Logo

गुल्मीको भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुरु

गुल्मी– गुल्मीको भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु भएको छ । जिल्लाको सदरमुकाम तम्घासनजिकै रहेर पनि रेसुङ्गा नगरपालिका–३ भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा नपुगेकोमा बुधबार रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेसँगै उनायचौर सबस्टेसनबाट भाडागाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवा सुचारु भएको हो ।

बुधबार उनायचौर सबस्टेसनबाट एक कार्यक्रमका बीच रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले भाडागाउँ पुग्ने ११ केभी फिडरको उद्घाटन गरेसँगै भाडागाउँमा अब राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका निमित्त प्रमुख इन्जिनियर भरत पोखरेलले जानकारी दिए ।

उनले भाडागाउँका नागरिकले धेरै पहिलेदेखि गुनासो गरिरहेको र रेसुङ्गा नगरपालिका प्रमुखले पहल गरेपछि आफूहरूले नयाँ बनेको उनायचौर सबस्टेसनबाट नयाँ निस्किएको ११ केभी फिडरबाट विद्युतीय सेवा नयाँ रुट बनाएर उपलब्ध गराउन सकिएको इन्जिनियर पोखरेलले बताए ।

रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले भाडागाउँमा आजसम्म विद्युतीय सेवामा निकै सास्ती खेप्नुपरेको बताए । उनले सामुदायिक विद्युतमार्फत मुसिकोट र इस्मा हुँदै रेसुङ्गाको भाडागाउँमा आउने झन्झटिलो हुनुका साथै धेरै अवरोध सिर्जना हुने हुँदा समस्या हुने गरेको वडाध्यक्ष खत्रीले बताए । अब समस्याको समाधान भएकोमा उनले सबै नागरिकको तर्फबाट खुसी व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले भाडागाउँ र बेहोरेबासीले महिनामा १५ दिनमात्रै राम्रोसँग सेवा पाउने बाँकी दिन समस्या खेप्नुपरेको समस्या बुझेको बताउँदै उक्त समस्याको समाधानका लागि राष्ट्रिय प्रसारण लाइनको विद्युतीय सेवासँग भाडागाउँलाई जोडिएको बताए । ‘विद्युतीय सेवा पूर्वाधार विकासमा महत्पूर्ण छ,’ नगरप्रमुख पन्थीले भने, ‘विद्युतलाई बाहिर राखेर समुन्नतिका आधार तय गर्न सकिँदैन ।’

नगरपालिका प्रमुख पन्थीले विगतलाई सम्झँदै एउटा बिजुलीको बल्ब बल्दा पनि खुसीको सीमा नरहने दिन रहेको भन्दै अहिले विद्युतको क्षेत्रमा गुल्मीले निकै फड्को मारेको बताए । गुल्मीको उनायचौरमा १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको उनायचौर सबस्टेसन बनेको छ । अब यसको सेवा गुल्मी, पाल्पा, अर्घाखाँची बाग्लुङसम्म पुग्नेछ । यसको समग्र उद्घाटन हुन भने बाँकी छ । समग्र काम अन्तिम चरणमा छ ।

सोही सबस्टेसनबाट ११ केभी फिडरको उद्घाटनपछि रेसुङ्गा नगरपालिका प्रमुख पन्थीले भाडागाउँमै तीन युवा मिलेर खानेपानी उद्योग सञ्चालन गरेकोमा अब विद्युतीय सेवाले थप सहजता हुने बताए । उनले गाउँघरमै उद्योग स्थापना गर्ने र व्यावसायिक खेती किसान गर्नेलाई स्थानीय सरकारको तर्फबाट सधैं सहयोग हुने बताए । उनले त्यस्तै उदाहरण यस्तै नयाँ विकासका आयामबाट हुने बताए ।

सामुदायिक विद्युतीकरणमा निकै खेपिरहेका सास्ती अब सधैंका लागि समाधान भएको पन्थीले बताए । गुल्मीको उनायचौरमा बनेको १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको उनायचौर सबस्टेसनबाट विद्युतीय सेवा सुचारु भएपछि समग्र गुल्मीमा प्राविधिक प्रक्रिया बाहेक कुनै पनि विद्युत जानेआउने विद्युतीय समस्या हुने छैन ।

प्रतिक्रिया दिनुहोस्