इतिहास, कला र संस्कृतिको खुला संग्रहालय सिम्रौनगढ

ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ बारा जिल्लामा अवस्थित छ । सदरमुकाम कलैयाबाट २० किमि दक्षिण–पूर्वमा रहेको सिम्रौनगढ पूर्वपश्चिम ४.५ किलोमिटर र उत्तर–दक्षिण ६.५ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । समुद्री सतहदेखि ३ सयदेखि ५ सय मिटरको औसत उचाइमा रहेको यो ठाउँ ४२.६५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । भौगोलिक रूपमा शिवालिक पर्वत शृंखलाको दक्षिण भेकमा गङ्गा–जमुना नदीले सिर्जना गरेको फाँटले यो क्षेत्र बनेको पाइन्छ । सिम्रौनगढ नगरपालिकाको जनसंख्या नेपालको जनगणना २०७८ अनुसार ५४ हजार ८ सय ७८ छ ।
ऐतिहासिक धरोहर सिम्रौनगढ इतिहास, कला र संस्कृतिको खुला संग्रहालय हो । सिम्रौनगढकोे स्थापना उपनिषद् काल र पौराणिक कालमा हिन्दू संस्कृतिको केन्द्रका रूपमा प्रख्यात प्राचीन विदेह वा मिथिला क्षेत्रमा भएको पाइन्छ ।
नान्यदेवले मिथिलाको राजधानी सिम्रौनगढलाई बनाएपछि सन् १०९७ देखि सन् १३२७ सम्म कर्नाटक वंशीले यहाँ अभेद शासन गरेको पाइन्छ । सिम्रौनगढमा नान्यदेवपछि गङ्गासिंहदेव, नरसिंहदेव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव र अन्तिम राजाको रूपमा हरिसिंह देवले शासन गरेका थिए । मिथिलाको इतिहासमा यस काललाई स्वर्णयुग भनिन्छ । यस समयमा यहाँको धार्मिक, सांस्कृतिक र कला–साहित्यमा उल्लेख्य रूपमा विकास भएको थियो ।
हाल सिम्रौनगढका पुराना अवशेषहरू जस्तै— डढेको चामल, माटोका भाँडावर्तन, गरगहना आदि पाइन्छ । यस क्षेत्रको कचोर्वा गाउँमा माकराकृतिको टुटी भएको धारो, हरिहरपुर गाउँमा रहेको ढुङ्गाको बाकस रहस्यमय छ । खन्दै जाँदा भित्र भासिनु यस बाकसको विशेषता छ । अत्यन्त कलात्मक रहेको यो बाकसको बाहिरी भाग मात्र देखिन्छ । बाँकी भाग जमिनमा गाडिएको छ । स्थानीयवासीले यसलाई बाकस, तिजोरी, सन्दुक भने पनि वास्तवमा यो अहिलेसम्म पनि रहस्यमय छ ।
त्यस्तै, अमृतगन्जमा रहेको ढुङ्गाको खम्बा झन् रहस्यमयी छ । स्थानीय जानकारका अनुसार खम्बालाई बाहिर निकाल्न खोज्दा यो झन् जमिनमा भासिने गर्छ । यो क्षेत्रमा बाढी आए पनि यो खम्बा डुब्दैन । यस प्रकार सिम्रौनगढ क्षेत्र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण देखिन्छ । आज पनि यस क्षेत्रका ढुङ्गा र मूर्तिका अन्य अवशेषहरूमा दैवी शक्ति रहेको स्थानीयवासीको विश्वास छ ।
सिम्रौनगढको सांस्कृतिक सम्पदाको दोस्रो स्थानमा यहाँका मन्दिरहरूलाई लिन सकिन्छ । सिम्रौनगढको बीच भागमा स्थापना गरिएको कङ्काली मन्दिर इँटाद्वारा निर्माण गरिएको शिखर शैलीमा छ । मन्दिर चारैतिर चतुष्कोणाकार भवनको बीचमा शिखर उठेर माथिसम्म चुलिएको छ । मन्दिरको चारैतिर खुला गुम्बजाकारको प्रवेशद्वार निर्माण गरिएको छ । मन्दिरभित्र अग्लो मञ्च बनाइएको छ, जसमाथि पूर्वतिर फर्काएर कङ्कालीको मूर्ति प्रतिस्थापित गरिएको छ । मन्दिरको दलिनमा विभिन्न चित्र बनाइएको छ ।
मन्दिरमा रहेका कङ्कालीको मूर्ति कालो प्रस्तरमा कुँदिएको छ । मूर्तिको गोलाकार अनुहार, ठूला आँखा, पुष्ट छातीले त्यसबेलाको विशेषतालाई दर्साउँछ । देवीको गालामा हार, कानमा गोलाकार कुण्डल, कमरमा हार जडेको चेप्टो पेटी छ । शान्त, सौम्य मुद्रामा रहेको यो मूर्तिले कलामा छुट्टै स्थान ओगटेको छ ।
