नौमूलेमा ७.८० मेगावाट विद्युत् उत्पादन «

नौमूलेमा ७.८० मेगावाट विद्युत् उत्पादन

केन्द्रीय प्रशारण लाइनमा जोडियो विद्युत्

दैलेख– केही महिना अगाडिसम्म परीक्षण प्रशारणमै रहेको दैलेखको नौमूले गाउँपालिका ५ स्थित पदमखोला जलविद्युत् आयोजना केन्द्रीय लाइनमा जोडिएको छ । ४.५ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको पदमखोला हाइडोपावर कम्पनीवाट उत्पादन भएको १६ सय किलोवाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो ।
वर्षा याममा ४.५ मेगावाट उत्पादन क्षमता हुने भएपनि हाल पानी कम भएका कारण १६ किलोवाट उत्पादन विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको कम्पनीले जनाएको छ । वर्षामा पानीको क्षमता अनुसार ४.५ मेगावाट विद्युत् उत्पादन हुने र अहिले केही महिनाको लागि १६ सय किलोवाट मात्र विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारण लाइनमा जोडिएको कम्पनीका सदस्य कुमार कार्कीले बताए ।
हाइडो हवको रुपमा चिनिँदै अएको नौमूलेमा विद्युत् उत्पादन धममाधम गर्न थालिएको छ । डोल्टीपावर जलविद्युत् आयोजना अन्तरगत सञ्चालित कर्णाली प्रदेशमा अहिलेसम्मकै ठूलो जलविद्युत् उत्पादनका रुपमा हेरिँदै आएको पदमखोला कम्पनीले छोटो समयमै विद्युत् उत्पादन गरी केन्द्रीय लाइनमा जोडिएको हो । झण्डै ८० करोड लागतमा सम्पन्न भएको उक्त जलविद्युत् आयोजनाले निर्धारित समय अगावै काम सम्पन्न गरेको जनाइएको छ ।
पदमखोला जलविद्युत् आयोजना नौमूले गाउँपालिका ४ कालिकादेखि करिव २ किलोमिटर टाढाबाट पाइपमार्फत पानी ल्याइ ३ सय मिटर उचाइबाट पानी पावर हाउसमा खसाली विद्युत् उत्पादन गरिएको छ । विद्युत् क्षेत्रमा लामो अनुभव गरेका सदस्य कार्कीले नौमूले क्षेत्रका धरै स्थानमा विद्युत् उत्पादन गर्ने सम्भावना रहेको बताए । “हामिले द्धारीखोलाका विद्युत् उत्पादनको काम पनि गरेका हौं” सञ्चालक सदस्य कार्कीले भने, “नौमूले क्षेत्रमा अझ धेरै स्थानमा विद्युत् उत्पादनका लागि उपयुक्त ठाउँ रहेको छ ।”
नौमूले क्षेत्रमा गाउँपालिकाले अझै लगानी विद्युत् क्षेत्रमा लगानीको लागि सहज वतावरण बनाउनुपर्ने सदस्य कार्कीको भनाइ छ । गाउँपालिकाको सहयोगकै कारण पदमखोला जलविद्युत आयोजना निर्धारित समय अगावै काम सम्पन्न भएको कार्कीले बताए । आयोजना सम्पन्न भएसँगै नौमूलेका केही स्थानीयहरुले रोजगारी समेत पाएका छन् । नौमूले क्षेत्रमा जलविद्युत् निर्माण गर्ने अवस्थामा स्थानीयको हितमा सघाउ हुने किसिमका विभिन्न सामाजिक काममा समेत आफूहरुले सहयोग गरेको कार्कीले बताए । जल, जमिन र जडिबुटीको खानीका रुपमा रहेको नौमूले क्षेत्रलाई हाइड्रो हवको रुपमा पनि लिइन्छ ।
यसअघि नौमूलेमै द्वारीखोला हाइड्रोपावर कम्पनीबाट उत्पादित ३. ७५ मेगावाट विद्युत् दुई वर्षअघि सञ्चालनमा आएर केन्द्रीय लाइनमा जोडिसकिएको छ । नौमूले गाउँपालिका ३ कै द्वारीमा अर्को अपर लोहोरे खोला जलविद्युत् आयोजनाले पनि काम थालनी गरेको छ । हाल नौमूले गाउँपालिकाबाट द्वारीखोला र पदम खेलाको विद्युत् उत्पादन गरी कुल ७.८० मेगावाट विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।
हाइड्रोले नौमूलेमा चहलपहल बढ्यो
नौमूले गाउँपालिकामा धमाधम हाइड्रोको काम हुन थालेपछि स्थानीयको चलहपहल बढेको छ । स्थानी तथा बाहिरबाट हाइडो हेर्न जानेहरुको चाप वृद्धिसँगै नौमूलेमा व्यापार व्यवसायमा पनि बढेको छ ।
शैक्षिक अवलोकनदेखि विदाको समयमा नौमूलेमा रहेका हाइडो अवलोकन गर्नेहरुको चहल पहल बढेको स्थानीय प्रदीप रेगामी बताउँछन् । “नौमूले क्षेत्रमा हाइड्रोले गर्दा पनि केही हदसम्म विकास भएको पाइन्छ” रेगामीले भने, “विकाससँगै पर्यटन क्षेत्रमा पनि यसले सहयोग पुगेको छ ।” नौमूले गाउँपालिमा जिल्ला बाहिर तथा अन्य स्थानीय तहका विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक अवलोकनदेखि अन्य भ्रमणमा जिल्लामा आएका संस्थाहरु समेत नौमूले पुग्ने गर्दछन् ।
नौमूलेमा हाइड्रो सञ्चालन भएसँगै होटल व्यवसामा पनि वृद्धि आएको नौमूलेका होटल व्यवसायी विनसरा घर्ती बताउँछिन् ।

हाइड्रो सञ्चालकले समन्वय गरेनन् : जनप्रतिनिधि
नौमूले गाउँपालिकामा सञ्चालनमा रहेका हाइड्रो सञ्चालकहरुले गाउँपालिकासँग कुनै पनि सहकार्य नगरेको गुनासो गरेका छन् । नौमूलेमा हाइड्रो सञ्चालन गर्नु पहिला र गरिरहेका सञ्चालकहरुले गाउँपालिका तथा सम्बन्धित वडाका जनप्रतिनिधिहरुसँग सहकार्य नै नगरी काम सञ्चालन गरेको जनप्रतिनिधिहरुको गुनासो छ ।
केही महिना अगाडिदेखि जग्गा खरिद गरि काम थालनी गरेको नौमूले गाउँपालिका ३ द्वारीमा सञ्चालन हुन लागेको अपर लोहोरे जलविद्युत् आयोजनाले पनि गाउँपालिकासँग कुनै पनि सहकार्य नगरी आफूखुसी काम सुरु गरेको नौमूले गाउँपालिकाका प्रवक्ता तथा द्वारीका वडा अध्यक्ष गगनबहादुर रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्