सडक सौन्दर्यकरण गर्न प्राइम बैंकको सहयोग

विराटनगर– विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित प्राइम बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएअनुरुप प्राइम बैंकले रकम हस्तान्तरण गरेको हो ।
महानगरका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख रविन्द्र अर्याल, क्लस्टर ए कोशी प्रदेश प्रमुख ऋषिराम भट्टराई, ट्राफिक चोक शाखा प्रमुख सिद्धिराज थापा र रिलेसनसिप म्यानेजर (क्लस्टर ए) रुपकराज सुवेदीले २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए । विराटनगरमा ४ शाखासहित कोशी प्रदेशमा प्राइम बैंकका ४७ वटा शाखा रहेका छन् ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए । प्राइम बैंकसहित १७ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३१ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
महानगरको आग्रहमा सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूले बरगाछी–रानी सडक सौन्दर्यकरणमा सहयोग पुर्याइरहेका छन् । हाल तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ । बरगाछीदेखि रोडशेष चोक दक्षिण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाएर फूल र विरुवासमेत रोपिसकिएको दाहालले जानकारी दिनुभयो । बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३६ वटामा सौन्दर्यकरणको काम सकिएको छ ।