१५ वर्षपछि कुश्मा–ज्ञादी अग्लो पुल मर्मत सुरु

पर्वत– पर्वतको सबैभन्दा पहिलो र नमुना अग्लो तथा लामो कुश्मा–ज्ञादी झोलुंगे पुल मर्मत गर्न थालिएको छ । विगत १५ वर्षअघि निर्माण गरिएको पुलको पहिलोपटक मर्मत गर्न थालिएको हो । विसं २०६६ फागुन २४ गतेदेखि सञ्चालनमा आएको उक्त पुल पर्वतमा पहिलोपटक बनेको नेपालकै अग्लो र लामो पुल हो ।
पुल मर्मत हुन नसक्दा जीर्ण बन्दै गएको अवस्थामा सहरी विकास मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुलचोक ललितपुरले मर्मत गर्न थालेको हो । पुल जीर्ण भएर जोखिम बढेपछि गत असारदेखि मोटरसाइकल, स्कुटरलगायतका दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको थियो ।
मानिसमात्र आवतजावत गर्न थालेको पुलका डेक, लठ्ठा, नट बोल्टु, साइड बारलगायतका संरचना पूर्णरूपमा मर्मत गर्न थालिएको हो । पुलमा पूर्णरूपमा आवतजावत बन्द गरेर सोमबारदेखि मर्मत गर्न थालिएको निर्माण कम्पनी आरएएस फाउण्डेसनका प्रतिनिधि किशोर लामाले बताए । १० दिनका लागि पुलमा पूर्णरूपमा आवतजावत बन्द गरेर मर्मत थालिएको हो ।
चालु आर्थिक वर्षका लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएपछि मर्मत सुरु गरिएको लामको भनाइ छ । ३४४ मिटर लामो र १३५ मिटर उचाइको यो पुलले पर्वतको कुश्मा नगरपालिकाका कटुवाचौपारी, पिपलटारी, पकुवा, ठूलीपोखरी, खौलालाकुरी, आर्थरडाँडाखर्क, साथै फलेवास, महाशिला, विहादी र पैंयुँ गाउँपालिकालाई सदरमुकाम कुश्माबजारसँग जोडेको छ ।
जिल्लाका अन्य पुलभन्दा बढी मानिसको चाप हुने यो पुल मर्मतको अभावमा लामो समयदेखि जीर्ण बनेको थियो । कुश्मा नगरपालिका–५ वडागाउँदेखि कुश्मा नगरपालिका–९ कटुवाचौपारी जोड्ने यो पुल हुँदै दैनिक सयाैंको संख्यामा मोटरसाइकल र स्कुटर सञ्चालन हुँदै आएका थिए । सवारी प्रयोगकर्ताले छोटो मार्गका रूपमा जोखिमपूर्ण तरिकाले पुलबाट सवारी वारपार गर्दा पुल झनै जोखिमपूर्ण र जीर्ण बनेको स्थानीय राम शर्मा लामिछानेले बताए ।
सवारीका कारण पैदलयात्रीलाई समेत समस्या पर्दै आएकोमा अब मर्मतपछि पूर्ववत अवस्थामा सञ्चालन गर्न सकिने उनको भनाइ छ । सस्पेन्सन ब्रिज डिभिजनको प्राविधिक टोलीले मर्मतका लागि आवश्यक नापजाँच गरेर लगत इस्टिमेट तयार गरेको थियो । बढी मात्रामा खिइएका पुलको दुवैतर्फका डेकलाई परिवर्तन गर्ने, नटबोेल्टु कस्ने र साइडबार मर्मत गर्नेलगायतका काम हुने निर्माण कम्पनीका प्रतिनिधि लामाले बताए ।
पुल निर्माण भएको डेढ दशकसम्म पनि मर्मत हुन नसकेको भन्दै नागरिकले पटकपटक मर्मतको माग गर्दै आएका थिए । पुलका लठ्ठा, साइड बार, डेक उप्कने, नोटबोल्टु खुकुलो हुनेजस्ता समस्या देखिएका थिए । यो पुल निर्माणपछि मोदीखोलाको किनारमा पुगेर डाँडामा आउन लाग्ने एक घण्टाको बाटो छोटिएर तीन मिनेटमा सीमित बनेको छ । यो पुलपछि सदरमुकाम कुश्मामा मात्रै थप चार अग्ला तथा लामा झोलुंगे पुल निर्माण भएका छन् । ती पुलवाट पनि मानिससँगै दुईपाङ्ग्रे सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुँदै आएका छन् ।