प्रत्येक वर्ष चैतमा रामनवमीको दिन यस मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । सामान्य रूपमा भक्तजनहरू आउने व्रmम दिनहुँ नै रहन्छ । अहिले पनि यो क्षेत्रमा कङ्काली माताको ठूलो महिमा छ । यहाँ आउने भक्तजनहरूमा माता कालीको पूजा–आराधना गरेमा चिताएको फल देवीले पूरा गर्छिन् भन्ने जनविश्वास छ ।
कङ्काली मन्दिर प्राङ्गणमा विभिन्न देवीदेवताका अन्य मन्दिर छन् । प्राङ्गणमा रहेका मन्साराम बाबाको मन्दिर निर्माण गरिएको छ । मन्दिरभित्र मन्साराम बाबाको समाधिस्थल छ । समाधिअगाडि एक जोर खराउ छ, जसलाई मन्साबाबाको खराउ भनी पूजा गरिन्छ । प्राङ्गणमा शिव, पार्वती, हनुमान, विष्णु, विश्वकर्माको मन्दिर रहेका छन् । कङ्काली मन्दिरदेखि करिब डेढ माइलको पश्चिम दूरीमा रहेको छ— रानीबास, जहाँ राम–जानकीको मन्दिर छ । अमृतगन्जमा अवस्थित यो मन्दिरले सिम्रौनगढको वास्तुकलाको थप परिचय दिन्छ ।
समग्र मिथिलाको कला–संस्कृतिको परिचय दिन सफल यहाँका मूर्ति संरक्षणको अभावमा लोप हुने अवस्थामा छन् । मुसलमानी आक्रमणमा यहाँका अधिकांश मूर्तिको अङ्गभङ्ग गरी अस्तित्व समाप्त पारिएको थियो । बाँकी रहेका मूर्तिहरूको पनि चोरी हुने र हराउने क्रम जारी छ । केही वर्षअघि पुरातत्व विभागको सव्रिmयतामा कङ्काली मन्दिर परिसरका मूर्तिहरूलाई मन्दिर परिसरमै घर बनाई संग्रहित गरिएको पाइन्छ । त्यसैगरी सिम्रौनगढका केही मूर्ति र दरबारका अवशेषलाई राष्ट्रिय संग्रहालय, छाउनीमा संग्रहित गरिएको छ ।
राष्ट्रिय संग्रहालयमा सिंहवाहिनी दुर्गा, सप्तअश्वरथ सवार सूर्यमूर्ति र ब्रह्माको मूर्ति संरक्षित छ । सिम्रौनगढको तोरणद्वारको टुक्रा संग्रहालयको भित्री द्वारमै राखिएको छ । यस क्षेत्रमा अनेकन् पोखरी र इनार छन्, जसमध्ये इसारा, झरौखर, राजावादा, मनहर्वा, धोबिनिया, नरकटी, जोकही, आमवा, हथाइया प्रमुख छन् । इसारा पोखरी कङ्काली मन्दिरको अगाडि छ । यो पोखरीको नाम राजा शिवसिंहकी रानी इसाराको नामबाट राखिएको भनाइ छ । यसप्रकार, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढको संरक्षण र प्रवद्र्धन पक्ष निकै कमजोर देखिन्छ । यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका निम्ति बृहत् योजनाको आवश्यकता छ । यसका लागि स्थानीय सरकारलगायत सम्बन्धित निकायले ठोस योजनाका साथ भूमिका खेल्नु जरुरी छ ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौँ शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देश उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै विभिन्न ऐतिहासिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाएर गरिबी न्यूनीकरण गर्दै सिम्रौनगढ नगरपालिकाभित्र बसोबास गर्ने स्थानीय बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । अतः सिम्रौनगढ क्षेत्र र वरिपरिका विभिन्न प्रख्यात पर्यटकीय क्षेत्रहरूलाई सर्किटका रूपमा विकास गर्न आवश्यक छ । यस क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई उद्योगका रुपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।