामा बर्खाको सिजनमा गुठिचौरका गाई भैंसी राख्छन् भने गुठिचौर भेडा फार्मका भेडा, स्थानीयका घोडालगायतका पशुचौपाय चर्ने एकमात्र ठाउँ पनि हो ।

बढ्दै गएको अवैध उत्खनन् नरोकिएको खण्डमा केही वर्षमा पशुचौपायलाई चरण क्षेत्रको अभाव हुने देखिएको छ भने उपत्यका नै संकटमा पर्ने देखिएको छ । कर्णालीकी पर्यटक प्रवर्द्धक (सोलो ट्राभलर) सिर्जना सिज्जुले एक भिडियो सार्वजनिक गर्दै दुई वर्ष पहिला आउँदा सुन्दर गुठिचौर उपत्यका अहिले अवैध उत्खनन्ले कुरुप बन्दै गएको बताएकी छन् ।

उनी दुई वर्ष पहिला त्यहाँ पुग्दा गुठिचौरको सुन्दरता देखेर राज्यले चिन्न नसकेको, संरक्षण हुन नसेकेको बताएकी थिइन् । अहिले स्थानीय तहकै बेवास्ता र निर्माण व्यवसायीको लापारबाहीले गुठिचौर उपत्यकाको दोहन बढेको हो । गुठिचौरको अवैध उत्खनन्पछि स्थानीय नागरिकले चासो देखाएका छन् । यद्यपि नियमन गर्ने, गिट्टी–बालुवाको व्यवस्थित उत्खनन् गर्ने जिम्मेवारी पाएको स्थानीय सरकार भने मुकदर्शक बनेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्