युवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिम

जुम्ला– गाउँमा रोजगारी नपाएर युवा पलायन बढिरहेको बेला कनकासुन्दरी गाउँपालिकाका युवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिम दिइएको छ । युवालाई गाउँमै स्वरोजगार बनाउन तथा आम्दानी वृद्धि गरी जीविकोपार्जनमा सुधार ल्याउन विपन्न युवालाई ड्राइभिङ तालिम दिइएको हो । जुम्लाका गाउँगाउँमा पछिल्लो समय अटो रिक्सा सञ्चालन बढ्दै गएको छ ।
सीप सिकेर कार्यान्वयन गरे आम्दानी वृद्धि गर्न सकिने सम्भावना छ । सोही सम्भावनालाई अवसरमा बदल्न तथा युवालाई गाउँमै स्वरोजगार बनाउनका लागि क्याड नेपाल जुम्लाले कनकासुन्दरीका युवालाई ड्राइभिङ तालिम दिएको हो । तिलाका एकजना युवतीसँंगै आठजना युवालाई एक महिने ड्राइभिङ तालिम दिएको छ । तालिम पाएपछि गाउँमै केही गर्ने इच्छाशक्ति पलाएको वर्षसनराज बुढा बताउँछन् । सबै गाउँ छोडेर पलायन हुँदा आफूलाई पनि जाउँजाउँ लाग्थ्यो ।
उनले भने, ‘एक महिनाको ड्राइभिङ तालिम पाएपछि अब ऋण जोहो गरे पनि गाउँमा अटो सञ्चालन गर्ने सोचमा छु । धेरै युवाले अटो चलाएरै घर परिवार चलाएको देखेको छु ।’ कनकासुन्दरी–३ की सरस्वती बुढाले तालिम कार्यान्वयन गरेको खण्डमा कनकासुन्दरीकी पहिलो महिला चालक बन्नेछिन् । गाउँमा महिला चालक भएपछि कुरा काट्ने चलन छ । उनले भनिन्, ‘महिलाले गाडी चलाउनु हुँदैन भन्ने गाउँको संकीर्ण सोच तोड्ने प्रयासमा छु । धेरै महिलाले डोजर टिप्पर बस चलाएको पनि देखेको छु । ढिलो चाँडो सीपको प्रयोग अघि बढाउने सोचमा छु ।’
तालिम पाएका आठैजना उत्साहित छन् । गाउँगाउँमा सडक पुगिसकेको र अटो सञ्चालन गर्ने सोचमा रहेका युवाले ड्राइभिङ तालिम पाएपछि उत्साहित भएका हुन् । क्याड नेपालका अध्यक्ष कृष्णबहादुर महतले कामविहीन युवालाई स्वरोजगार बनाउन ड्राइभिङ तालिमको योजना बनाइएको बताए । एक महिने तालिम सिक्न महँंगो खर्च लाग्थ्यो । तर क्याड नेपालले नि:शुल्क रूपमा तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले तालिम दिएको उनको भनाइ छ ।
आफ्नो सीप क्षमतालाई व्यवहारमा लागू गरेमा आर्थिक आम्दानी र जीविकोपार्जनमा सुधार हुने उल्लेख गरे । युवाहरू सीप रोजगार नपाएर पलायन भइरहेको अवस्थामा सवारी चलाएर घर परिवार चलाउन सक्ने इच्छा भएका युवालाई तालिम दिइएको महतले बताए । ड्राइभिङ तालिम दिनुअघि कनकासुन्दरीका युवालाई क्षमता विकास, व्यावसायिक योजना निर्माणसम्बन्धी समेत तालिम दिएको छ । विशेषगरी सिंजा क्षेत्रका पालिकामा युवाको सशक्तीकरण, क्षमता विकास, उद्यमशीलता र आयआर्जनसँंग जोड्ने गरी क्याड नेपाल जुम्लाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।