Logo

सुरक्षित नागरिक आवास कार्यक्रम अलपत्र

धनकुटा– सहरी विकास मन्त्रालयले अनुदान रकम समयमै नपठाउँदा कोशी प्रदेशका पहाडी जिल्लामा सञ्चालित सुरक्षित नागरिक आवास कार्यक्रम अलपत्र परेको छ । धनकुटा नगरपालिका–५ का राजकुमार राई सुरक्षित नागरिक आवासको रकम आए घर बनाउने सोचमा बसेको धेरै भयो त्यस्तै सोही स्थानका प्रदिपकुमार डोमले पनि सहरी विकास मन्त्रालयबाट रकम आउला र घर बनाउँला भनेर पर्खेको वर्ष बित्यो तर अहिलेसम्म पैसा नपाउँदा उनीहरू निराश छन् ।

राई र डोममात्र होइन लाभग्राही सूचीमा समावेश भएका सबैको प्राय: व्यथा एउटै छ । घर निर्माण र मर्मतसम्भारको आशामा बसेका विपन्न, सीमान्तकृत, दलित, एकल महिला र प्रकोप प्रभावित नागरिक सरकारी ढिलासुस्तीले निराश बनेका हुन् । धनकुटा नगरपालिका–५ का राजकुमार राईले भने, ‘लाभग्राही सूचीमा समावेश भएको जानकारी प्राप्त भए पनि अहिलेसम्म रकम कहिले आउने भन्ने सूचना र जानकारी आफूहरूलाई नभएकाले गर्दा ढुंगामाटोको नमिलेको गाह्रो र खरले छाएको टहरोमा बस्दै छौं ।’

त्यस्तै छिमेकी प्रदीपकुमार डोमको परिवार पनि टाटीले बारेको अस्थायी छाप्रोमा बस्दै आएका छन् । सुरक्षित नागरिक आवास कार्यक्रममा लाभग्राही सूचीकृत भएको लामो समय भयो तर, घर निर्माण र सुधारका लागि आउने भनिएको सरकारी अनुदानको टुंगो नलाग्दा समस्या भएको प्रदीपकुमार डोमले बताए । अनुदान आउला र घर बनाउँला भनेर बसेकाको पर्खाइ लामो भयो, तर पैसा आउने टुंगो नभएकाले समस्या भएको धनकुटा नगरपालिका वेवानटारकी चन्द्रकुमारी श्रेष्ठले गुनासो गरिन् ।

२०७४ सालदेखि सुरु गरिएको सुरक्षित नागरिक आवास कार्यक्रमको मुख्य उद्देश्य विपन्न, भूमिहीन, सुकुम्बासी, दलित, अपागंता भएका व्यक्ति, एकल महिला तथा सामाजिक रूपमा पछाडि परेका र प्रकोप पीडितलाई सुरक्षित घरबास उपलब्ध गराउन सहयोग गर्नु हो । तर बजेट अभावमा छनोट भएका सबै लाभग्राहीलाई समयमै अनुदान रकम उपलब्ध गराउन नसकिएको धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीको भनाइ छ ।

नगरपालिकाले समेत घर निर्माणका लागि रमक माग गरी सहरी सघन कार्यालयलाई पटकपटक पत्र लेखी रकम माग गरिएको भए पनि कार्यालयले समेत माथिल्लो निकायमा लेखी पठाएको भनेर जानकारी गराए पनि रकम प्राप्त हुनेबारे कुनै ठोस जवाफ नआएको अधिकारीको भनाइ छ । लाभग्राहीले पहिलो किस्तावापत ४५ हजार रुपैयाँ पाउँछन् । छनोटमा परेका लाभग्राहीले आवास निर्माणका लागि पाउनुपर्ने जम्मा रकम ७५ हजार रुपैयाँ हो ।

सुरक्षित नागरिक आवास कार्यक्रमका लागि धनकुटा नगरपालिकाबाट मात्रै २४ सय नौ जनाको निवेदन परेको थियो । जसमध्ये ३२४ जना लाभग्राही सूचीमा समावेश भए । तर २० जनाका लागि मात्रै अनुदानको पहिलो किस्तावापत जम्मा १० लाख रुपैयाँ प्राप्त भएको धनकुटा नगरपालिका–५ का अध्यक्ष धनकुमार राई आठपहरियाले जानकारी दिए । उनले भने, ‘अतिविपन्न, गरिब, एकल महिलाले अनुदान आए पनि घर बनाउला भनेर बसेका छन् बर्खामा पानी चुहुने समस्याले भए पनि अनुदान नआउँदा जनप्रतिनिधिसमेत नागरिकलाई रकम आउनेबारे ठोस जवाफ दिन सकिएको छैन ।’

कोशी प्रदेशको धनकुटा, संखुवासभा, तेह्रथुम र भोजपुरका ३२ स्थानीय तहमा यो कार्यक्रम लागू गरिएको छ । यहाँका लागि स्वीकृत १८ हजार ५१३ कोटामध्ये १६ हजार ४७९ लाभग्राही छनोट भए । यीमध्ये ८२ सय २६ जनाले पहिलो किस्ता पाएर घर निर्माण थालेका छन् । बाँकी ७२ सय ८७ जनाले अनुदानको पहिलो किस्ता नै पाएका छैनन् । छनोटमा परेका लाभग्राहीलाई अनुदानवापत अब करिब ६० करोड रुपैयाँ आवश्यक पर्ने धनकुटामा रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्